मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आजदेखि बजेटमा समावेश नयाँ आर्थिक नीति र कर असुली कार्यान्वयनमा

आजदेखि बजेटमा समावेश नयाँ आर्थिक नीति र कर असुली कार्यान्वयनमा

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं– नयाँ आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन आजदेखि सरकारले बजेटमा घोषणा गरेका नयाँ कार्यक्रम, आर्थिक नीति तथा करमा नयाँ व्यवस्था कार्यान्वयनमा गएका छन्।

National life

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आगामी आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दा नयाँ कर, आर्थिक नीति तथा नयाँ कार्यक्रम सार्वजनिक गरेकामा आजदेखि कार्यान्वयनमा गएका हुन्।

सरकारले चालू आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक गरेको छ। सरकारले १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट, २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट, २ खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणबाट र ४९ अर्ब ९४ करोड अनुदानबाट प्राप्त हुने अनुमानसहित चालू आवका लागि बजेट सार्वजनिक गरेको छ।

बजेटमा घोषणा गरिएअनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र  वित्तीयतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड खर्च हुने सरकारको अनुमान छ। 

बजेटमा घोषणा भएअनुसार सरकारले आर्थिक ऐनमार्फत नयाँ करका दर लागू गर्छ। कतिपय भन्सारसम्बन्धी करका दर बजेट घोषणा भएकै दिन लागू हुन्छन् भने कतिपय आव सुरु भएको दिनदेखि कार्यान्वयनमा जाने गर्छन्। 

सरकारले बजेटमा चालू आवदेखि पाँचतारे र त्यसभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले दिने सेवा, आयातीत मदिरा, १० लाख मूल्य बढीका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाएको छ। यो कर पनि आजैदेखि लागू भएको छ।

पर्यटन भ्रमणमा विदेश जाने नेपालीले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि आजैदेखि कार्यान्वयनमा आएको छ। हवाई टिकमा मूल्य अभिवृद्धि कर भ्याट लागू भएसँगै आजदेखि ६ प्रतिशतले हवाई यात्रा महँगिएको छ।

प्रकाशित: Jul 17, 2023| 11:05 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्