सोमबार, असार १०, २०८१

himalayan bankhimalayan bank

तालिबानले साख फिर्ता लिन खोज्दा युद्धमा पिल्सिएका अफगानी

चार सय २१ जिल्ला रहेको अफगानिस्तानको ६५ प्रतिशत भू–भाग तालिबानले नियन्त्रणमा लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्ला घटनाक्रमले राजधानी काबुल नै विद्रोहीको घेराबन्दीमा पर्न थालेको संकेत देखिएका छन्।
 |  शनिबार, साउन ३०, २०७८

अंगद सिंह

अंगद सिंह

शनिबार, साउन ३०, २०७८

काठमाडौं– बेलाबेलामा ऐनुमुद्दिनको अनुहारमा मानवीय संवेदना हराएजस्तो देखिन्छ। उनी आक्रोशित छन् राज्यसँग। त्यसैले तालिबानी सैन्य कमान्डर ऐनुमुद्दिन अफगानिस्तान सरकारी सेनाविरुद्ध गोलाबारुद बर्साउन हरदम तत्पर रहन्छन्।

triton college

उनी अफगानिस्तानको मुख्य तथा सबैभन्दा ठूलो सहर मजार–ए–सरिफबाट  ३० मिनेट दूरी टाढा छन् यति बेला। ऐनुमुद्दिन कति बेला सहर आक्रमणमा जान पाइएला भन्ने पर्खाइमा छन्। उनको काँधमा अफगान सेनालाई पराजित गरेर नियन्त्रणमा लिएका केही थान हतियार छन्। कुनै बेला मदरसाका विद्यार्थी उनी अहिले देशको विद्रोही तालिबान सैन्य कमान्डरको जिम्मेवारीमा छन्।

अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले अफगानिस्तानले अधिकांश  राज्यमाथि कब्जा जमाइसकेकोे छ। धेरै राज्यमाथि धावा बोलिरहेको छ। 

३४ प्रान्तमध्ये १८ प्रान्तमा तालिबानको पूर्ण कब्जा छ भने अन्यमा पनि हमला आक्रमण गरी नियन्त्रण गर्न प्रयासरत छ। चार सय २१ जिल्ला रहेको अफगानिस्तानको ६५ प्रतिशत भू–भाग तालिबानले नियन्त्रणमा लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्ला घटनाक्रमले राजधानी काबुल नै विद्रोहीको घेराबन्दीमा पर्न थालेको संकेत देखिएका छन्।

युद्धको त्रासले लाखौं सर्वसाधारण बस्तीबाट विस्थापित भएका छन्। कतिबेला कसको फेला परिन्छ कसले निसाना साँध्छ पत्तो छैन उनीहरूलाई। दुवैको भिडन्तमा पो परिन्छ कि भन्ने त्रासैत्रास छ। युद्धका कारण धेरै सर्वसाधारण बिचल्लीमा परेका छन्।

Metro Mart

ऐनुमुद्दिन भने अफगानी जनताका लागि नै तालिबानले युद्ध गरिरहेको बताउँछन्। ‘यो महत्त्वपूर्ण लडाइँ होे। जसमा लाखौंले ज्यान गुमाइरहेका छन्’, उनी भन्छन्, ‘अफगानिस्तानका सर्वसाधारणलाई कुनै नोक्सान नहोेस्, हामी यही प्रयासमा छौं।’

अफगान सरकार विदेशी अर्थात् खास गरी अमेरिकाको कठपुतली बनेको आरोप उनको छ। उनी भन्छन्, ‘योे लडाइँ तालिबानले नभई अमेरिकाले सुरु गरेकोे हो।’ अमेरिकाले तालिबान सरकार अपदस्थ गरी जरैैदेखि उखेलेकाले अहिलेको अवस्था आएकोे उनको दाबी छ।

‘काबुल पश्चिमा देशको कठपुतली बनिसकेको छ। त्यहाँका बासिन्दा पश्चिमा संस्कृति छोड्न मानिरहेका छैनन्, त्यसकारण काबुल कब्जा गर्नुपरेको छ’, ऐनुमुद्दिनले भने।

ऐनुमुद्दिनका अनुसार तालिबानले सन् २००२ अघिको आफ्नो साख फर्काउन हरसम्भव प्रयासरत छ। सन् २००१ मा अमेरिकाले अफगानिस्तानमाथि हमला गरेपछि तालिबान सरकार ढलेको थियो। त्यसपछि अमेरिकाकै शब्दमा तालिबानलाई आतंककारी घोषणा गरियो। अनि अफगान भूमिमा अमेरिकासहित पश्चिमा मुलुकका सेना तैनाथ भए। 

‘काबुल पश्चिमा देशको कठपुतली बनिसकेको छ। त्यहाँका बासिन्दा पश्चिमा संस्कृति छोड्न मानिरहेका छैनन्, त्यसकारण काबुल कब्जा गर्नुपरेको छ’, ऐनुमुद्दिनले भने।

विद्रोही सैन्य कमान्डरले यसो भनिरहँदा सरकारी सेनाले हवाई फायरिङ जारी राखेको छ। तर यसले विद्राहीलाई नियन्त्रणमा लिनुभन्दा पनि सरकार छ भन्ने आभास मात्र दिलाइरहेको देखिन्छ। त्यसैले तालिबानले हार मानेको छैन, बरु उसले युद्धको रफ्तार बढाएकोे छ।

बल्ख सहर पनि तालिबानको कब्जामा परेको छ। देशको उत्तरी पूर्वी भाग विविधताले भरिपूर्ण छ। त्यसैले ती क्षेत्र तालिबानको निसानामा छन्।

तालिबानमा पस्तुन समुदायको वर्चस्व छ। तर ऐेनुमुद्दिन भने अन्य समुदायका सर्वसाधारणलाई पनि समेट्न भरपूर प्रयास भइरहेको बताउँछन्।

अफगानिस्तानको जनजीवन दिनानुदिन कष्टकर बदै गइरहेको छ। स्थिति सहज देखाउन सरकारले सर्वसाधारणलाई बजार आउजाउमा छुुट दिएको छ। यस्तै तालिबानले आफ्नो नियन्त्रण रहेका स्थानमा महिला तथा किशोरीलाई विद्यालय जान बन्देज लगाएको छ भने पुरुषलाई दाह्री नकाट्न आदेश दिएकोे छ। घरबाहिर निस्कने सबै महिलाले अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने नियम छ। 

सार्वजनिक यातयात तथा ट्याक्सी ड्राइभरलाई समेत तालिबानले पश्चिमा संस्कृति अपनाएका कुनै पनि महिला देखे रिपोर्ट गर्न निर्देशन दिएको छ। बल्ख सहरका तालिबान कमान्डर हाजी हकिमत जनजीवन सामान्य र सहज अवस्थामा चलिरहेकोे बताउँछन्। यद्यपि बल्खमा पहिरनकै कारण एक युवती ज्यान गएको छ। उनले बुर्काको सट्टा सामान्य कपडा लगाएकी थिइन्। तालिबानको कारबाहीमा उनको निधन भयो।

बल्खका गर्भनर अब्दुल्लाह मन्जिर तालिबानको काम देखेर खुसी छन्। उनी भन्छन्, ‘सरकारी सेनालाई पराजित गरेर आफ्नो नियन्त्रणमा ल्याउँदा निकै खुसी छु।’
तालिबानको कब्जामा रहेका सर्वसाधारणले उनीहरूको गुणगान नगाई सुखै  छैन। यसैले उनीहरू नचाहेर पनि विद्रोहीको समर्थन गर्न बाध्य छन्। तालिबानले कब्जा गरिसकेका स्थानमा सरकार विस्तार गरिरहेको छ।

बल्खका गर्भनर अब्दुल्लाह मन्जिर तालिबानको काम देखेर खुसी छन्। उनी भन्छन्, ‘सरकारी सेनालाई पराजित गरेर आफ्नो नियन्त्रणमा ल्याउँदा निकै खुसी छु।’

तालिबान नियन्त्रित सहरमा सरसफाइ तथा सरकारी कामकाज भने रोकिएको छैन। तर कतिपय ठाउँमा त्यस्ता काम तालिबानको नीतिअनुसार नै सञ्चालन भइरहेका छन्। 

कब्जा गरेका स्थानमा तालिबान आफैंले कर असुली गरिरहेको छ।  सरकारले व्यापारी वर्गबाट लिने कर भन्दा आफूुले निकै कम लिने गरेको दाबी तालिबानको छ।

तालिबानले आफ्नो नियन्त्रणमा रहेका स्थानमा न्यायिक काम पनि आफैंले गर्दै आएको छ। बल्खका एक स्थानीयले पहिले प्रशासनिक काम गर्दा सरकारलाई धेरै घुस दिनुपरेकोे गुनासो गरेका छन्।

रेडियोमा मायाप्रीतिका गीत गुञ्जन छाडेका छन्। धार्मिक गीत बजिरहेका छन। हाजी हिकमत भन्छन्, ‘अश्लीलता र सामाजिक परम्पराबाहिरका गीत संगीत पूर्ण रुपमा बन्देज लगाइएको छ।’ व्यक्तिले आफ्नो रुचिअनुसार गीतसंगीत सुन्न पाउने दाबी उनको छ। 

पश्चिमा गीतसंगीत सुन्ने व्यक्ति तालिबानको निसानामा परिहाल्छ। पछिल्लोपटक एक युवकलाई गीत सुनेको कसुरमा बेहोस् नहुन्जेल घाममा खाली खुट्टा हिँडाइएको थियो। आफ्नो आदेश नमान्नेलाई कस्तो सजाय दिने भन्ने कुरा तालिबान कमान्डरमा रुचिमा भर पर्छ।

तालिबानले देशका ठूला सहर नियन्त्रणमा लिइसके पनि बिना हतियार सफलता प्राप्त गर्न नसकिने विश्लेषण गर्न थालिएको छ। यद्यपि विगतमा आफू सत्तामा रहँदा तालिबानले जबरजस्ती रूपमा इस्लामी कानुनको पूर्ण कार्यान्वयन गराएको थियो। 

गत महिना तालिबानले हेलमन्ड प्रान्तमा बालक अपहरण गर्ने दुई जनालाई पुलमा झुन्ड्याएको थियो। 

अफगानिस्तान युद्ध

२० वर्षकोे युद्धपछि अमेरिकाले आफ्ना सबै सेना आगामी ११ सेप्टेम्बरसम्म फिर्ता गरिसक्ने बताएकोे छ। अफगानिस्तानमा तैनाथ ९० प्रतिशत अमेरिकी सेना फिर्ता भइसकेका छन्। त्यसैले तालिबानलाई आक्रमण गर्न सहज भएको छ।

अमेरिकी सेनाको गठबन्धनको फौज सन् २००१ को डिसेम्बरमा अफगानिस्तान प्रवेश गरेको थियो। अमेरिकी सेनाले त्यहाँको सरकारलाई सुरक्षा दिनुका साथै तालिबानविरुद्ध युद्ध गरेको थियो। अमेरिकाका मात्र १० हजार सेना तैनाथ थिए। 

किन गर्‍यो अमेरिकाले आक्रमण

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिका न्युयोर्कको वल्र्ड ट्रेड सेन्टर र भर्जिनियाको पेन्टागन हमलामा तीन हजार अमेरिकी मरिएका थिए। विमान अपहरण गरेर वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा ठोक्काइएको थियो। चौथो विमान भने पेन्सिलभेनियाको खेतमा दुर्घटना भएको थियो।

ती घटनाका लागि इस्लामिक आतंकवादी समूह अल–कायदा र त्यसका प्रमुख ओसामा बिन लादेन जिम्मेवार थिए। त्यति बेला अफगानिस्तानमा तालिबानको शासन थियो। अमेरिकाले विन लादेनलाई पक्राउ गर्न खोज्दा तालिबानले उनलाई संरक्षण दिएको थियो। त्यसको महिनापछि अमेरिकाले अफगानिस्तानविरुद्ध हवाई हमला सुरु गरेको थियो। 

अमेरिका, उसका अन्तर्राष्ट्रिय सहयात्री र अफगान साझेदारहरूले दुई महिनासम्म निरन्तर गरेको हमलापछि तालिबानको शासन ढल्यो। उसका लडाकुहरू अफगानिस्तानबाट पाकिस्तानतर्फ गए। पाकिस्तान गएका तालिबान त्यहाँ हराएनन्।  पुनः अफगानिस्तान फिर्ता भए।

अफगानिस्तानमा सन् २००४ मा अमेरिकी समर्थनमा नयाँ सरकार बन्यो। तर पनि तालिबानको हमला र आतंक भने रोकिएन। अफगान सेनासँग काम गरिरहेका अन्तर्राष्ट्रिय फौज र तालिबानबीच युद्ध भयो। त्यसमा अफगानिस्तानका सेना र सर्वसाधारण दुवैतर्फ ठूलो क्षति पुग्यो।

यद्यपि २००१ को सेप्टेम्बर ११ पछिको घटनाका कारण मात्र अफगानिस्तानमा युद्ध भएको भने होइन। अफगानिस्तान दशकौंदेखि बाहिरी राष्ट्रले खेल्ने रणभूमि बनेको छ। शक्ति राष्ट्रहरुबीचको टकराव तथा स्वार्थका कारण अफगानिस्तानमा सुरु भएको अस्थिरता अहिलेसम्म रोकिएको छैन।

सन् १९७० को अन्त्यतिर कम्युनिस्ट सरकारलाई समर्थन गर्न त्यतिबेलाको विश्वशक्ति कहलिएकोे सोभियत सेना अफगानिस्तानमा प्रवेश गरेको थियो। सोभियत सेनाले मुजाहिदिन विद्रोही समूहविरुद्ध लड्यो। अफगानिस्तानमा भइरहेको आन्दोलनलाई अमेरिका, पाकिस्तान, चीन, साउदी अरेबियालगायले समर्थन गरेका थिए।

सन् १९७० यता अफगानिस्तानमा करिब १९ वर्ष सोभियत सेना तैनाथ थियो भने २० वर्ष अमेरिकी सेना तैनाथ गरिएको थियो। सोभियत सेना सन् १९८९ मा फर्किए पनि गृहयुद्ध जारी रह्यो। गृहयुद्धकै क्रममा तालिबानको उदय भयो।

विश्व शक्ति कहलिएका राष्ट्रका सेना खटिँदा पनि अफगानिस्तानबाट आतंककारी गतिविधि उन्मूलन हुन सकेन। बरु उल्टै उनीहरूको शक्ति विस्तार हुँदै गएको छ। विद्रोहीले हालै देशका ठूला सहरमा नियन्त्रण लिनुले पनि यसको पुष्टि हुन्छ।

तालिबानको उदय सन् १९९० को दशकको सुरुतिर उत्तरी पाकिस्तान र दक्षिण–पश्चिम अफगानिस्तानको सीमा क्षेत्रमा भएको थियो। सुरुसुरुमा तालिबानले भ्रष्टाचारविरुद्ध लड्ने र गृहयुद्धको पीडामा रहेकालाई सुरक्षा दिने बाचा गरेको थियो। भ्रष्टाचार र गृहयुद्धबाट आजित अफगानी सर्वसाधारणले तालिबानमाथि विश्वास गर्नु स्वाभाविकै थियो। 

तालिबानले बिस्तारै प्रभाव जमाउन थाल्यो। इस्लाम धर्मका आधारमा सजाय दिन थालियो। समाजमा आफ्नो भिन्नै कानुनी व्यवस्था लागू गरियो। त्यसमा व्यक्तिगत स्वतन्त्रताका कुरा पनि थिए। त्यति बेला पनि पुरुषलाई दाह्री पाल्न र महिलालाई बुर्का लगाउन अनिवार्य गरियो।

 सन् २०१२ देखि २०२० सम्ममा ५० लाख अफगानी सर्वसाधारण पलायन भएर छिमेकी मुलुकमा शरण लिन बाध्य भएका छन्।

यति मात्र होइन, तालिबानले टेलिभिजन, सिनेमा र संगीतमाथि पनि प्रतिबन्ध लगाएको थियो। यस्तै १० वर्ष उमेरमाथिका छोरीलाई विद्यालय जान रोक लगाइएको थियो। 

ब्राउन विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनअनुसार सन् २००१ यता विदेशी सैन्य गठबन्धनका ३ हजार ५ सय सैनिकले ज्यान गुमाएका छन्। जसमा एक तिहाइ अमेरिकी थिए। युद्धमा २० हजारभन्दा बढी अमेरिकी सेना घाइते भएका थिए।

संयुक्त राष्ट्र संघका अनुसार अफगानिस्तान विश्वमा तेस्रो ठूलो जनसंख्या विस्थापित हुने देश हो। सन् २०१२ देखि २०२० सम्ममा ५० लाख अफगानी सर्वसाधारण पलायन भएर छिमेकी मुलुकमा शरण लिन बाध्य भएका छन्। युद्धका लागि सन् २०२० सम्म अमेरिकाले ९५७ बिलियन डलर खर्च गरेको ब्राउन विश्वविद्यालयको प्रतिवेदनमा उल्लेख छ। सन् २००९ यता मात्रै झन्डै १ लाख ११ हजार अफगानिस्तानी सर्वसाधारण मारिएका छन्। युद्धकै कारण अफगानिस्तान वर्षौं पछाडि परेको छ। आर्थिक तथा भौतिक संरचना तहसनहस भएका छन्।

तालिबानले इस्लामिक सरकार निर्माण गर्ने योजना बनाई त्यसैअनुरुप सरकारविरुद्ध हमला जारी राखेको छ। आफ्नो गुमेको साख फिर्ता ल्याउनु र अफगानिस्तानमा फेरि एकपटक इस्लामिक सरकार गठन गर्नु तालिबानको प्रमुख उद्देश्य देखिन्छ।

(यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारका आधारमा तयार पारिएको हो।)


प्रकाशित: Aug 14, 2021| 07:29 शनिबार, साउन ३०, २०७८
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।