मंगलबार, कात्तिक १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू आर्थिक वर्षको तीन महिनामा शेयर लगानीकर्ताले बुझाए एक अर्ब ७५ करोड कर

चालू आर्थिक वर्षको तीन महिनामा शेयर लगानीकर्ताले बुझाए एक अर्ब ७५ करोड कर

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा सेयर कारोबार गर्ने लगानीकर्ताले कुल एक अर्ब ७५ करोड ६४ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.५१ प्रतिशत कम हो। 

गत वर्षको पहिलो तीन महिनामा लगानीकर्ताले करिब तीन अर्ब रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए।चालू आवको साउनमा लगानीकर्ताले ६२ करोड ४९ लाख रुपैयाँ र भदौमा ६३ करोड २७ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए। 

त्यसपछि असोजमा ४९ करोड ८६ लाख रुपैयाँ कर संकलन भएको हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा भने साउनमा दुई अर्ब १५ करोड ७५ लाख रुपैयाँ, भदौमा ६० करोड १४ लाख रुपैयाँ र असोजमा २४ करोड ३६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो।

गत वर्ष साउनमा भएको उच्च कर संकलनका कारण चालू आवको तीन महिनाको कुल संकलन तुलनात्मक रुपमा कम देखिएको हो। यसरी मासिक रुपमा असोजको कर संकलन उल्लेख्य बढे पनि पहिलो तीन महिनाको समग्र संकलन भने गत वर्षको तुलनामा घटेको छ।

कर घटे पनि पुँजीगत लाभकर दोब्बर 

सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर घटाइए पनि चालू आवको असोजमा कर संकलन दोब्बरभन्दा बढी भएको छ। सेयर कारोबार गर्ने लगानीकर्ताले चालू आवको असोजमा ४९ करोड ८६ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। यो गत आर्थिक वर्षको सोही महिनाको तुलनामा १०४.६७ प्रतिशत बढी हो। गत वर्षको असोजमा लगानीकर्ताले २४ करोड ३६ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए। 

सरकारले असोजदेखि व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने लाभमा लाग्ने पुँजीगत लाभकरको दर घटाएको थियो। करको दर घट्दा पनि संकलन बढ्नुमा कारोबारका लागि उपलब्ध दिनको संख्या, सेयरको मूल्यमा आएको वृद्धि र अघिल्लो वर्षको तुलनामा बजारको अवस्था फरक हुनु प्रमुख कारण देखिएका छन्। 

गत वर्ष असोजमा दसैंको बिदा परेकाले सेयर कारोबार हुने दिन कम थिए। यस वर्ष दसैंको बिदा कात्तिकमा परेकाले असोजमा तुलनात्मक रुपमा धेरै दिन कारोबार भयो। कारोबारका लागि उपलब्ध दिन बढ्दा कर संकलनमा पनि प्रभाव परेको हो।त्यस्तै, गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि राजनीतिक अनिश्चितता बढ्दा सेयर बजारमा ठूलो गिरावट आएको थियो। तत्कालीन सरकार ढलेपछि नयाँ सरकार कस्तो बन्ने भन्ने अन्योलले लगानीकर्तामा समेत डर सिर्जना गरेको थियो। 

त्यसको प्रभाव सेयर बजारमा देखिएको थियो।यस वर्ष भने असोजमा केही कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएकाले पुँजीगत लाभकर संकलन बढाउन योगदान पुगेको देखिन्छ। सेयर बिक्री गर्दा नाफा भएको अवस्थामा मात्रै पुँजीगत लाभकर लाग्ने भएकाले कारोबारको परिमाणसँगै लगानीकर्ताले कमाएको नाफाले पनि कर संकलनलाई प्रभाव पार्छ। 

सरकारले आर्थिक ऐन, २०८३ अनुसार असोजदेखि व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने लाभमा लाग्ने पुँजीगत लाभकरको दर संशोधन गरेको थियो। अर्थ मन्त्रालयको सूचनाअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हित निःसर्गबाट बासिन्दा प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा स्वामित्व अवधिका आधारमा दुई फरक दर कायम गरिएको छ।

नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा ३.७५ प्रतिशत पुँजीगत लाभकर लाग्छ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ। 

गत वर्ष दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो। नयाँ दरअनुसार दीर्घकालीन लगानीकर्ताको कर १.२५ प्रतिशत विन्दु र अल्पकालीन लगानीकर्ताको कर २.५ प्रतिशत विन्दुले घटेको छ।

प्रकाशित: Oct 27, 2026| 19:23 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्