बुधबार, जेठ २७, २०८३

गण्डकी प्रदेशमा पशुलाई पूर्णखोप अभियान

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

गण्डकी- वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ। प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

National life

गण्डकीका ८५ पालिकामध्ये एक महानगरपालिका, २३ नगरपालिका र ३८ गाउँपालिकाका पाँच सय ८० वडामा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले जानकारी दिए।

उनका अनुसार गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको हो।

गत आर्थिक वर्षमा मात्र खोरेतको छ लाख २८ हजार छ सय १५ डोज, चरचरे र भ्यागुतेको तीन लाख ९६ हजार ५०, क्लासिकल स्वाइन फिभरको ८० हजार एक सय ३८, पिपिआरको ११ लाख ८४ हजार ६० र रेबिजको ४२ हजार दुई सय ८० डोज खोज लगाइएको मन्त्रालयले जनाएको छ।

पूर्णखोप कार्यक्रमका लागि गत आवमा १३ करोड ७४ लाख खर्च भएको डा. न्यौपानेले बताए। ‘यस वर्ष पनि पूर्णखोप कार्यक्रमले निरन्तरता पाउँछ, विभिन्न रोगव्याधिका कारण हुने पशुधनको क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो’, उनले भने, ‘प्रदेशका सबै पशुपालक किसानको घरगोठमा खोप सेवा पुर्याउने लक्ष्य मन्त्रालयको छ।’

Shivam cement

अहिले गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका विरुद्ध पनि खोप अभियान सञ्चालन भइरहेको छ। प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा उक्त खोप लगाइएको मन्त्रालयले जनाएको छ। गाईभैँसीका फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो।

गण्डकीमा कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको डा. न्यौपानेले जानकारी दिए। लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि एक करोड बजेट छुट्याएको थियो।

जिल्लामा रहेका भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत ५१ हजार चार सय, स्थानीय तहबाट ४६ हजार सात सय दुई र किसानले आफ्नै खर्चमा पाँच हजार एक सय २८ डोज खोप लगाएको मन्त्रालयले जनाएको छ।

महाशाखा प्रमुख डा. न्यौपानेका अनुसार गण्डकीमा हालसम्म ६९ हजार आठ सय ४१ गाईवस्तु लम्पी स्किनबाट सङ्क्रमित भएका छन्। प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ स्थानीय तहका पशुचौपायामा सो रोगको सङ्क्रमण देखिएको छ।

मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको सङ्क्रमण देखिएको छैन। सो रोग लागेर हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन्। अढतीस हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन्।

प्रकाशित: Aug 15, 2023| 08:36 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्