काठमाडौं । काठमाडौंको बौद्धगेट नजिकै एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिका-६ बौद्ध गेट नजिकै काभ्रे घर भई गोकर्णेश्वरको माकलबारी बस्ने २७ वर्षीया सालु गुरूङले आत्मदाहको प्रयास गरेकी हुन्।
उनी र उनका श्रीमानले मिलेर खाजा पसल सञ्चालन गर्दै आएका थिए। श्रीमानसँगको विवादपछि उनले खाजा घर पछाडिको पार्किङमा पुगी शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।
श्रीमानले फेला पारेर तत्काल आगो निभाएपछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल, साँखु लगिएको थियो। साँखुमा सामान्य उपचारपश्चात थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ।
आगोले उनको छाती, अनुहार र दुवै हात गरी शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। पछिल्लो समय आत्मदाहका यस्ता गम्भीर घटनाहरूबाट धेरैको ज्यान गइसकेको छ।