काठमाडौं- मैथिली भाषा–साहित्यमा विशेष योगदानको लागि प्रदान गरिने विशिष्ठ विद्यापति पुरस्कार आज पाँचजना स्रष्टालाई प्रदान गरिएको छ। विभिन्न विधामा विशिष्ट योगदान दिएका पाँचजना स्रष्टालाई नेपाल विद्यापति मैथिली पुरस्कार कोषले आज पुरस्कृत गरेको हो।
पुरस्कृत स्रष्टाहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेका छन्। २०७९ सालको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिएको छ। दुई लाख नगद र सम्मानपत्र सहित चौधरीलाई सम्मान गरिएको छ। नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार रमेश कुमार यादवलाई प्रदान गरिइएको छ। यसको राशि एक लाख नगद रहेको छ भने १ लाख राशि र सम्मानपत्र सहितको पाण्डुलिपि पुरस्कार महेन्द्र कुमार मिश्रलाई प्रदान गरिएको छ।
यसै गरी कला संस्कृति पुरस्कार गायक डा. आभाष लाभ र अभिनेता वैद्यनाथ पटेललाई प्रदान गरिएको छ। दुवै जनालाई ५०–५० हजारको दरले रकम प्रदान गरिएको छ। यस वर्ष अनुसन्धान तर्फ कसैलाई पनि पुरस्कृत नगरिएको छनौट समितिले जनाएको छ।
पुरस्कार वितरण समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विद्यापति हामी नेपालीको पनि महाकवि रहेको बताएका छन्। उनले विद्यापतिका रचनाहरूले नेपाल र भारत बीचको सम्बन्धलाई बलियो बनाउनुका साथै पहाडलाई समेत जोड्ने काम गरेको बताए। मन्त्री किरातिले विद्यापतिका कतिपय पाण्डुलिपिहरू अहिले नेपालको राष्ट्रिय संग्रहालयमा सुरक्षित रहेको चर्चा गरे।