NadaNada
बिहीबार, भदौ ५, २०८२

केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयमा किन पुगे सभापति देउवा?

 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

काठमाडौं- करिब एक वर्षपछि नेपालको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारदेखि बस्दैछ। सत्ता साझेदारसमेत रहेको कांग्रेस केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न आज सोमबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्‍यो। बैठकमा नीति अधिवेशनको मिति तय गर्ने र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेजस्ता विषयमा पनि छलफल गर्ने प्रस्ताव गरियो। 

समसामयिक राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठले प्रतिवेदन पेश गर्ने, समसामयिक- सांगठानिक कार्ययोजना, केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने, विभाग गठन, राष्ट्रव्यापी अभियान घोषणा, केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश, संसदीय दल समीक्षा (प्रमुख सचेतकले जानकारी गराउने), सरकारका प्रगतिबारे उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सरकारको समीक्षालगायत विभिन्न ९ एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गर्ने प्रस्ताव गरिएको छ। 

यससँगै पूर्व गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर कारागारमा रहेको र उनलाई पार्टीले अहिलेसम्म निलम्बन नगरेको विषयमा पनि केन्द्रीय समितिमा छलफल गर्नुपर्ने विषयमा पदाधिकारी बैठकमा छलफल भएको थियो। यससँगै सभापति देउवाले बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने प्रस्ताव पनि बैठकमा राखेका छन्। 

सभापति देउवाले एकाएक पार्टीको बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गरेपछि महामन्त्रीसहितका पदाधिकारीहरु झस्किएका छन्। केन्द्रीय समिति बैठकमा धारणा राख्दा उठान नगरेका विषय पनि नेताहरूले पछि मिडियामा उठान गर्ने गरेको भन्दै सभापति देउवाले यसअघि पनि बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गर्दै आएका थिए। यद्यपि अन्य पदाधिकारीहरुले र विशेषगरी महामन्त्रीद्वयले नै यसमा असहमति जनाउँदै आएका थिए। महामन्त्रीले मिडिया उपयोग गरी पार्टीलाई नै कमजोर बनाउने काम गरेको आरोप लाग्दै आएको छ। 

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सहभागी पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय समिति बैठकमा केहीले लाइभ गरिएको अवस्थामा मनैदेखि नबोल्‍ने भएकोले गर्न नहुने मत राखेको बताएका छन्। उनले भने, 'भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्नेबारे छलफल भयो। धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो, तर केहीले लाइभ हुँदा नेताहरूले मनैदेखि बोल्दैनन् भन्ने विषय राख्नुभयो। भोलि लाइभ गरौं र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ।'

Metro Mart

सभापति देउवाको लाइभ गर्ने प्रस्तावको विषयलाई विभिन्‍न कोणबाट विश्लेषण भइरहेको छ। केहीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर देउवाले मुलुककै पहिलो पार्टीले जनताको जान्‍न पाउने अधिकारलाई उपभोग गर्न दिएको हुन सक्ने टिप्पणी गरेका छन् भने केहीले बैठकको पारदर्शिता कायम गरेको हुन सक्‍ने समेत टिप्पणी भइरहेको छ। अर्कोतर्फ पार्टी बैठकमा जनतामा सवाल नउठाउने र बाहिर आएर चर्का कुरा गर्नेलाई तह लगाउन खोजिएको भन्‍ने कोणबाट पनि विश्लेषण भइरहेको छ। 

कांग्रेस सहमहामन्त्री फरमुल्ला मन्सुरले लामो समयदेखि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएकोले पनि जनताका चासोहरुलाई पूरा गर्न सभापति देउवाले बैठकलाई लाइभ गर्नुपर्ने प्रस्ताव गरेको बताए। पार्टीमा महामन्त्रीले बैठकमा कुनै कुरा नउठाउने र बाहिर मिडियाबाजी चर्को गर्ने गरेको आरोप लाग्दै आएको छ। यो विषयलाई लिएर यसअघि पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले महामन्त्री सहभागी बैठकमा नै आक्रोश व्यक्त गरेका थिए। 

उनले भनेका छन्, 'दुई गते बैठक बसिरा'छ। त्याँ भनौं। जिल्ला समिति, क्षेत्रीय समिति, प्रदेश समिति तथा गाउँ र नगर समिति छन्, त्यहाँ भनौं। त्यहाँबाट निष्कर्ष निस्किसकेपछि पार्टीको मात्रै कुरा गरौं। त्यहा नभन्‍ने तर बाहिरचाहिँ भन्या भन्यै गर्ने प्रवृत्तिले पार्टी बलियो हुँदैन। जनता कन्फ्युजनमा पर्छन्।'

उनले सामाजिक सञ्‍जालमा पार्टीको कुरा गरेर पार्टी बलियो नहुने समेत बताएका हुन्। उनले थपे, 'मेरो आग्रह छ - हामीले सामाजिक सञ्‍जालमा पार्टीको कुरा, पार्टी नेतृत्वको कुरा त्यहाँ बहस गर्ने होइन। सम्बन्धित संयन्त्रमा छलफल गर्ने, त्यसको आधारमा जे निष्कर्ष निस्किन्छ, त्यसलाई लिएर जनताको बीचमा जाने हो। केही नयाँ प्रवृत्तिहरु यिनीहरुले गर्दैनन् भनेर अब हामी गर्छौं भनेर आएका छन् तर टिक्दैनन्। हामी दु:खमा-सुखमा का गरेर, १०औं वर्ष जेल-नेल, पुलिसको लाठी-डण्डा खाएर धेरै विकसित पार्टी हो। केही नयाँ प्रवृत्तिहरु देखिएका छन्। कति दिन टिक्छन् हेरौंला। लोकतन्त्र अझ सुदृढ भइसकेको छैन। यसलाई संस्थागत गर्ने जिम्मेवारी हाम्रै हो।' 

केन्द्रीय समिति नैनसिंह महरले पनि  बैठकमा कसले के भन्यो भन्दा पनि मिडियामा के दियो भन्‍ने कुरा महत्वपूर्ण बनाइने भएकोले बैठकलाई पारदर्शी बनाउन प्रत्यक्ष प्रसारण गरिएको हुन सक्ने बताएका छन्। उनले भने, '११ महिनापछि केन्द्रीय समिति बैठक बस्दैछ। राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा नेपाली जनताले केही अपेक्षा गरेका छन्। त्यहाँबाट बैठकमा कसले के भन्यो भन्दा पनि मिडियामा के दियो भन्‍ने कुरा महत्वपूर्ण बनाइने भएकोले बैठकलाई पारदर्शी बनाउन, बाहिर उठेका जिज्ञासाहरु छन्, ती बैठकमा उठ्छन् कि उठ्दैनन् भन्‍ने पनि थाहा हुने भएको हुनाले ती कुरालाई देखाउन खोजेको होला भन्‍ने बुझाइ छ।' 

उनले कांग्रेस जनताको पार्टी भएकोले पनि जनताले पार्टीको बारेमा जानुन् भन्‍नका लागि पनि प्रत्यक्ष प्रसारण गरिएको हुन सक्ने बताए। भने, 'लोकतान्त्रिक पद्धतिमा धेरै कुरा पारदर्शी नै हुन्छन् र निश्‍चित विषयमात्रै लुकाउन खोजिएको देखिन्छ। लोकतन्त्रवादी पार्टी पनि हामी भएकोले, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शीताका लागि यो सुरुवात गर्न खोजिएको हुन सक्छ। नेपाली कांग्रेस जनताको पार्टी भएको हुनाले र जनताले पार्टीका बारेमा थाहा पाउन् भन्‍नका लागि र पार्टीको वास्तविकता थाहा पाउनका लागि पनि लाइभ गरौं भनिएको हुनसक्छ।'

केन्द्रीय समिति पूर्ण हुन नसकेको, विधानबमोजिम विभाग गठन गर्न नसकेको, भातृ संस्थालाई पूर्ण नगरिएको लगायतका आरोप कांग्रेस नेतृत्वले खेप्दै आएको छ। बैठकमा केन्द्रीय सदस्यहरुलाई आफ्नो कुरा राख्‍नका लागि समय उपलब्ध गराइने भएको छ। कांग्रेस केन्द्रीय समिति बैठक करिब एक साता चल्नेछ।  

प्रकाशित: Jul 17, 2023| 19:30 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्