शुक्रबार, जेठ २९, २०८३

दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव

'सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ'

पोखराको आकाशमा सुनिताजस्तै सोमबार दुई विदेशीसहित १०  दृष्टिविहीनले हावामा कावा खाँदै प्याराग्लाइडिङ गरे।
 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

कास्की- साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन। पहिलोपटक जीवनमा प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन्।

National life

शारीरिक रूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरको काम गर्छिन्। ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आएकी थिइन्। 

पोखरा आएसँगै उनमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो। जब बिहान उनी ‘टेकअफ’का लागि मान्द्रे ढुंगा पुगिन्, उनले त्यसपछि आफ्नो खुसी थाम्न सकिनन्। 'प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो। कहिले उड्न पाइएला भन्ने लागेको थियो। जाने बेला सहज हुन्छ कि हुन्न भनेर मनमा लागिरहेको थियो', उनले भनिन्, 'उडेर हावाको प्रेसरले माथि माथि जाँदा, दिशा परिवर्तन भएको अनुभव गर्न पाइयो। एकदमै रमाइलो लाग्यो।'

पोखराको आकाशमा सुनिताजस्तै सोमबार दुई विदेशीसहित १०  दृष्टिविहीनले हावामा कावा खाँदै प्याराग्लाइडिङ गरे। साहसिक खेल प्याराग्लाइडिङ गर्न जो–कोही तत्कालै तयार हुँदैनन्। यसका लागि साहस चाहिन्छ, तर शारीरिक रूपमा फरक क्षमता भएका दृष्टिविहीनले समेत साहसिक खेलकुदको मज्जा लिए। दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर भने ‘ब्लाइन्ड रक्स’ संस्थाले मिलाएको थियो। प्याराइलाइडिङ गर्नेहरु एक–दुई जनाबाहेक सबैको पहिलो अनुभव थियो।

बाग्लुङकी चाँदनी शर्मा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्छिन्। उनी समेत प्याराग्लाइडिङ गरेपछि उत्साहित थिइन्। उनले कहिल्यै पनि हावामा कावा खाँदै रमाउने कल्पनासमेत गरेकी थिइनन्। उनले भनिन्, 'आकाशमा उड्ने कहिल्यै कल्पनासमेत गरेकी थिइनँ, नयाँ अनुभव हासिल भयो, मनमा खुसीको सीमा नै छैन।'

Shivam cement

चाँदनीले दृष्टिीविहीनलाई प्याराग्लाइडिङ गराउने भन्ने केही दिनदेखि नै थाहा पाएकी थिइन्। तर आफूले पाउँछु कि पाउँदिन भन्ने उनलाई थाहा थिएन। अघिल्लो दिनमात्र गर्न पाउने भन्ने उनले जानकारी पाइन्। उनले भनिन्, 'मैले गर्ने भनेर सृष्टि दिदीबाट अघिल्लो दिनमात्र थाहा भयो। आकाशमा उड्ने भनेपछि कस्तो हुने, आकाशमा कस्तो हुन्छ होला भन्ने थियो। तर उडिसकेपछि सबै अनुभव गर्न पाइयो।'

ब्लाइन्ड रक संस्थाकी संस्थापक अध्यक्ष सृष्टि केसीको प्याराग्लाइडिङको दोस्रो अनुभव थियो। उनले नै यस कार्यको अग्रसरता लिइन् र आफ्ना साथीहरूलाई अवसर प्रदान गरेकी थिइन्। सफलतामा पुग्न अपांगता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको केसीले बताइन्।
 
उनले भनिन्, 'यो  समावेशी पर्यटन प्रवर्द्धन हो। यसबाट सफलतामा पुग्न अपांगता र दृष्टिविहीनताले छैक्दन भन्ने सन्देश दिएको छ। जीवनमा उचाइमा पुग्न सफलता प्राप्त गर्न दृष्टिविहीनतामा सीमित हुन जरुरी छैन। त्यो भन्दा माथि उठ्न सक्छौं, उड्न सक्छौं।'

उनको प्याराग्लाइडिङको अनुभव पनि रोमाञ्चक छ।  बादलभित्र हराउँदाको खुसी उनले शब्दमा व्यक्त गर्न सक्दिनन्। उनले भनिन्, 'मेरो पाइलटले बादल छुवाउन लैजानुभयो। बादलमाथि पुग्ने उचाइमा पुग्ने सपना पूरा भएको छ, म बादललाई स्पर्श गरिरहेकी थिएँ। बादलभित्र हराउँदाको खुसीले मनमा छुट्टै उत्साह र ऊर्जा मिल्यो। जीवनमा सपना देख्न आँखा होइन, हिम्मत र  आत्मबल चाहिन्छ र त्यो कहिल्यै पनि अपांगता हुँदैन।'

प्याराग्लाइडिङ पाइलट राम गौतमले पनि दृष्टिविहीनलाई उडाएको आफ्नो पहिलो अनुभव रहेको सुनाए। अन्य सामान्य नागरिकले आफैंले देखेर आनन्दित हुने अनि खुसीमा रमाउने गरे पनि दृष्टिविहीनलाई पाइलटले वर्णन गरिदिँदा उनीहरूमा समेत अन्य नागरिकसरह उत्साहित भएको उनले बताए।

उनले भने, 'सामान्य नागरिक उडान भर्दा हिमाल, ताल, डाँडाकाँडा देखेर रमाउनुहुन्छ। दृष्टिविहीनलाई हामीले तपाईँ तालमाथि हुनुहुन्छ, बादलभित्र हुनुहुन्छ भनेर वर्णन गर्छौं। यसो भन्दा उहाँहरूसमेत उत्साहित हुनुहुन्छ।' - रासस

प्रकाशित: Aug 02, 2023| 05:24 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्