बिहीबार, जेठ २८, २०८३

ड्रागन फ्रुटले दिन थाल्यो आम्दानी

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

गलकोट- बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थालेका छन्। बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेको हो।

National life

बहुगुणी फलफूलका रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका बागलुङ नगरपालिका-१ रामरेखाका उनले  पहिलो चरणमा यसको फल उत्पादन गरी रु एक लाखमा  एक सय ५० केजी फ्रुट बिक्रीसमेत गरिसकेको बताए।

रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिक खेती गर्नुभएको आचार्यले एक वर्षमै उत्पादन दिन थालेपछि आफू दङ्ग परेको उल्लेख गरे। जिल्लामै ठूलो क्षेत्रफलमा यो खेती गर्ने उनी पहिलो कृषक हुन्।

‘छ रोपनी जग्गामा गरिएको उक्त खेतीबाट अहिले उत्पादन सुरु भइरहेको छ, पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट बिक्री भइसकेको छ, दोस्रो चरणमा अझ धेरै उत्पादन हुन्छ, माग अत्यधिक भएकाले फार्मबाटै फ्रुट बिक्री भइरहेको छ’, आचार्यले भने, ‘पूर्वमन्त्री लोकेन्द्र विष्टलगायत सफल ड्रागन व्यवसायीको प्रेरणाबाट मैले यो खेती एक वर्षअघिदेखि आफ्नै छ रोपनी जग्गामा ड्रागन फ्रुटका बिरुवा लगाएको थिए, दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाइएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि हर्षित भएको छु, सबै बिरुवा मोरङ जिल्लाबाट ल्याएको थिए।’

उनका अनुसार ड्रागन फ्रुट सी भेराइटी मध्येको रातो जातको हो। अहिले आचार्यले प्रतिकेजी रु पाँच सयका दरले ड्रागन फ्रुट बिक्री गरिरहेका छन्। पछिल्लो समय निकै राम्रो मूल्य र बजारमा माग पनि बढेकाले बागलुङमा व्यावसायिकरूपले यसको उत्पादन थालिएको हो।

Shivam cement

ड्रागन फ्रुटको महत्व थाहा पाएपछि पूर्वमन्त्री लोकेन्द्र विष्ट लगायतले खेती अवलोकन गरेका थिए। आचार्यले यस खेतीका लागि कृषि ज्ञान केन्द्रले प्राविधिकसँगै मल्चिङ प्लास्टिक र थोपा सिँचाइका लागि सहयोग गरिरहेको बताए।

निर्माण व्यवसायीसमेत रहेका उनले यो खेती विस्तारका लागि रु ५० लाख लगानी गरी प्रतिबिरुवा रु चार सयमा खरिद गरेर  लगाइएको जानकारी दिए। ड्रागन फ्रुटका लागि सिमेन्टको पोल र टायरसमेत आवश्यक पर्ने भएकाले  छ सय सिमेन्टका पोल र टायरमा दुई हजार एक सय बिरुवा आचार्यले लगाएका थिए।

जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा र पोललगायतका लागि रु ५० लाखभन्दा बढी लगानी गरिसकेको र आगामी दिनमा लगानी बढाउने योजना रहेको उनको भनाइ थियो। आचार्यले १४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यसतर्फ लगानी बढाउँदै लगेको बताए।

ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी गरे पनि पछि राम्रो कमाई हुने गरेको छ। उनले ड्रागन फ्रुट रोपेको १८ महिनाभित्रै उत्पादन भइसक्ने अनुमान गरिएकामा एक वर्षभित्रै फल लागेपछि खुसी भएको बताए।

ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुआती लगानी नै धेरै भए पनि त्यसपछि खर्च घटेर आम्दानी बढ्दै जानेछ। कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पहिलो पटक ड्रागन फल उत्पादन भएको बताए।

‘उहाँले आफ्नै लगानीमा फर्म स्थापना गर्नुभएको हो,  तर पछि हाम्रो प्राविधिक सहयोगसँगै मल्चिङ प्लास्टिक र सिँचाइका लागि सहयोग गरिएको छ”, प्रमुख भट्टराईले भने, ‘उच्च व्यावसायिकता भएको ड्रागन फलको बजार निकै राम्रो छ।’

दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्डलगायत हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ। ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउडी प्रजातिको फलफूल हो।

यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ। यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ। यो फलमा क्यान्सरबिरुद्ध प्रतिरोधात्मक गुण हुन्छ। जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ।

प्रकाशित: Aug 13, 2023| 21:02 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्