शुक्रबार, जेठ २२, २०८३

भू-माफियाले मसानघाट पनि नछोडेपछि...

मसानघाट नै कब्जा हुन थालेपछि मलामी बस्ने र शव जलाउने ठाउँसमेत साँघुरो बन्दै गएको स्थानीयको भनाइ छ।
 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

बागलुङ- एक दशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए। ढुंगा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे। मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आ–आफ्नै घाट हुन्थ्यो। अचेल ती घाटमाथि संरचना बन्न थालेका छन्। कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन्।

National life

पातिहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला, भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ। बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड बन्ने निसीखोलाको दर्जनौँ स्थानमा अतिक्रमण भएको स्थानीयको गुनासो छ। घाटमा अवैध रूपमा संरचना निर्माण गर्नुका साथै ढुंगा, गिटी र बालुवा थुपार्दा दाहसंस्कारमा समस्या पर्ने गरेको छ। निसीखोला गाउँपालिका– १ का नितेश पुनमगरले पछिल्लो समय अतिक्रमण बढेसँगै नदीको आकार पनि सानो हुँदै गएको बताए।

नदी किनारदेखि पर्खाल उठाएर स्थानीयले खेत निर्माण गरेर खेतीपाती गर्दा पनि सरोकारवालाको ध्यान नगएको उनको भनाइ छ। मसानघाट नै कब्जा हुन थालेपछि मलामी बस्ने र शव जलाउने ठाउँसमेत साँघुरो बन्दै गएको पुनमगरले बताए। घाट पवित्र स्थान भएको हुँदा संरक्षण गर्नुपर्ने उनको भनाइ छ। कतिपय घाटमा बस्तीसमेत बसालेको उनले बताए।

‘मान्छेहरूलाई कति लोभ लागेको हो ? मसानघाटसमेत अतिक्रमण गरेर आफ्नो बनाउँछन्। सबै मरेर जाने हो, किन यति लोभी बन्दै गए कुन्नि। पहिले निसीखोलाको धेरै ठाउँमा घाट थिए, खुला ठाउँमा घाट बनाएर अन्तिम संस्कार गर्ने चलन थियो। अहिले एउटा शवलाई राखेर जलाउने ठाउँ पनि पाउन मुस्किल पर्छ,’ पुनमगरले भने, ‘गाउँपालिकाले एक–दुई ठाउँमा राम्रो मसानघाट त बनाएको छ, तर पहिलेका ठाउँ फिर्ता लिएर त्यसलाई व्यवस्थित बनाउन भने सकेको छैन।’

निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौमुरेलगायत दर्जनभन्दा बढी घाट अहिले पुरिएर खेतमा परिणत भएका छन्। कतै विकासका नाममा पुरिने र कतै व्यक्तिगत लाभका लागि मसानघाट पुरेको स्थानीय धीरबहादुर क्षेत्रीले बताए। घाट साझा थलो भएको हुँदा व्यक्तिगत रूपमा प्रयोग गर्न नहुनेमा उनले जोड दिए। 

Shivam cement

पछिल्लो समय खोलामा डोजर हालेर ढुंगा, गिटी र बालुवा झिक्दा मसानघाट पुरिने गरेको क्षेत्रीले बताए। घाट पुरिएपछि गाउँमा कसैको मृत्यु भए घन्टाैँ लगाएर घाट खोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 

Ghat-1698664875.jpg

क्षेत्रीले भने, ‘हामी सानोसानो हुँदा निसीखोलामा थुप्रै घाट थिए, आधा घन्टाको दूरीमा घाटहरू हुन्थे, वारिपारिका गाउँबाट दाहसंस्कार गर्न झर्दा मलामी बस्ने ठाउँ खुला हुन्थ्यो, लास जलाउने ठाउँ पनि फराकिलो नै हुन्थ्यो। अहिले त एउटा शव राख्ने ठाउँसमेत भेटिँदैन, मलामीले विश्राम गर्ने ठाउँ त टाढाको कुरा हो। पहिले मलामी बस्ने ठाउँमा अहिले धान गहुँ फल्ने खेतबारी बनेका छन्।’

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण भएको बताए। अतिक्रमित घाटलाई फिर्ता गर्ने उनको भनाइ छ। घाट अतिक्रमण हुनुका साथै बाढीले समेत बगाउँदा धेरै ठाउँमा समस्या देखिएको उपाध्यक्ष घर्तीमगरले बताए। गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको भन्दै अन्य ठाउँमा पनि बनाउने उनको भनाइ छ। केही घाट व्यक्तिका नाममा रहेको हुँदा उनीहरूसँग छलफल गरी घाटकै रूपमा राख्ने घर्तीमगर बताउँछन्।

‘केही ठाउँमा घाट अतिक्रमण भएका छन्, व्यक्तिले त्यसलाई घेरेर आफ्नो बनाएका छन्, अतिक्रमण सार्वजनिक जग्गामा भएका घाट फिर्ता गछौँ, केही ठाउँमा व्यक्तिको नाममा भएको पाइन्छ, उहाँहरूसँग छलफल गरेर व्यवस्थापन गर्छौँ,’ उपाध्यक्ष घर्तीमगरले भने, ‘घाटको संरक्षणका लागि गाउँपालिकाले नदी व्यवस्थापन गर्ने योजना बनाएको छ, अव्यवस्थित रूपमा बगेका खोलालाई धारमा फर्काइयो भने केही ठाउँका मसानघाट जोगिनेछन्।’

निसीखोला क्षेत्रमा खोला किनार हुँदै थुप्रै सडक निर्माण भएका छन्। ती सडकले पनि मसानघाट पुरिएका छन्। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पनि यहाँ थुप्रै भूभाग ओगटेको छ। त्यसले पनि घाटमा ठूलो क्षति पुर्‍याएको पाइन्छ।  -रासस

प्रकाशित: Oct 30, 2023| 13:40 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्