काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल वेस्ट इन्डीजसँग पराजित भएको छ। बिहीबार जिम्बावेको हरारेमा भएको खेलमा नेपाल वेस्टइन्डिजसँग १०१ रनले पराजित भएको हो।
तीन सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४९ ओभर ४ बलमा २३८ रनमा अलआउट भयो।नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए। उनले ९३ बलमा ६३ रन बनाए। त्यस्तै गुलशन झाले ४२, कप्तान रोहित पौडेलले ३० , आशिफ शेखले २८, दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान गरे। भने करण केसीले २७ रनमा २८ रनको योगदान गरे। त्यस्तै कुशल भुर्तेलले ५, भीम सार्कीले २, कुशल मल्लले २ रन बनाए।
वेस्ट इन्डीजका लागि ज्यासन होल्डरले ३, अलजेरी जोशेफले दुई विकेट लिए। त्यसअघि जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डीजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो। उसका लागि कप्तान शाई होप र निकोलस पुरनले सतक प्रहार गरे।
कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए। उनले एक सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन।
त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए। उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन्। चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए।
ब्रेन्डन किङ्गले ३२ रन जोडे। उनले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाएका हुन्। यस्तै रोभम्यान पावेलले २९ रन बनाए। उनले १४ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै २९ रन बनाएका हुन्। वेस्ट इन्डीजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए।
बलिङतर्फ नेपालका ललित राजबंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दिप लामिछाने र दीपेन्द्रसिह ऐरीले समान एक/एक विकेट लिए। नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नको लागि वेस्ट इन्डीजविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ।
यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो। नेपालले अब नेदरल्याण्ड्सविरुद्ध खेल्ने छ।