मंगलबार, साउन १२, २०८३

अक्षय कुमारले पाए भारतीय नागरिकता

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

बलिउड अभिनेता अक्षय कुमार भारतीय नागरिक बनेका छन्। भारतको ७७ औं स्वतन्त्रता दिवसको दिन आज उनले नागरिकता पाएका हुन्।

ट्विटरमा भारतीय नागरिकताको प्रमाणपत्र पोस्ट गर्दै उनले यसको जानकारी दिएका छन्। तस्बिरसँगै उनले लेखेका छन्, 'दिल र नागरिकता दुवै हिन्दूस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।'

अहिलेसम्म अक्षय कुमार क्यानेडियन नागरिक थिए। उनको नागरिकतालाई लिएर बेलाबेलामा प्रश्न उठ्ने गरेको थियो। हालैको एक अन्तर्वार्तामा उनले भारतीय नागरिकताका लागि आवेदन दिएको बताएका थिए। 

आफूले क्यानडाको नागरिकता त्यागिसकेको पनि उनले बताएका थिए। आफ्नो लागि भारत नै सबैथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको सुनाएका थिए। साथै क्यानडेली नागरिकताबारे यथार्थ नबुझी मानिसले जेसुकै भन्दा आफूलाई चित्त दुख्ने पनि बताएका थिए।

अक्षयले भने, ‘मैले जे कमाएको छु, जे पाएको छु, यहीँबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु। मलाई नराम्रो लाग्छ जब मान्छेहरु केही नबुझेर बोल्छन्।’

सन् १९९० को दशकमा अक्षयका १५ भन्दा बढी फिल्म फ्लप भएका थिए। यसबारे कुरा गर्दै उनले फिल्मले बक्स अफिसमा गरेको कमजोर प्रदर्शनले क्यानडाको नागरिकताका लागि आवेदन दिन प्रेरित गरेको बताए। साथीको सल्लाहमा उनी क्यानडा जान चाहन्थे। उनले भने, ‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ। म कामको लागि त्यहाँ गएको थिएँ। मेरो साथी क्यानडामा थियो र उसले यता आऊ भन्यो। मैले आवेदन दिएँ र छाडें।’

अक्षय आफ्नो क्यानेडियन नागरिकताका कारण सधैं विरोधको निशानामा रहन्छन्। उनको क्यानेडियन नागरिकता बहसको विषय भएको छ। अक्षयले तीन वर्षअघि आफ्ना फ्यानलाई भारतीय राहदानीका लागि छिट्टै आवेदन दिने वाचा गरेका थिए।

प्रकाशित: Aug 15, 2023| 12:56 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्