शुक्रबार, वैशाख २१, २०८१

इजरायलमा रहेका नेपाली भन्छन्

'बंकर पनि असुरक्षित भो, हामीलाई घर फर्काइदे सरकार'

'हामीलाई बंकरमा राखिएको थियो। त्यहाँ बंकरमा पनि असुरक्षा बढेपछि भागेर आक्रमण भएको स्थानबाट अलि टाढा पर्ने क्याम्पमा सरेका छौं।'
 |  आइतबार, असोज २१, २०८०

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

आइतबार, असोज २१, २०८०

काठमाडौं- प्यालेस्टाइनी समूह हमासले शनिबारदेखि इजरायलको दक्षिण क्षेत्रमा गरेको आक्रमणमा केही नेपालीहरु पनि परेका छन्। इजरायलमा प्यालेस्टाइनी समूहले निरन्तर आक्रमण जारी राखेपछि त्यहाँ रहेका नेपालीहरुले आफूहरुलाई घर फर्काइदिनका लागि अपिल गरेका छन्।

triton college

इजरायलको नेटिभोट नजिकैको कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थीहरुले आफूहरु आक्रमण भएको स्थानबाट ३० किलोमिटरको दूरीमा रहेको बताएका छन्। तीमध्ये एक नेपाली विद्यार्थीले नेपाल समयसँग कुरा गर्दै भने, 'हामीलाई बंकरमा राखिएको थियो। त्यहाँ बंकरमा पनि असुरक्षा बढेपछि भागेर आक्रमण भएको स्थानबाट अलि टाढा पर्ने क्याम्पमा सरेका छौं।'

उनले आफ्नै केही साथीहरु पनि सम्पर्कमा नभएको र सबै विद्यार्थी साथीहरु त्रसित अवस्थामा भएकोले नेपाल फर्काउनका लागि पहल गरिदिन अपिल गरेका छन्। उनले थपे, 'यहाँ ज्यान जोगाउन निकै गाह्रो छ। हामीहरुलाई जसरी भए पनि अब नेपाल फर्काइ दिनुपर्‍यो।' उनले 'बेनी अमर फार्म'मा आफूसहित ९ जना रहेको बताए। उनले थपे, 'आफूसँगै आएका साथीहरु आक्रमणमा परेपछि हामीलाई निकै डर लागेको छ।' उनले आफूहरु अहिलेसम्म सकुशल भए पनि तस्बिर र नाम उल्लेख नगरीदिन पनि आग्रह गरेका छन्।

उनका अनुसार आफूहरुसँग आएका मध्ये किबुता अलुमिममा १७ जना, सेरासिम फार्ममा ३ जना, रहमिम मुग्राही फार्ममा ४ जना, दयिदैयानमा ११ जना, कन्दुस फार्ममा ४ जना र बेनी अमाम फार्ममा ९ जना नेपाली विद्यार्थीहरु रहेका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र यो युद्ध लामो र कठिन रहने वक्तव्य दिएपछि त्यहाँ असुरक्षा थप बढेको छ। जसका कारण पनि नेपालीहरु आत्तिएका छन्। प्यालेस्टाइनी समूह हमासले निरन्तर आक्रमण जारी राखेको छ। इजरायलले पनि काउन्टर अट्याक थालेपछि त्रासदीपूर्ण अवस्थामा बस्‍न नसकिने नेपाली विद्यार्थीले बताए। उनले भने, 'कतै बाहिर निस्किन सक्ने अवस्था छैन। अब एक-दुई दिनमा खानाको पनि समस्या हुने स्थिति छ। यस्तो अवस्थामा यहाँ बस्‍नुभन्दा नेपाल फर्काइयो भने ज्यान त जोगिन्छ।'

corrent noodles
Metro Mart

यद्यपि सरकारले त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा भने कुनै निर्णय गरेको छैन। परराष्ट्रमन्त्री साउदले संसद्लाई यसबारे जानकारी दिँदै भने, 'इजरायलमा भएको यस दु:खद् घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको छ। परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नको लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ।'

परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नको लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको जानकारी दिएका छन्। इजरायलमा हाल ४५ सय नेपालीहरु केयरगिभरको रुपमा कार्यरत छन् भने २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत काम गरिरहेका छन्। यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्‍ने स्थानमा अध्ययनरत रहेका थिए। नेपाली राजदूतावासबाट प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भिर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। बाँकी १२ जना मध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न हुन नसकेको सरकारले जनाएको छ।

इजरायलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घमिरेले भने, 'हामी अझै पनि परिस्थिति बुझिरहेका छौं। यहाँ अस्तव्यस्त अवस्था छ। हामीले वास्तविक सूचना नै पाउन सकिरहेका छैनौं। यहाँ रहेका नेपालीहरु कहाँ कसरी बसिरहेका छन्, उनीहरुको सुरक्षा अवस्था कस्तो छ, हामी खोजिरहेका छौं। यहाँ रहेका नेपालीहरु दूतावासको सम्पर्कमा आउने क्रम भने सुरु भएको छ।'

एक नेपाली विद्यार्थीले नेपाल समयसँग कुरा गर्दै भने, 'हामीलाई बंकरमा राखिएको थियो। त्यहाँ बंकरमा पनि असुरक्षा बढेपछि भागेर आक्रमण भएको स्थानबाट अलि टाढा पर्ने क्याम्पमा सरेका छौं।'

इजरायलमा जारी युद्धमा घाइते भएका सुदूरपश्चिमका एक विद्यार्थीका परिवारका सदस्यले उनको पछिल्लो स्वास्थ्य अवस्था र परिस्थितिबारे थप जानकारी प्राप्त हुन नसकेको जानकारी दिए। गैरआवासीय नेपाली संघका अनुसार सेदोट नेगेभ कृषि केन्द्रमा प्रयोगात्मक अध्ययन एवं रोजगारीमा पुगेका नेपालीहरू घाइते भएका हुन्। घाइते भएका नेपालीमध्ये २५ वर्षका गणेशकुमार नेपाली पनि भएको तेल अभिभस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ।

धनगढीमा रहेका गणेशका दाजु विकास नेपालीले भने, 'अहिले हाम्रो एउटै उद्देश्य भनेको उसको अवस्था के छ भन्‍ने जाने हो। अरू उद्देश्य केही छैन। उसको अवस्था जान्‍ने र सही अवस्थामा भएको भए सरकारले छिटो भन्दा छिटो उद्धार गरोस् र नेपालमा फिर्ता गरोस्। त्यति भए हामीलाई पुग्छ।'

हुलाकमा कार्यरत विकासले आफ्ना आमाबुवाले भाइको अवस्थाबारे सोधिरहेको बताए। उनले थपे, 'मैले घरमा सान्त्वना दिएको छु। विद्यार्थीहरूलाई बंकरभित्र राख्ने प्रयास गरिएको छ र त्यहाँभित्र उनीहरू सुरक्षित छन् भनेको छु। चिन्ता नगर्नुहोला। पछि म आएपछि सबै कुरा बताउँछु भनेको छु।'

इजरायलमा भएको आक्रमणमा घाइते भएका दाङका प्रविण डाँगीले अस्पतालको बेडबाट नर्सको मोबाइलबाट परिवारलाई सम्पर्क गरेका छन्। खुट्टामा गोली लागेर हिजोदेखि सम्पर्कविहीन दाङको दंगीशरण गाउँपालिका वडा नं ३ हेकुलीका २३ वर्षीय प्रविण डाँगीले अस्पतालबाट बुबालाई कुराकानी गरेपछि परिवारमा थोरै भए पनि सान्त्वना मिलेको उनका बुबा निमबहादुरले जनाएका छन्। ‘छोरासँगै भिडियो कुरा भयो, नर्सको मोबाइलबाट गरेको बताएको छ। खुट्टामा गोली लागेकाले अब अपरेशन गर्ने तयारी रहेछ।'

इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका दार्चुलाको लेकम-५ का दिपेश राज विष्टका आफन्तले उनी सम्पर्कमा नआएको र अस्पतालमा भए-नभएको पनि कुनै जानकारी नभएको बताएका छन्। उनका दाजु पर्ने जनकराज जोशीले भने, 'दिपेश हिजोदेखि सम्पर्कमा छैन। उनका साथीहरुलाई बुझ्‍दा अस्पताल लगेको देखेको बताइरहेका छन्। यसबारे न त नेपाल सरकारलाई थाहा छ, न त्यहाँ दूतावासलाई नै केही जानकारी छ। हामी आत्तिएका छौं।' 

उनले दिपेशको खोजी गरी त्यहाँ भएका अन्य नेपालीहरुलाई पनि घर फर्काउन सरकारले ढिलो गर्न नहुने बताएका छन्। उनले भने, 'सरकारले त्यहाँका नेपालीहरुबारे यथेष्ट सूचना लिने र कुनै दुर्भाग्य हुनुभन्दा पहिले चाँडोभन्दा चाँडो उनीहरुलाई घर फर्काउन सरकारले पहल गरोस्।' त्यहाँ रहेका नेपाली विद्यार्थीका अनुसार दिपेश किबुल अलुमिममा रहेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले इजयरायलमा रहेका नेपालीहरुलाई यथाशक्य उद्धार गरेर स्वदेश फर्काउनुपर्ने माग गरेको छ। प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको जीवनरक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने उल्लेख गर्दै भने, 'यति ठूलो विपत्ति आइलागेको छ। एक मिनेट पनि नेपालीहरूको उद्दार र जीवनरक्षाका निम्ती ढिलाइ गर्ने अवस्था छैन। यो देशमा सरकार छ र राज्य छ। ती नागरिकहरूको अभिभावक हौं भनेर सरकारले अत्यन्तै प्रभावकारी ढंगले कदम उठाउनुपर्छ। सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन। मन्त्रीले घटना विवरण दिएर मात्रै पुग्दैन,' उनले भने, 'प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुलाई फोन गर्नुपर्‍यो, संवाद गर्नुपर्‍यो, हाम्रा नागरिकहरूको छिटोभन्दा छिटो जीवनरक्षा हुनुपर्‍यो, उनीहरूको उद्धार गर्नुपर्‍यो। उपचारको काम तत्काल हुनुपर्‍यो। यहाँका प्रधानमन्त्रीको त्यहाँका प्रधानमन्त्रीसँग सिधा-सिधा छलफल गर्नुपर्छ भन्ने म ठान्छु।'

उनले पनि आफ्नो छोरासहित अन्य सयौं नेपालीहरुलाई घर फिर्ता गरिदिनुपर्ने बताएका छन्। उनले भने, 'त्यहाँ फेरि आक्रमण हुँदैछ भन्‍ने सुनेको छु, त्यहाँ अब सुरक्षति हुन सक्दैन। सरकारले चाँडो उनीहरुलाई नेपाल फिर्ता गर्ने प्रबन्ध गर्नुपर्छ।' हालसम्म इजरायलमा भएको आक्रमणमा परी २३० जनाको मृत्यु भएको छ भने करिब एक हजार बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएका छन्। इजारायलको तर्फबाट हिजो राती गाजा क्षेत्रमा जवाफी कारवाही हुँदा त्यहाँ पनि केही संख्यामा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम एपीले जनाएको छ।

इजरायलमा रहेका नेपालीहरुका लागि सम्पर्क व्यक्ति:
टेलिफोन - +९७२(०)३५१६८०८५
राजदूत कान्ता रिजाल - +९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे- +९७२५८२८९३०००
इमेल- nepal.embassy@012.net.il

 

प्रकाशित: Oct 08, 2023| 16:39 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्