शुक्रबार, जेठ २९, २०८३

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

चितवन- चितवन जिल्लामा पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ। यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

National life

प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले बताए। उनका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ। प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रुपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उनले जानकारी दिए।

उनले अभियानका लागि साउन २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने बताए। उनले भने, ‘अहिले पाँच हजार डोज खोप आउने अनुमान गरेका छौँ।’ प्रदेश सरकारले अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उनको भनाइ छ। सातै पालिकामा पालिएका गाईभैँसीमा यो खोप लगाइने छ।

डा. आचार्यले रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरुलाई खोप नलगाइने बताए। उनले भने, ‘स्वस्थ पशुलाई खोप लगाइन्छ।’ जिल्लाका पालिकाहरुको सक्रियतामा खोप लगाइँदै आइएको छ। यसलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

जिल्लामा हालसम्म १८ हजार पाँच सय ९० पशुमा लम्पी स्किन विरुद्धको खोप लगाई सकिएको छ। भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, खैरहनी नगरपालिकामा तीन सय, राप्ती नगरपालिकामा ६ हजार, रत्ननगरमा आठ हजार पाँच सय पशुमा खोप लगाइएको उनले जानकारी दिए।

Shivam cement

डा. अधिकारीका अनुसार जिल्लामा हालसम्म ११ हजार एक सय ८५ गाईभैँसीमा यो रोग देखिएको छ। कार्यालयको तथ्याङ्कअनुसार हालसम्म दुई सय ८७ गाई रोगका कारण मरिसकेका छन्।

गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिए। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन्।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ। सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए।

प्रकाशित: Aug 02, 2023| 10:38 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्