काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३७७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३७७ जनाको शव फेला परेको हो। जसमा रसुवामा १७८, नुवाकोटमा १९८, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२८ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। त्यस्तै काठमाडौँमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म १०२ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार अहिलेसम्म ५ हजार १३० जना सम्पर्कविहिन रहेका छन्। प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार सम्पर्कविहीनमा नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी ७३ जना र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना रहेका छन्।
प्राधिकरणले अहिलेसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको जानकारी दिएको छ। प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ६३ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।