बिहीबार, जेठ २८, २०८३

महिनादिनमै उप्कियो कालोपत्रे

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

गण्डकी- पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्रे महिनादिनमै उप्किएको छ। पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो।

National life

कालोपत्रे उप्किएपछि ठाउँ-ठाउँमा खाल्डाखुल्डी परेका छन। स्थानीय बेलकुमारी रानाभाटले कालोपत्रे भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताइन्। ‘एक महिना पनि कालोपत्रे टिकेन, खाल्डाखुल्डी परेर पानी जमेको छ’, रानाभाटले भनिन्, ‘यस्तो गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्नुपर्छ।’

रानाभाटले कालोपत्रेको सतह नमिल्दा वर्षातको पानी घरभित्र छिर्ने गरेको सुनाइन्। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको दस लाख बजेटबाट ८० मिटर सडक कालोपत्रे गरिएको थियो।

पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्रे गर्दा प्राविधिक अनुगमन नपुगेको बताए। ‘वर्षाका बेला हतारहतार कालोपत्रे गर्दा हुने नै यही हो, असारे विकासको प्रवृत्ति बेठिक छ’, वडाध्यक्ष मर्सानीले भने, ‘निर्माणमा लापरबाही भएको देखिन्छ, यसमा सम्बन्धित मन्त्रालयको ध्यान पुगोस्।’

उपभोक्ता समिति बनाएर सडक कालोपत्रे गरिएको थियो। निर्माणको भुक्तानी पनि भइसकेको छ। पूर्वाधार विकास कार्यालय कास्कीका सूचना अधिकारी ई अनुप थापाले वर्षाका कारण कालोपत्रे सेट हुन नसकेको बताए।

Shivam cement

‘निर्माणका क्रममा अनुगमन गर्दा लापरबाही भएको देखिएको थिएन, यो विषयमा उपभोक्ता समिति र निर्माण व्यवसायीलाई राखेर कुरा गर्छौँ’, सूचना अधिकारी थापाले भने, ‘कमजोरी गरेको भेटिएका कारबाही प्रक्रिया अगाडि बढ्छ।’

ई थापाले वर्षात कम भएपछि सडक मर्मतको काम गरिने बताए। उनले आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणका काममा गुणस्तरको समस्या देखिने गरेको उल्लेख गरे। ‘समय कम हुन्छ, निर्माण व्यवसायीले पनि हतारहतार काम गर्छन्, प्रभावकारी अनुगमन पनि हुँदैन’, ई थापाले भने।
 

प्रकाशित: Aug 14, 2023| 22:23 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्