‘सबै राजनीतिक दल राप्रपाको एजेण्डामा समाहित हुन्छन्’

/assets/plugins/bower_components/fileman/Uploads/Images/2018/September/Kamal_Thapa_Pachthar_ns.jpg

पाँचथर–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र रासंस्था स्थापनाका बारेमा पुनर्विचार गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

पाँचथरको सदरमुकाम फिदिममा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ढिलो चाँडो सबै राजनीतिक दलहरुले राप्रपाले अंगीकार गरेको एजेण्डाका समाहित हुनुको विकल्प नरहेको बताए । विदेशबाट ऋण लिएर जबर्जस्ती चलाउन खोजिएको संघीयता दिगो नहुने धारणा राख्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डा हिन्दु राष्ट्र, राजा सहितको प्रजातन्त्र तथा जनताको प्रत्यक्ष स्वशासनको आवश्यकता अझ बलियो भएर गएको बताए।

विखण्डनकारी तत्वहरुको क्रियाशीलता र जबर्जस्ती धर्म परिवर्तनको लहर यही अनुपातमा बढेर जाने हो भने मुलुकमा अर्को युद्ध निम्तिने खतरा रहेकोले यसलाई रोक्न समयमै कदम चाल्न आवश्यक भैसकेको बताउँदै उनले  विचार मिल्ने पार्टीहरुसँग एकताको पहल भैरहेको बताए । थप उत्साहका साथ संगठन विस्तारमा जुट्न र पार्टीका एजेण्डाहरुलाई तल्लो तहसम्म पुर्‍याउन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिंदै थापाले परिवर्तनकारी हौं भन्ने दलहरुको व्यवहारबाट जनता रुष्ट भएकोले अबको विकल्प राप्रपा नै भएको बताए ।

सम्बोधनकै क्रममा राप्रपाका नेता तथा प्रतिनिधीसभाका सांसद राजेन्द्र लिङदेनले संघीयता कार्यान्वयन को सुरुमै देशमा विखण्डनको आवाज उठ्नु दुःखद भएको बताउँदै सचेतना अपनाएर पुनर्विचार गर्नुपर्ने समय आईसकेको बताए।

 




प्रतिक्रिया