मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न ठूलो चुनौती : अर्थमन्त्री महत

अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न ठूलो चुनौती : अर्थमन्त्री महत

गुजरातस्थित गान्धीनगरमा सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नर स्तरीय तेस्रो बैठकमा सहभागी डा. महतले अल्पविकसित मुलुकमा राजस्वका स्रोत कम हुँदा दिगो विकासको लक्ष्य हासिल गर्न चुनौती थपिएको जनाएका हुन्।
 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

गुजरात (भारत)– अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खाले चुनौती रहेको बताएका छन्।

National life

आजबाट भारतको गुजरातस्थित गान्धीनगरमासुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नर स्तरीय तेस्रो बैठकमा सहभागी डा. महतले अल्पविकसित मुलुकमा राजस्वका स्रोत कम हुँदा दिगो विकासको लक्ष्य हासिल गर्न चुनौती थपिएको औंल्याएका हुन्।

उनले भने, ‘अल्पविकसित मुलुकमा राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको छ। यसमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्छ।’ 

स्रोत अभावले स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको महतले बताए। अन्तर्राष्ट्रिय समुदायले सहुलियतपूर्ण, सुविधाजनक, लचक खाले अनुदान र स्रोत उपलब्ध गराउन तथा थप स्रोत उपलब्ध गराउन उनले बैठकमा आह्वान गरे।

सम्मेलनमा भारत, अमेरिका, चीन, जापान,  फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाको सहभागिता छ।

बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायत विषय–सत्रमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ।

सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ। सम्मेलन भोलि मंगलबारसम्म चल्नेछ।

प्रकाशित: Jul 17, 2023| 16:46 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्