गोरखा- केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा हिजो साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए।
उनले पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको बताए। सडक माथिबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनको भनाइ छ। पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधन आवागमन ठप्प भएको छ।
सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएको उनले बताए। अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
उक्त पहिरोका कारण फुजेल, बेनिघाट हुँदै काठमाडौँ चितवनलगायतका सहरमा छुट्ने सवारी साधन पनि अवरुद्ध भएको स्थानीयवासीले बताएका छन्।