शनिबार, साउन १२, २०८१

इतिहास र पहिचानको खोजीमा मधेश

पहिचानको आधारमा नामकरण गरिए पनि मधेश प्रदेशसँग आफ्नै नाम र इतिहासबारे भने कुनै प्रमाणिक दस्तावेज छैन।
 |  आइतबार, असार ३१, २०८०

टीकाराम सुनार

टीकाराम सुनार

आइतबार, असार ३१, २०८०

जनकपुरधाम- देशका सात प्रदेशमध्ये ‘मधेश प्रदेश’ मात्रै पहिचानको आधारमा नामकरण गर्न सफल भएको मधेशवादीहरुले दाबी गर्दै आएका छन्। पहिचानको आधारमा नामकरण गरिए पनि मधेश प्रदेशसँग आफ्नै नाम र इतिहासबारे भने कुनै प्रमाणिक दस्तावेज छैन।

triton college

मधेश इतिहास र राजनीतिका जानकारहरु विगतमा राज्यले नै मधेशलाई अस्वीकार गरेका कारण कुनै आधिकारिक दस्तावेज नभएको बताउँछन्। त्यस्तो बताउनेमध्ये एक हुन् मधेश आन्दोलनका अगुवा एवं जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव।

यादव मधेशको पहिचान बनाउने भन्दा पनि त्यसलाई भेट्नका लागि तत्कालीन संस्थापन पक्ष (सत्ता) ले भूमिका खेलेको बताउँछन्। तत्कालीन समयमा राजा, महाराजाका कथा, कहानीलाई नै नागरिकको संस्कृति र पहिचान मान्ने प्रवृत्तिले ऐतिहासिक महत्व बोकेका क्षेत्र तथा नागरिकको पहिचानका विषय ओझेलमा परेको उनको बुझाइ छ।  

नेपालभन्दा मिथिला क्षेत्रको इतिहास धेरै पुरानो भए पनि नेपालको राजनीतिक सीमांकनपछि त्यसलाई कमजोर बनाउन लाग्नु दुर्भाग्यपूर्ण भएको यादवको भनाइ छ। उनी भन्छन्, 'नेपालको भन्दा पुरानो इतिहास मिथिलाको हो तर राष्ट्रियता र राष्ट्रवादी बन्ने नाममा मधेशको इतिहास, परम्परा, यहाँका जनता र गौरवपूर्ण सभ्यता ओझेलमा पार्ने काम भयो। त्यसैको प्रतिरोधमा जन्मिएको मधेश विद्रोहपछि केही सकारात्मक सन्देश दिन सकिए पनि उत्पीडनको शृङ्खला सकिएको छैन।'

भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुर पनि तत्कालीन राज्यसत्ताले मधेशका विषयमा विमति राखे पनि यो भूमिले ओगटेका २२ जिल्ला र यहाँको सामाजिक जीवन र त्यससँग जोडिएका विविध पक्षहरु अस्वीकार गर्न सकिने ठाउँ छैन भन्छन्। विगतमा ‘एक भाषा, एक देश’ को नीति लिएका कारण असमानताको खाडल बढेको र त्यसको मारमा सबैभन्दा बढी मधेशीहरु परेको उनले बताए। 'भाषा बाल्ने र लेख्ने माध्यम मात्रै होइन यो त राज्यले दिएका अवसरहरुसम्म पुग्ने आधार पनि हो तर राज्यको ‘एक देश, एक भाषा’ नीतिले मधेशीहरु वर्षौं वर्ष राज्यले प्रदान गर्ने सेवा र अवसरबाट बञ्चित हुनुपर्यो', ठाकुर भन्छन्, 'अब त्यो सबै कुराको दस्तावेजीकरण गरिनुपर्छ र आफ्नो भाषा आफ्नो पहिचानको संरक्षण गरिनुपर्छ। भोलिको पुस्तालाई हिजोदेखि आजसम्मको यथार्थ भन्नुपर्छ।'

Metro Mart
vianet

उनले इतिहास भनेको मुख्यरुपमा राजनीतिक चरण नै भए पनि त्यसले भाषिक, सांस्कृतिक, साहित्यिक, कला, जातजाति, रहनसहन र अर्थतन्त्रको अवस्था पनि क्रमबद्धरुपमा उठान गर्नुपर्ने आवश्यकता औंल्याए। 'इतिहास त राज्यसत्ताले लेख्ने हो तर हिजो मधेश नै नस्वीकार्ने राज्यले यहाँको इतिहास कसरी लेख्थ्यो ? अहिले त राज्यले पनि मधेश स्वीकार गरिसकेको छ। त्यसैले सबै पक्षलाई ध्यानमा राखी मधेश के हो ? त्यसको पौराणिक, प्रागऐतिहासिक र ऐतिहासिक सन्दर्भसहित समग्रतामा यहाँको इतिहास लेख्न जरुरी छ', ठाकुरले भने।

मधेश इतिहास र राजनीतिका जानकारहरु विगतमा राज्यले नै मधेशलाई अस्वीकार गरेका कारण कुनै आधिकारिक दस्तावेज नभएको बताउँछन्। त्यस्तो बताउनेमध्ये एक हुन् मधेश आन्दोलनका अगुवा एवं जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव।

मधेश मामिलाका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्ण पनि ‘एक भाषा एक भेष, एक राजा एक देश’ को भाष्य निर्माण गर्न अंगीकार गरिएको गलत नीतिका कारण मधेशको पहिचान अतिक्रमणमा परेको बताउँछन्। 'मधेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक स्थल र बहुसांस्कृतिक पक्षहरु मिलेर बनेको पहिचान पनि हो', कर्णले भने, 'हिजो जे भए पनि अब त्यो विशिष्टतालाई ध्यान दिँदै मधेशको उत्पत्ति, भूगोल, लोक साहित्य र संस्कृति, जातजाति र भाषाभाषी तथा जीवनशैलीको खोज अनुसन्धान एवं एकीकृत दस्तावेज बनाउन ढिला गर्नु हुँदैन।'

    मधेशको पहिचानकै लडाईंमा धेरै समय बिताउनुभएका वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले त राष्ट्रियताको नाममा मधेशीमाथि गरिएको उत्पीडनले यहाँको मौलिकता एवं सभ्यता नै लोप हुने अवस्थामा पुगेको बताउँदै आउनुभएको छ। 'मैले धोती, कुर्ता लगाएको, हिन्दी बोलेको र म नेपाली र मधेशी दुवै हुँ भनेर लेखेको र बोलेकै भरमा जेलनेल भोगे। पटकपटक थुनिए र यातना खेपे', यहाँ भन्नुहुन्छ, 'आजको नेपाल रहन मधेशीले नै सीमामा बर्दीविनाका सिपाहीसरह काम गरेको राज्यले देखेन। बरु देशभित्रै सौतेनी व्यवहार गर्यो।'

त्रिभुवन विश्वविद्यालय हिन्दी विभागमा प्राध्यापनरत विनोदकुमार विश्वकर्माले मधेश आफैंमा एक ऐतिहासक धार्मिक भूमि र जातीय हिसाबले बहुपहिचानयुक्त क्षेत्र भएकाले त्यसलाई पनि इतिहासमा समेट्न जरुरी रहेको बताए। 'इतिहास सधैं सर्वस्वीकार्य हुन्छ भन्ने हुँदैन। आलोचनात्मक इतिहास पनि हुन्छ र त्यसलाई समयक्रममा तथ्य र तर्कका आधारमा सुधार्न सकिन्छ', विश्वकर्माले भने, 'मधेशी समाजमा सदियौंदेखि उत्पीडनमा परेका दलित, महिला तथा सीमान्तकृत वर्गको योगदान, अवस्था र पहिचानका विषयहरुलाई पनि इतिहासको महत्वपूर्ण पाटो बनाउन सक्नुपर्छ।'

इतिहासका जानकार विक्रममणि त्रिपाठी हिजोका दिनमा नेपालको राष्ट्रिय छवि र राष्ट्रियता मजबुत बनाउने नाममा मधेशको चिनारीलाई कमजोर बनाइएको बताउँछन्। आफ्नो पहिचानको कुरा गर्दै मधेशमा राजनीतिक अधिकार तथा भाषिक, सांस्कृतिक पहिचान स्थापित गर्न जनतामा आएको जागरण र मधेश विद्रोहबाट नयाँ दलहरुको उत्पति हुनु सुखद् भए पनि त्यसलाई सहीरुपमा प्रयोग गर्न जरुरी रहेको उनको धारणा छ। 'भाषिक, सांस्कृतिक र यहाँको मौलिक इतिहास मेटाउने प्रयास राज्यबाटै भयो।'

नेपालमा चारकोसे झाडी थियो, जंगबहादुर राणाले त्यही झाडी फँडानी गरेर बस्ती बसाए, तराई क्षेत्रमा भारतीयहरुलाई ल्याएर बसाइयो भनी पाठ्यक्रममै राखेर कक्षा छ देखि पढाइयो। त्यसबाट तराईमा बस्नेहरु भारतीय हुन् भन्ने सन्देश दिइयो। पाठ्यक्रमबाट त्यो कुरा हटाउन ठूलो लडाइँ लड्नुपरेको छ', त्रिपाठी भन्छन्, 'अब लेखिने इतिहासमा कालखण्डगत रुपले हरेक पाटाहरुको खोजी गरिनुपर्छ। त्यसका लागि हामी सबैको सहयोग रहन्छ।' उनी मधेशको इतिहास लेखन गर्दा राज्यसँग नभएका कतिपय सांस्कृतिक तथा अंग्रेजसँग जोडिएका विषयको जानकारी भारतीय पक्षबाट लिन सकिने बताउँछन्।

नेपालमा चारकोसे झाडी थियो, जंगबहादुर राणाले त्यही झाडी फँडानी गरेर बस्ती बसाए, तराई क्षेत्रमा भारतीयहरुलाई ल्याएर बसाइयो भनी पाठ्यक्रममै राखेर कक्षा छ देखि पढाइयो। त्यसबाट तराईमा बस्नेहरु भारतीय हुन् भन्ने सन्देश दिइयो।

भारतीय इतिहासकार अमरेशकान्त झा पनि राजनीतिक सीमाले अलग भए पनि भारत र सीमासँग जोडिएका नेपालीहरुको अधिकांश कुरा मिल्दोजुल्दो रहेकाले भारतमा लेखिएका कुनै दस्तावेज वा विषयलाई पनि सन्दर्भका रुपमा लिन सकिने बताउँछन्। 'मार्गर्दशनका रुपमा केही आधार त लिइएला, त्यसलाई पुष्टि गर्ने क्रममा नेपालभित्रै आधिकारिक दस्तावेज भेटिन वा नभेटिन पनि सक्छ। कतिपय विषयहरु भारतसँगको सांस्कृतिक सम्बन्धका आधारमा पनि भेटिन सक्छन्', झा भन्छन्, 'केही नभेटिए लोकआस्था, लोककथन, लोकगाथा र मौखिक रुपमा व्यक्त महत्वपूर्ण कुराहरुलाई पनि आधार मान्न सकिन्छ। हामी भारतीय पक्षबाट आवश्यक सहयोगका लागि तयार छौं।'

मधेश प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोश कापडीले मधेशको भूगोल र पहिचानलाई अनुसन्धानमूलक कृतिको माध्यमले प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउने लक्ष्यअनुरुप प्रतिष्ठानले इतिहास लेखनको विषय अगाडि बढाइसकेको जानकारी दिए। 'मधेशको आधिकारिक इतिहास खोज्दा कतै भेटिँदैन। राज्यसँग यो भूगोलको उत्पत्ति, लोकसाहित्य, संस्कृति, जीवन पद्धतिको एकीकृत दस्तावेज रहेन छ', उनले भने, 'त्यसैको खोजीका लागि प्रतिष्ठानले संवाद सुरु गरेको छ। आगामी आर्थिक वर्षदेखि त्यसलाई मूर्त रुप दिन थप क्रियाकलापहरु अगाडि बढाउँछौं। त्यसमा संघीय सरकार, प्रदेश सरकार, बौद्धिक जमात र अध्ययनशील समाजको पूर्ण सहयोग र समर्थन रहने विश्वास छ।'

मधेशको इतिहास लेख्दा प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहटका भाषा, संस्कृति, परम्परा र विभिन्न जातजातिको विकासक्रमका विषय समेट्नका लागि सबै क्षेत्रसँग बृहत् छलफल गरी अगाडि बढ्ने उनको प्रतिबद्धता छ। त्यसैगरी प्रतिष्ठानका सदस्य दिनेश यादवले राजनीतिक रुपमा मधेशले ठूलो लडाइँ जिते पनि आफ्नो गुमेको पहिचान फर्काउन बाँकी रहेको बताए। 'जसको इतिहास हुँदैन उसको वर्तमान र भविष्य पनि हुँदैन भन्ने कुरामा हामी सबै एकमत छौं। त्यसर्थ मधेश बारेको फरकफरक विचारहरुलाई एकीकृत गरी यथार्थ विवरण खोज्नु र भन्नु हामी सबैको सरोकारको विषय हो। समय लाग्ला तर यो इतिहास लेखेर छोड्ने प्रतिज्ञा गरिसकेका छौं', उनले भने। - रासस

प्रकाशित: Jul 16, 2023| 12:45 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्