बुधबार, जेठ २७, २०८३

हुलाकी राजमार्गका पुल विस्तार गरिँदै

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

काठमाडौं- हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेका पुल विस्तार गरिने भएको छ। तीन/चार दशक पहिले बनेका र अहिले साँघुरा भएका पुल विस्तार गर्ने योजना बनाइएको हो।

National life

पहिलेको एक लेन पुल रहेकामा अहिले दुई लेन बनाउनु आवश्यक रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। आयोजनाअन्तर्गत २५/३० देखि कतिपय ठाउँमा ४० वर्ष पुराना पुल रहेकाले ती ठाउँमा नयाँ पुल बनाउनुपर्ने आयोजना प्रमुख चुडाराज ढकालले बताए। उनले भने, 'त्यतिबेला थोरै गाडी चल्दाका पुल अहिले पर्याप्त छैन।' 

पुलहरुलाई नौ मिटर चौडाइमा विस्तार गरिने उनले बताए। सात मिटर गाडी गुड्ने र त्यससँगै दुई मिटर गरी नौ मिटर चौडाइका पुल निर्माण गर्न लागिएको हो। सडकको विस्तार भएकाले सडक जत्तिकै चौडाइमा पुल बनाउनुपर्ने उनको भनाइ छ।

पुल साँघुरा हुँदा समस्या भएकाले अहिले नयाँ बनाउनु आवश्यक रहेको प्रमुख ढकालले बताए। पुराना सडक रहेको स्थानमा पुल बनाउनुपर्ने बढी आवश्यक रहेको उनको भनाइ छ। उनले भने, 'नेपालगञ्ज-गुलरिया खण्डमा पाँच जति पुलमा यो अवस्था रहेको छ।' 

आयोजनाअन्तर्गत केही संख्यामा रुग्ण पुलको ठेक्का पनि छ। आयोजनाले काम नै नगर्ने पुलको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत अघि बढाउँदै आएको छ। हुलाकी राजमार्ग आयोजनाले आव २०६५/६६ मा निर्माण सुरु गरेर आव २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो। पछि त्यसलाई संशोधन गरेर आव २०७९/८० पुर्‍याइएको थियो। अहिले पुनःआव २०८३/८४ मा सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ।

Shivam cement

राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामकरण गरिएको थियो। उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो। पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल नेपाल सरकारले बनाउने सम्झौता भएको थियो।

आयोजनाको डिजाइनमा जम्मा दुई सय ५० पुल रहेकामा हालसम्म एक सय ३२ पुलको निर्माण सम्पन्न भएको छ। गत आवमा जम्मा ११ पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।

प्रकाशित: Aug 17, 2023| 23:02 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्