बुधबार, जेठ २७, २०८३

चितवनमा दूध उत्पादन घट्यो

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

चितवन- जिल्लामा दूध उत्पादन घटेको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए। 

National life

उनका अनुसार अघिल्लो आवमा ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ। उनका अनुसार अघिल्लो आवमा दैनिक सरदर तीन लाख पाँच हजार पाँच सय ५३ लिटर दूध उत्पादन भएकोमा गत आवमा दैनिक दुई लाख ६८ हजार आठ सय ८४ लिटर दूध उत्पादन भएको छ।

उनका अनुसार विसं २०७७ बाट सुरु भएको लम्पीस्किन रोगको सङ्क्रमणले विस्तारै दूध उत्पादनमा कमी आएको हो। रोग सङ्क्रमणभएपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उनले बताए।

डा आचार्यले भने, ‘लम्पी स्किनका कारण दूध उत्पादनमा कमी आएको छ। बजारमा दूधको माग पनि घटेको छ।’ दूध उत्पादन बढाउनका लागि जिल्लामा लम्पीस्किनविरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। लम्पी स्किन रोग नियन्त्रणमा आएपछि विस्तारै दूध उत्पादनमा वृद्धिमा उनको विश्वास छ। उनले भने, ‘जाडो मौसम सुरु भएसँगै रोगको सङ्क्रमण कम हुने र दूध उत्पादनमा वृद्धि हुने अनुमान गरेका छौँ।’

प्रकाशित: Aug 15, 2023| 23:07 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्