०७९ वैशाख ३० मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सुरु भएयता सप्तरीका तीन पालिका प्रमुख निलम्बित भएका छन्। दुई नगर प्रमुख र एक गाउँपालिका अध्यक्ष निलम्बित भएका हुन्।
गत साता घूससम्बन्धी मुद्दामा अख्तियारले नियन्त्रणमा लिएसँगै विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका छन्। यसअघि राजविराज नगरपालिका प्रमुख भीमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्ताको निलम्बन कायमै छ।
घूससम्बन्धी प्रकरणमा अख्तियारले उनलाई गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो। ७ गते अख्तियारले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष निलम्बनमा परेको जानकारी गराएको हो। विष्णुपुर–६ मा सोलार लगाएको योजनाको भुक्तानीका क्रममा घूस लेनदेन भएको अख्तियारको दाबी छ।
साउन ३१ गते सोलारसम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घूसबापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई अख्तियार टोलीले राजविराजस्थित गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको थियो। उक्त प्रकरणमा अध्यक्ष यादवको समेत संलग्नता रहेको अख्तियारको दाबी छ।
यसअघि शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताविरुद्ध अख्तियारले घूस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै गत फागुन १७ गतेदेखि निलम्बित छन्। नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबीचको मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घूस लिएको आरोपमा दुवै जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो।
अख्तियार टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घूस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो। प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर भएको हो।
भीमराज यादवमाथि अख्तियारले ०७९ असार २९ गते विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी निलम्बित छन्। राजविराजस्थित राज रंगशाला स्तरोन्नतिमा भ्रष्टाचार गरेको ६ वर्ष पुरानो मुद्दामा उनी जोडिएका हुन्। अख्तियारले न्यू गहिल कन्ट्रक्सनका तत्कालीन सञ्चालक यादवविरुद्ध २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको छ।