काठमाडौं- नेपाली कांग्रेसको विधानअनुसार दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक करिब एक वर्षपछि आजदेखि मुख्यालय सानेपामा सुरु भएको छ। ४८ विभागमध्ये एउटा तरुण दललाई मात्रै पूर्णता दिएको कांग्रेसका विभिन्न भ्रातृ संगठन यतिबेला अवैधानिक भइसकेका छन्। पार्टीभित्रका संगठनलाई पूर्णता दिएर कांग्रेसलाई चलायमान बनाउने गरी आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो।
कांग्रेसले पहिलोपल्ट प्रविधिमा टेकेर बैठक लाइभ गरेपछि सहभागीले पनि अचम्म मानेर आफ्नै मोबाइलबाट हेरेको दृश्य गज्जब देखिन्थ्यो। विद्यमान संगठनात्मक संरचना पदपूर्ति नगरिँदा लथालिंग र भताभुंग अवस्थामा भएको कांग्रेसलाई जीवन दिने अपेक्षा गरिएको केन्द्रीय समिति बैठक साता दिनसम्म चल्नेछ।
कांग्रेस केन्द्रीय समिति बैठक गत वर्ष २८ असारदेखि २ साउनसम्म बसेपछि हालसम्म सारिँदै आएको थियो। गत ४ मंसिरको निर्वाचन, निर्वाचनपछि सरकार गठन-विघटनमा कांग्रेस लागेसँगै केन्द्रीय समिति बैठक बस्न सकेको थिएन। पछिल्लो पटक २७ असारलाई तोकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीताको निधन भएपछि आजलाई सारिएको हो।
बैठकको सुरुमा महामन्त्री विश्वप्रकाश शर्माले एजेन्डा पेस गर्दै कांग्रेसलाई जीवन दिन केन्द्रीय समिति बैठक महत्तवपूर्ण हुने विश्वास व्यक्त गरे। पार्टीलाई संगठनात्मक रुपले वडादेखि केन्द्रसम्म बलियो बनाउने दिशामा बैठकले ठोस निर्णय गर्ने अपेक्षा रहेको उनले बताए।
कांग्रेसको सांगठनिक स्वरुप कोर्ने जिम्मा पाएका अर्का महामन्त्री गगन थापाले सांगठनिक स्वरुपसम्बन्धी प्रतिवेदन पेस गरे। गगनको सांगठनिक प्रतिवेदनमा पार्टीलाई चलायमान बनाउने गरी विभिन्न कार्ययोजना अगाडि सारिएको छ। डिजिटल कांग्रेसमार्फत पार्टी संगठनलाई चुस्तदुरुस्त बनाउन उनले थप २० वटा विभागको परिकल्पनासहित प्रतिवेदन पेस गरेका छन्। गगनको प्रतिवेदनमा दिवंगत कांग्रेसजनलाई सम्झिएर तिनको जन्मदिनमा विभिन्न कार्यक्रम गरिने पनि उल्लेख छ।
बैठकमा उपसभापति तथा सरकारमा नेतृत्व गरिरहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले ४ मंसिरको निर्वाचनपछि कांग्रेस प्रतिपक्षमा रहेको अवस्थामा आफ्नै पहलमा एमालेबाट माओवादीलाई छुटाउन सफल भएको दाबी गरे। उनले माओवादीसँगको गठबन्धनकै कारण कुनै बेला प्रदेश, केन्द्र सरकारमा प्रतिपक्षी कांग्रेस अहिले सत्तारुढ हुन सकेको उल्लेख गरे।
उपसभापति खड्काले निर्वाचनमा कांग्रेसलाई जनमतले स्वीकारेकाले यसको श्रेय पार्टी सभापति शेरबहादुर देउवालाई जानुपर्ने बताए। पार्टीलाई विधि विधानअनुसार हिँडाउन केन्द्रीय समिति बैठक सफल हुने विश्वास उनले व्यक्त गरे। पार्टीका नेताहरूले गर्ने हरेक व्यवहारमा सतर्कता अपनाउन उनले सुझाए। सरकारका कामबाट जनतालाई नयाँ आशा र भरोसा दिलाउनुपर्ने जिम्मेवारी कांग्रेसमाथि आइलागेको उनले बताए। उनले भने, ‘पार्टीको संगठन, निष्ठा र प्रभावमा हामी सरकारमा गएकाको भूमिका, हाम्रो बोली, जीवनशैली, निर्णय शैलीले असर पार्छन्। यसमा सतर्क हुन जरुरी छ। तुलनात्मक रुपमा अरु दलभन्दा कांग्रेसको भूमिकाले जोडिएका दललाई विश्वासमा लिएर जानुपर्ने वातावरण बनाउनुपर्छ।’
विद्यमान संगठनात्मक संरचना पदपूर्ति नगरिँदा लथालिंग र भताभुंग अवस्थामा रहेको कांग्रेसलाई जीवन दिन आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा साता दिनसम्मै विभिन्न एजेन्डासहितका छलफल चलाइने।
संसद्मा प्रतिपक्षमा रहेका दलहरूलाई समेत साथमा लिएर मुलुकको प्रतिकूल अवस्था, नेपाली जनतामा भएको निराशा, नयाँ पुस्ताले गरिरहेको प्रश्न, रुपान्तरणको खोजीलगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव उनले केन्द्रीय समिति बैठकमा राखे।
यस्तै, प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षी एमालेलाई आक्रामक भएको आरोप लगाए। संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले गठबन्धनको सरकारलाई स्थिर र स्थायी बनाउन सदनभित्र सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस पार्टीभित्र मतमतान्तर हुन नहुनेमा उनले जोड दिए। सरकारका कामकारबाही र पार्टी संरचनालाई चुस्त बनाउन यो बैठकले सघाउने विश्वास नेता लेखकले व्यक्त गरे।
उनले एमालेलाई लक्षित गर्दै भने, ‘सत्ता गठबन्धन परिवर्तन भयो। त्यसले पनि प्रमुख प्रतिपक्षी आक्रामक छ। आक्रामक मात्रै होइन, परिपक्व छ तर कहिलेकाहीँ अधैर्य देखिन्छ। अरू प्रतिपक्ष आक्रामक र अधैर्य छन्। त्यसकारण सत्ता गठबन्धन मात्र होइन कि प्रतिपक्षसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्न कांग्रेसले पहल लिनुपर्छ।’
संसद्मा विभिन्न समितिका सभापति चयन, केही महत्त्वपूर्ण विधेयक पारित गर्न कांग्रेसको ध्यान जानुपर्ने र कांग्रेस संसदीय दलको कार्यसमितिसमेत बनाउनुपर्ने हुँदा कतिपय नीतिगत सवालमा गठबन्धनभित्र उत्पन्न हुने विचारमा पनि समन्वयकारी भूमिका वहन गर्नुपर्ने जिम्मेवारीमा पार्टी रहेको लेखकले सुनाए।
बैठकमा निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठले निर्वाचनसम्बन्धी प्रतिवेदन पेस गरे। गत वर्षको स्थानीय तह निर्वाचन, ४ मंसिरको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्राप्त गरेको मतका आधारमा पार्टी जनताप्रति लोकप्रिय रहेको प्रमाणित भएको दाबी गरे। उनले निर्वाचनमा सफलता दिलाउन भूमिका खेल्ने पार्टी सभापति देउवाको प्रशंसा गरे। निर्वाचन जिताउन पार्टी कार्यकर्ता, नेताको ठूलो मिहिनेत रहेकै कांग्रेस ठूलो पार्टी बनेको उनले बताए।
यस्तै, कांग्रेस अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी अनुशासन उल्लंघन गर्ने नेता, कार्यकर्ताको संख्या २१०० रहेको प्रतिवेदन पेस गरे। ढुंगानाले हालसम्म ४६ जिल्लाबाट २१ सय उजुरी परेको विवरण बैठकमा पेस गरे।
अनुशासन समितिमा परेका उजुरीमध्ये धेरैजसो गत ४ मंसिरको निर्वाचनका रहेका छन्। त्यतिबेला पार्टीका वास्तविक उम्मेदवारलाई नसघाएर घात, अन्तर्घात गर्ने, बागी उम्मेदवारी दिने नेता, कार्यकर्ताको संख्या हालसम्म रेकर्डमा रहेको उनको भनाइ छ। ढुंगानाले सबै उजुरीमाथि छानबिन पूरा गर्न बाँकी रहेको, केहीलाई सभापति देउवाको मौखिक निर्णयका भरमा माफी दिइएको र अन्य छानबिनमै रहेको बताए। ८७ जनालाई कारबाही गरिएको प्रतिवेदन उनले बैठकमा पेस गरे।
जारी बैठकका लागि १० एजेन्डा तय भएका छन्। विधानअनुसार महामन्त्री र सभापति बसेर बैठकका एजेन्डा तय गर्नुपर्ने भए पनि सभापति देउवाले सोमबार निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठक बसालेर एजेन्डा तय गरेका थिए। एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षादेखि पार्टी सुदृढीकरण अभियानलगायत छलफल हुने महामन्त्री गगनले बताए।
भोलिदेखि कांग्रेस केन्द्रीय समिति बैठकमा समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि छलफल चलाइनेछ।