रेली खोला बगर काफल पाक्यो लहर
माया आउन बस न लाग्यो रहर
‘कुसुमे रुमाल’ चलचित्रको सबै गीतहरु अजम्बरी छन्। चलचित्र निर्माण भएकै ३८ वर्ष बितेको छ। सन् १९८५ मा बनेको थियो कुसुमे रुमाल तर चलचित्रका गीतहरु आज पनि उत्तिकै सुनौ सुनौ झैं लाग्छ।
नेपाली चलचित्र इतिहासकै पहिलो ‘कल्ट’ फिल्म अर्थात् ऐतिहासिक छाप छोड्न सफल फिल्म पनि कुसुमे रुमाल हो भन्दा अतिशयोक्ति नहोला। कुसुमे रुमालले देशलाई चलचित्र क्षेत्रमा पहिलो ‘ब्लकबस्टर’, ‘व्यावसायिक सफल’ र सर्वाधिक कमाइ गर्ने चलचित्र पनि दियो। त्यतिमात्रै नभएर पहिलो सिल्भर–जुब्ली मनाउने चलचित्र पनि कुसुमे रुमाल नै हो। चलचित्र २५ हप्तासम्म निरन्तर बक्स अफिसमा अग्र स्थानमा रहेको थियो।
यस्ता थुप्रै उपाधि हासिल गर्नु र सर्वाधिक सफल हुनुको श्रेय चलचित्रको गीत–संगीत र रोमान्टिक प्रेमकथा नै हो। त्यसअघिसम्म चलचित्र निर्माण नभएको होइन तर लाखौं युवाहरुको ढुकढुकीलाई सम्बोधन गर्न सफल भएर नै चलचित्रले व्यापक कमाइ समेत गरेको थियो।
चलचित्रको कथानक यस्तो छ- जसमा आज पनि एउटा अमर र अर्जुन हुन सक्छ भने सुनिति पनि हुन सक्छे। हाम्रो गाउँघर र शहरको कथा–व्यथा पनि उस्तै छ। फेरिएको भनेको थोरै परिवेष मात्रै हो।
चलचित्र त्रिकोणत्मक प्रेमकथामा आधारित छ। सुनिति, अमर र अर्जुनको प्रेमकथालाई पर्दामा कलात्मक ढंगले उतार्ने निर्देशक तुलसी घिमिरेको जादूकै कारण पनि चलचित्र सदाबहार बन्न सफल रह्यो। तृप्ति नाडकर अर्थात् सुनिति र उदित नारायण अर्थात् अमर कलेजका सहपाठी र एकअर्काका प्रेममा डुबेका छन्। भुवन केसी अर्थात् अर्जुन जो सुनितिको खेतबारीमा काम गर्ने सामान्य युवकको हैसियतमा छन् र उनी सुनितिको एकतर्फी प्रेममा पर्छन्।
सन् १९८५ ताका, जतिबेला यो चलचित्र प्रदर्शनमा आएको थियो त्यतिबेला कलेजका युवा र युवतिहरुको प्रेम प्रसंग र र्यागिङजस्ता कुरालाई चलचित्रमा खासै उतारिएको थिएन। पुरानो चलचित्रहरुको युग समाप्त हुँदै नयाँ युगको त्यसमा पनि शहरको कथाहरु, शहरका युवा–युवतिहरुको रंगढंगका कथाहरु कुसुमे रुमालले पस्केको थियो।
चलचित्रप्रति युवावर्गको आकर्षण हुने नै भयो। यो चलचित्रले नेपाली समाजलाई दिएको अर्को उपहार भनेको सुमधुर संगीत पनि हो। ‘कुसुमे रुमाल’, ‘रेली खोला बगर’, ‘सुन भन न’, ‘तिमी नभए जिन्दगानी काँडा सरी छ’ जस्ता सदावहार गीतले गाउँदेखि शहरसम्म तरंग ल्याइदिएको थियो। रेडियो र टिभीमा चलचित्रका गीतहरु बज्दा दर्शक–श्रोता सम्मोहित हुन्थे। त्यो क्रम अझै जारी छ।
यसका गीतहरु उदित नारायण, दीपा झा, श्रवण घिमिरे, भारती घिमिरेले गाएका छन् भने चलचित्रमा नीर शाह, प्रदीप पाख्रिन, विश्वमनी आदिको अभिनय पनि महत्वपूर्ण रहेको छ।
‘कुसुमे रुमाल’ एक उत्कृष्ट चलचित्रको हो भने यसमा भएको पात्र चयन पनि उत्तिकै सशक्त पक्ष हो। यसका दृश्यहरु जीवन्त छन्। चलचित्रमा गायक उदित नारायण पहिलो पटक नायकको भूमिकामा देखिएका थिए भने भर्खर अभिनयमा पाइला चाल्न सुरु गरेका भुवनमा नायक झल्किन्छ। नायिका तृप्तिको अभिनय परिष्कृत छ। नीर शाह र अन्य कलाकारको भूमिकाले चलचित्रलाई उचाइमा पुर्याउन सफल भएको छ। चलचित्रमा लेखन र निर्देशन तुलसी घिमिरेको रहेको छ भने गीत–संगीत रनजीत गजमेरको रहेको छ।
यस चलचित्रपछि भुवनको अभिनयको करियर अगाडि बढ्दै उनी ठूला कलाकारमा दरिए भने उदित नारायण गायन क्षेत्रमा स्थापित भए। तुलसी घिमिरे पनि यसै चलचित्रपछि सफल निर्देशकमा दरिए भने रनजित गजमेरलाई यस चलचित्रको गीतले अमर बनायो।
एउटा अन्तर्वार्तामा निर्देशक घिमिरेले भनेका छन्, साथीभाइसँग पाँच–दश हजार सापट गरेर चलचित्र निर्माण गरेको थिएँ। भुवन केसीले पनि यस चलचित्रको लागि कुनै पारिश्रमिक पाएका थिएनन्। नेपाली चलचित्र बनाउने तुलसी घिमिरेको रहर र योजनाले नेपाली चलचित्र क्षेत्रलाई सधैंभरि गर्व गर्न सकिने सदावहार चलचित्र दिन सफल भयो।