शुक्रबार, साउन २, २०८२

रोल्पाका 'ज्यानमारा' सडक

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु, यातायात व्यवसायी समितिको अस्वस्थ्य प्रतिस्पर्धा, मादक पदार्थ सेवन आदि कारणले दुर्घटना बढिरहेको छ।
 |  मंगलबार, साउन ३०, २०८०
nespernesper

उमा केसी

उमा केसी

मंगलबार, साउन ३०, २०८०

vianetvianet

रोल्पा- यहाँका सडकले गर्दा रहेक वर्ष रोल्पालीले अकालमै ज्यान गुमाउनुपरेको छ। गत मंगलबार जिल्लाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा चारको मृत्यु र १९ घाइते भएका थिए। 

दुर्घटना सहिद मार्ग सडक खण्डअन्तर्गत त्रिवेणी गाउँपालिका–७ तिलारिचिमा भएको थियो। सडकदेखि करिब एक सय ५० मिटर तल खसेको उक्त बसमा २३ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए। दुर्घटनामा एक दम्पत्तीसहित थप दुईको मृत्यु भएको थियो। 

माडी–४ रोल्पाका ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्ता डाँगीको एउटै चिहान भयो। प्रहरीका अनुसार उनीहरु उपचारका लागि जिल्लाबाट दाङ घोराहीतर्फ जाँदै थिए। मृत्यु हुनेमा माडी–२ का २२ वर्षीय प्रकाश बाँठामगर र परिवर्तन–३ का ४६ वर्षीय भक्त विक रहेका सूचना अधिकारी भुसालले बताए।

घाइते १९ मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैको घटनास्थलमा प्राथमिक उपचार गरी थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको सूचना अधिकारी भुसालले जानकारी दिए। 

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु, यातायात व्यवसायी समितिको अस्वस्थ्य प्रतिस्पर्धा, मादक पदार्थको सेवन गरी सवारी चलाउनु जस्ता कारणले दुर्घटना गराउन भूमिका खेल्ने नागरिकको गुनासो छ। हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य सडकका कारण दुर्घटना बढे्का स्थानीयको भनाइ छ।

सशस्त्र युद्धका समयमा निर्माण सुरु गरिएको सहिद मार्ग जिल्लाको रुन्टीगढी, त्रिवेणी, रोल्पा नगरपालिकाका साथै माडी, परिवर्तन र थवाङ गाउँपालिकाको भूभाग भएर जान्छ। उक्त खण्डले दाङको घोराहीदेखि रोल्पाको थवाङ खण्ड र रुकुमको चुनवाङसम्म जोड्छ। निर्माण सुरु हुँदाका बेला उक्त सडक खन्न रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दाङ,पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, पर्वतका जनताले दुई पटक गरी २०/२० दिन श्रमदान गरेका थिए।

आर्थिक वर्षको सुरुआतमै जिल्लामा भएको भयावह दुर्घटना पहिलो वा एकमात्र भने होइन। प्रत्येक वर्ष यसैगरी दुर्घटना भएर ठूलो धनजनको क्षति हुने गरेको छ। सहिद मार्गसँगै जिल्लामा पछिल्लो समय सडकको पहुँच विस्तार भएका छन्। संघ, प्रदेश र स्थानीय तहका बजेटको ठूलो हिस्सा सडकमा खर्च हुँदा यहाँका भित्री गाउँमा समेत सडक सञ्जाल विस्तार भएका हुन्। सडक सञ्जाल विस्तारसँगै जिल्लामा सवारी दुर्घटनासमेत बढ्दै जान थालेका स्थानीय बताउँछन्।

rolpa bus accident1691485356.jpg

आर्थिक वर्ष २०७९/८० मा ७२ सवारी दुर्घटना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुनेमा मोटरसाइकल देखिएको छ। उक्त वर्ष ३१ मोटरसाइकल, कार, जीप र भ्यान १६, ट्र्याक्टर १०, टेम्पो आठ, बस पाँच, टिपर चार, ट्रक र एम्बुलेन्स दुई/दुईवटा दुर्घटना भएको कार्यालयले जनाएको छ। ती दुर्घटनामा १८ ले ज्यान गुमाउनुका साथै एक सय ५२ जना घाइते भएका थिए। 

चालु आवमा सबैभन्दा बढी सवरी दुर्घटना हुनेमा सुनिलस्मृति गाउँपालिका देखिएको छ। उक्त पालिकामा हालसम्म २२ दुर्घटना भएका जनाइएको छ। ती दुर्घटनाबाट चारको मृत्यु र ३३ घाइते भएका थिए। त्रिवेणीमा १२, रुन्टीगढीमा १०, माडीमा छ, गंगादेवमा चार, परिवर्तनमा छ, थवाङ गाउँपालिकामा तीन सवारी साधन दुर्घटना भएका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, रोल्पा नगरपालिकामा १३ सवारी दुर्घटनामा परी चारको मृत्यु र २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले जानकारी दिए। उनका अनुसार जिल्लामा हुने अधिकांश दुर्घटना तीव्र गति, क्षमता भन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र बिना नै सवारी साधन चलाउनेलगायत कारण रहेका छन्। ‘सवारी चलाउँदा लापरबाही गर्नु, गाडीका छत तथा पिकअपको खुल्ला भागमा चढे्र यात्रा गर्नु, मादक पदार्थ सेवन गरी सवारी चलाउनु लगायत हुन्’, उनले भने।

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु, यातायात व्यवसायी समितिको अस्वस्थ्य प्रतिस्पर्धा, मादक पदार्थको सेवन गरी सवारी चलाउनु जस्ता कारणले दुर्घटना गराउन भूमिका खेल्ने नागरिकको गुनासो छ। हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य सडकका कारण दुर्घटना बढेका स्थानीयको भनाइ छ।

चालकलाई जिम्मेवार बनाउन नियमित स्वास्थ्य जाँच गराउने, मानसिक स्वास्थ्यप्रति सचेत रहन ध्यानाकर्षण गराउने, ट्राफिक नियमका सम्बन्धमा समय-समयमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने पत्रकार काशीराम डाँगीले सुझाव दिए।

जिल्लामा बढेको सवारी दुर्घटनासँगै जिल्ला अदातलमा सवारी दुर्घटनासम्बन्धी मुद्दाको संख्यासमेत बढेका छन्। गत आर्थिक वर्षमा ज्यान वा अंगभंग वा घाइते भएको कसुरमा १४ मुद्दा परेका अदालतले जनाएको छ।  - रासस
 

प्रकाशित: Aug 15, 2023| 07:22 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्