काठमाडौं- कात्तिक १८ गते आइतबार देशभर विभिन्न घटना घटे । वामपन्थी आन्दोलनका अगुवा अधिकारकर्मी पद्मरत्न तुलाधनको उपचारका क्रममा मृत्यु भयो । योसँग दिनभर के के घटना घटे हेर्नुहोस नेपाल समयको सम्पूर्ण अपडेटमा ।
अस्ताए सूर्यध्वजाबाहक तुलाधर
वामपन्थी मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ। आइतबार दिउँसो एकबजे उपचारका क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको हो । तुलाधरलाई अकास्मात हृदयघात भएपछि केही दिन अघि अस्पताल पुर्याइएको थियो। ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित तुलाधार २०४८ र ५२ सालमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले २०४३ सालमा सूर्य चुनाव चिन्ह लिएका थिए। पछि नेकपा एमालेले सो चिन्ह प्रयोग गरेको थियो। अहिले पनि नेकपाले सोही चिन्ह प्रयोग गर्दै आईरहेको छ।
केशव स्थापितको मुखमा केपी ओलीको ताला
‘अहिले केही नबोलौं, अध्यक्षसँग भेट गर्छु पहिला’, नेपाल समयको एक जिज्ञासामा यसरी पन्छिए केशव स्थापित । उनी शुक्रबार तीन नम्बर प्रदेशको भौतिक विकास तथा पूर्वाधारमन्त्रीबाट बर्खास्तमा परेका थिए । सात प्रदेश मध्ये छ प्रदेशमा नेकपाको सरकार छ । प्रदेश सरकारबाट बर्खास्त हुने मन्त्रीमा स्थापित पहिलो हुन् । उनीमाथि मुख्यमन्त्री डोरमणि पौडेललाई दुर्व्यवहार गरेको आरोप छ । तर स्थापितले आफूले मुख्यमन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको दाबी गर्दै आएका छन् । उनले भने, ‘मेरो बोली अलि ठूलो छ त्यसैले त्यस्तो देखिएको हुन सक्छ ।’ नेताहरू आफ्नो बोलीका कारण बेलाबेलामा विवादमा पर्दै आएका छन् । सार्वजनिक पदधारण गरेको व्यक्तिले प्वाक्क बोल्दा पद चिप्लिएको इतिहास छ । संघीय सरकारमा कानुनमन्त्री रहेका शेरबहादुर तामाङ सार्वजनिक रूपमा विवादास्पद अभिव्यक्ति दिएका कारण राजीनामा दिएर हट्नुपरेको थियो । बोलीकै कारण मन्त्री पदबाट हात धुनेमा तामाङ संघीय सरकारका पहिला मन्त्री हुन् ।
दिल्लीले ओली र प्रचण्डलाई भाइ कांग्रेस बनायो
नारायणमान बिजुक्छे नेपाली वाम राजनीतिमा आदर्श नेताका रूपमा परिचित छन् । उनी साँचो कुरा बोल्न कसैसँग डराउँदैनन् । भावनामा नबग्नु र आवेगमा नआउनु उनको विशेषता हो । बिजुक्छे जे बोल्छन् यथार्थ बोल्छन् । प्रस्तुत छ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष बिजुक्छेसँग समसामयिक सन्दर्भमा नेपाल समयले गरेको कुराकानी यो समाचारमा पढ्न पाउनुहुनेछ ।
व्यवसायी गौचन हत्या प्रकरण : माया शेरचन पक्राउ
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माया शेरचनलाई पक्राउ गरेको छ । गौचन हत्याका मुख्य योजनाकार भनिएका गुन्डा नाइके समीरमान बस्नेतकी पत्नी मायालाई महानगरीय अपराध महाशाखाले आइतबार राजधानीको ठूलो भर्याङबाट पक्राउ गरेको हो । सोही प्रकरणमा गत सोमबार पक्राउ परेका अमर रानामगरले व्यवसायी गौचनलाई आफूले गोली प्रहार गरी हत्या गरेको र हतियार मायाले उपलब्ध गराएको बयान अदालतमा दिएको आधारमा काठमाडौं जिल्ला अदालतले मायालाई पक्राउ गर्न महाशाखालाई पुर्जी जारी गरेको थियो ।
उमेरहद विवादले नेविसंघको महाधिवेशन अन्योलमा
नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो ।
महासमिति सार्न कांग्रेसको बैठक
नेपाली कांग्रेसको आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौमा हुने पार्टीको महासमिति बैठक सर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्य समितिको एक महिनापछि मंगलबार बस्न लागेको बैठकले महासमिति बैठक सार्ने औपचारिक निर्णय गर्ने भएको हो। बैठकले महासमिति बैठकको मिति नजिकै आएको तर पेश गर्नु पर्ने प्रस्तावहरुको बिषयमा छलफल गर्न समय नपुग्ने भएकोले महासमिति बैठक सार्ने निर्णय हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जनाए।
‘सबै राजनीतिक दल राप्रपाको एजेण्डामा समाहित हुन्छन्’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र रासंस्था स्थापनाका बारेमा पुनर्विचार गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। पाँचथरको सदरमुकाम फिदिममा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ढिलो चाँडो सबै राजनीतिक दलहरुले राप्रपाले अंगीकार गरेको एजेण्डाका समाहित हुनुको विकल्प नरहेको बताए ।
धरहरा पुर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता
धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा सहभागीहरुले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधारहरुलाई हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
'कानुनी अल्झन हामी हटाउँछौं, इलाममा लगानी गर्न आउनुहोस्'
नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले इलाममा लगानीका लागि व्यवसायीलाई आह्वान गरेका छन् । इलाम नगरपालिकाले आगामी कात्तिक २५ गते इलाममा आयोजना गर्न लागिएको लगानी सम्मेलनको पूर्वतयारी स्वरुप आइतबार काठमाडौंमा उद्योगी व्यवासयीसँगको छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले इलाममा लगानीको उचित वातावरण बनेकाले लगानी गर्न सम्पूर्ण उद्योगी व्यवसायीलाई आग्रह गरे ।
दैनिक ३ जना नेपाली युवाको विदेशमा मृत्यु
नेपालबाट मिठो सपना बोकेर परदेश गएकाहरु सबैले आफ्नो सपना पुरा गर्न सक्दैनन् । कामको शिलशिलामा अरुको देश पुगेका कतिपय आफ्नासंगै शरिर पनि काठको बाकसमा प्याक भएर आउने गरेका गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक तीन जना नेपाली युवाको शव झर्ने गरेकाे छ । खाडी मुलुकबाट सबैभन्दा धेरै शव आउने गरेको तथ्याङ्कले देखाउछ । श्रम विभागको तथ्याङ्क अनुसार नेपालीको मृत्युदर सबैभन्दा बढि मलेसियामा रहेको छ ।
वडा हाकिमको मुकाम जलेश्वर किन अविकसित ?
प्रदेश २ को राजधानी जनकपुरबाट १३/१४ किलोमिटर दक्षिणमा पर्छ जलेश्वर । महोत्तरी जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर जलेश्वरनाथ नगरपालिकाको नामले पनि चिनिन्छ । प्रसिद्ध जलेश्वरनाथ मन्दिरको नाममा नगरपालिकाको नामकरण भएको हो । धनुषा-महोत्तरीको प्रमुख नाका पनि जलेश्वरमै पर्छ । भारतबाट पेट्रोलियम पदार्थ, लत्ताकपडा, खाद्यान्न जलेश्वरको मलिवारास्थित भन्सार हुँदै जनकपुर प्रवेश हुने गरेको छ । विगतमा महोत्तरीसहित धनुषा र सर्लाहीको प्रशासनिक केन्द्र जलेश्वरमै थियो ।
पीपीएल : उपाधिका लागि चितवन र पोखरा भिड्ने
पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधिका लागि फाइनल खेलमा चितवन राइनोज र पोखरा पल्टन भिड्ने भएका छन् । पारस खड्काको कप्तानीकमा रहेको चितवनले प्ले अफमा ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई पराजित गर्दै पोखरासँगको भेट पक्का गरेको हो । चितवनले काठमाडौंलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।