सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र खराब भएको हल्ला नफिँजाउन अर्थमन्त्री महतको आग्रह

अर्थतन्त्र खराब भएको हल्ला नफिँजाउन अर्थमन्त्री महतको आग्रह

देशभित्रै उत्पादन वृद्धि गरे मात्रै आन्तरिक राजस्व बलियो हुने मन्त्री महतको दाबी।
 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

काठमाडौं–अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन्।

triton college

आज देशभरका ८४ वटा आन्तरिक राजस्व कार्यालयका कर्मचारीको सहभागिता रहेको व्यवस्थापन गोष्ठीमा मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताएका हुन्।

आन्तरिक उत्पादन बढाउन संरक्षण गर्ने सरकारको नीतिको किसानले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कसैलाई पनि आतंकित नहुन आग्रह गरे। ‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको छ। तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो? के सधैं आयात मात्र गर्नुपर्छ भन्ने कुरा हो?’ उनले प्रश्न गरे।

चालू आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास रहेको छ। गत वर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनको भनाइ छ।

अर्थमन्त्री महतले भने, ‘कर तिर्नेको संख्या थोरै छ, कर तिर्नुपर्नेको संख्या धेरै छ। उनीहरूले कर तिर्न पनि सक्छन्। उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ। निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्नुहुँदैन।  अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ। विस्तारै ब्याज घटिरहेको छ।’

corrent noodles
Metro Mart

सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैं नकारात्मक नभन्न उनको आग्रह छ।  उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराको चर्चा गर्न सुझाए, ‘अब अर्थतन्त्र सुधारतर्फ जान्छ। नकारात्मक मात्र कुरा गर्ने हैन। निजी क्षेत्रले खराब मात्र छ भनेर हल्ला फैलाउनु राम्रो होइन। हाम्रो देशमा नकारात्मक कुरा नै लोकप्रिय हुने गरेको छ। राम्रो कुराको चर्चा नै हुँदैन। सकारात्मक कुराको चर्चा हुनुपर्छ।’

अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्तमात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, विस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उनको विश्वास छ।

अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउनका लागि सबैले सकारात्मक कुराको सञ्चार गर्नुपर्नेमा उनको जोड थियो। ‘पैसा बजारमा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने भाष्यको प्रचार बढी भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ। त्यसैले निजी क्षेत्र यसमा सकारात्मक हुनुपर्छ,’ उनले भने।

अर्थमन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाए। गत आर्थिक वर्षमा लक्षित राजस्व संकलन नहुँदा बजेटको आकार नै खुम्च्याउनु परेपछि झस्किएका अर्थमन्त्रीले भने, ‘आगामी दिनमा राजस्वको लक्ष्य पूरा गर्ने, यसमा के–कस्ता समस्या छन् र त्यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सम्पूर्ण ध्यान दिनुपर्नेछ।’

कर तिर्नुपर्ने भए पनि विभिन्न बहाना बनाएर करको दायरामा नआएकालाई छुट नदिइने उनको भनाइ छ। ‘छुट दिइए अरू करदाता पनि भाग्न सक्छन्। सानोतिनोलाई लछारपछार पार्ने, तर जो अनेक चलखेल गर्छ, उसलाई के गर्ने हो या होइन भन्ने छ। करको दायरामा ल्याउने हो’, उनले भने।

केही व्यक्ति तथा फर्मले भने बढी कर तिर्न तयार रहे पनि मूल्य अभिवृद्धि कर (भ्याट) मा आउन आनाकानी गरिरहेको अर्थमन्त्रीले महतले बताए। उनको प्रश्न थियो, ‘बढी अन्य कर तिर्न तयार, तर भ्याटमा आउन नचाहने पनि छन्। भ्याटमा आउन किन समस्या हो? यसमा पनि गम्भीर कुरा हुन सक्छ। यसको खोजी गर्नुपर्छ।’

प्रकाशित: Aug 15, 2023| 14:51 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्