बुधबार, जेठ २७, २०८३

एक सातासम्म किन खुल्न सकेन बुद्धसिंह मार्ग ?

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

तनहुँ- पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-६ आँपखोलमा पहिरो खस्दा एक सातादेखि उक्त खण्ड अवरुद्ध भएको हो।

National life

गत साउन २६ गते खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात सेवा विच्छेद भएको छ। गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको उक्त मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ।

पहिरोसँगै ठूलाठूला ढुंगा खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीयवासी हर्कबहादुर थापाले बताए। उनले भने, 'पहिरोका कारण मानिससमेत हिँड्न नसक्ने अवस्था थियो, अहिले स्थानीयवासीको प्रयासमा पैदल हिँड्न मिल्ने बनाइएको छ। पहिरो नहटाएसम्म यातायात सेवा सञ्चालन हुन सक्दैन।'

अहिले सो पहिरो छिचोलेर कुनै पनि सवारीसाधन सदरमुकाम दमौली र घुमाउनेतर्फ जान सक्दैनन्। सडक अवरुद्ध हुँदा बिरामी, बालबालिका र ज्येष्ठ नागरिक मर्कामा परेका छन्। पहिरो खसेको स्थानसम्म दमौलीबाट सवारीसाधनमा खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्री लगेपनि त्यसउता भने बोकाएर लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

स्थानीयवासी थापाले भने, 'यस भेगका नागरिकलाई सख्त बिरामी भएमा त्यसबेला पर्ने समस्यामा भने कसैले पनि अनुमान गरेका छैनन्। यत्रो दिन भइसक्दा पनि पहिरो हटाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिएको छैन।'

Shivam cement

उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गरेकामा अहिले उनीहरूको आवागमन पूर्णरुपमा बन्द भएको छ। गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ। गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखि व्यास नगरपालिका-१३ को सोढेसम्म १० किलोमिटर कालोपत्र गर्ने तयारी गरेको छ।

उक्त मार्गलाई मुग्लिन-नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ। सो पुल निर्माण भएपछि बाटो पनि छोटिन्छ। पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ। उक्त सडक गण्डकी प्रदेश मातहत रहे पनि सडकको पहिरो पन्छाउने जिम्मेवारी आफ्नो नभएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश घिमिरेले बताए।

प्रदेश सरकारले अहिले १० किलोमिटर सडक कालोपत्र गरिरहेको हुँदा त्यही १० किलोमिटरभित्र हुने अवरोध हटाउने जिम्मेवारी मात्र कार्यालयको रहेको र बाँकीमा कार्यालयको कुनै भूमिका नहुने उनको भनाइ थियो। प्रमुख घिमिरेले स्थानीय तहले पहिरो हटाउन सकिएन भनेर लिखित निवेदन दिएमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयसँग बजेट माग गरिए मात्र सडकको अवरोध हटाउन सकिने उल्लेख गरे।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दुरीको बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल अलपत्र अवस्थामा छ। घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानासम्म पुगेर फर्कन बाध्य छन्। मोटरसाइकल भने डोहोर्‍याएर मुग्लिङ-नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ।

प्रकाशित: Aug 17, 2023| 21:21 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्