काठमाडौं- देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ।
बागमती प्रदेशमा धेरै सडक प्रभावित
ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र टाकुर्चे तथा गोदावरी नगरपालिका–६ बिखेन्धारामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
काभ्रेको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८ गिम्तिबेंसी र चारसय बेंसीमा पहिरो खसेको छ। अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–८ पकुचामा समेत पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। बिपी राजमार्गमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको कृष्णभीर, टिङराङखानी तथा जोगिमारा–मझिमटार मोडमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मकवानपुरको कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका–८ बगुवाखोला नजिक तथा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ।
रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित भएका छन्। नुवाकोटको टोखा–छहरे तथा पासाङ ल्हामु सडकखण्ड पनि प्रभावित भएका छन्। सिन्धुली र दोलखामा समेत रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ।
कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध
ओखलढुङ्गाको सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमाना भँडारे खोला तथा सिद्धिचरण नगरपालिका–५ चित्रेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पाँचथरको तुम्बेवा गाउँपालिका–२ नांवाखोलामा तमोर करिडोर तथा याङवरक गाउँपालिका–२ दोभाने खोलामा मध्यपहाडी लोकमार्ग पहिरोका कारण अवरुद्ध भएको छ।
भारी वर्षा तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुरका विभिन्न सडकमा रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सवारी साधनलाई भने आवागमनको व्यवस्था गरिएको छ।
गण्डकी प्रदेशमा पनि सडक आवागमन प्रभावित
मनाङको चामे–बेँसीसहर सडकखण्डअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागलुङको मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिका–४ कानाबगर तथा कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
पोखरा–बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिका–८ फर्से र लस्तीमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, कास्की, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ।
लुम्बिनी र कर्णालीमा पनि यातायात प्रभावित
रोल्पाको मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा नगरपालिका–७ माडीचौर तथा घोराही–थवाङ–रुकुम सहिद मार्गअन्तर्गत माडी–३ गरगरेमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–६ रिपामा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
गुल्मीको मदन भण्डारी राजमार्ग, रुद्रबेँसी–वामीटक्सार सडकखण्ड तथा कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरोका कारण यातायात प्रभावित भएको छ। दाङका राप्ती राजमार्ग, भालुवाङ–चकचके र सहिद मार्गमा समेत आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो खसेपछि राप्ती राजमार्गमा समेत सवारी आवागमन ठप्प भएको छ।
जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह
लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम कायमै रहेकाले प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। सम्भव भएसम्म जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न तथा रात्रिकालीन समयमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। वर्षा निरन्तर भइरहेकाले सडक तथा राजमार्गको अवस्था जुनसुकै समयमा परिवर्तन हुन सक्ने भएकाले यात्रुले थप सावधानी अपनाउनुपर्ने देखिएको छ।