सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • भारतीय टोलीले नेपाल भूमिमा नापजाँच गरेको विषयबारे के हो वास्तविकता? 

भारतीय टोलीले नेपाल भूमिमा नापजाँच गरेको विषयबारे के हो वास्तविकता? 

नेपाली भूमिमा अनधिकृत नापजाँच गर्न आएको भारतीय टोलीको बयानपछि गृह मन्त्रालयको समन्वयमा छोडिएको छ। यो संवेदनशील विषय भएकोले भारतीय पक्षलाई पत्र पठाउने काम भइरहेको कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले जानकारी दिए।
 |  आइतबार, असार ३, २०८०

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

आइतबार, असार ३, २०८०

काठमाडौं- भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण अन्तर्गतको टोलीले नेपाली भूमिमा अनधिकृतरुपमा जग्गा नाप जाँच गरेको पाइएको छ। भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले नेपालको जोगबुडादेखि चाँदनी दोधारासम्म पारीपट्टी भारतीय भूमिमा सडक निर्माणका लागि सर्भे गर्न कन्सल्टेन्टको टोली नेपाल आएर बिना अनुमति नापजाँच गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले जानकारी दिए। 

triton college

सर्भेका लागि चार जनाको टोलीसहित यूपी ८०६ जे ३९४५ नम्बरको जिपमा उनीहरु नेपाल प्रवेश गरेका थिए। 

उनका अनुसार उनीहरुलाई नियन्त्रणका लिएर बयान गराउँदा सडक निर्माणका लागि तोकिएको रिफरेन्स पोइन्टको सर्भे गर्न उक्त टोली आएको खुलेको छ। प्रमुख जिल्ला अधिकारी अर्यालले नेपाल समयसँग भने, 'हाम्रो कुनै अनुमति बिना भारतीय टोली आएर नापजाँच गर्न थालेको भन्‍ने सूचनालगत्तै उनीहरुलाई नियन्त्रणमा लिएर, उनीहरुको साथमा भएका उपकरणहरु पनि बरामद गरियो। उनीहरुले दिएको बयान अनुसार उनीहरु सरकारी अधिकारी भन्दा पनि भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणबाट काम लिएर बाह्य कन्सलटेन्टहरु रहेछन्। उनीहरुले यसरी अनुमति लिनुपर्ने बारे जानकारी नभएको पनि बताएका छन्।' 

उनीहरुसँग बयान गरिसकेपछि सरकारी अधिकारी र त्यस विषयमा पूर्ण जानकार व्यक्तिहरु नभएकोले गृह मन्त्रालयसँगको समन्वयमा कागज गरेर उनीहरुलाई छोडिएको पनि प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन्। उनले भने, 'भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले भारतको सर्भे विभागसँग सडक निर्माणका लागि रिफरेन्स पोइन्टहरु माग गरेकोमा १५ वटा रिफरेन्स पोइन्ट उपलब्ध गराएको रहेछ। जसमध्ये एउटा रिफरेन्स पोइन्ट  भीमदत्त नगरपालिका–११ गड्डाचौकीको कल्भर्ट नजिकै परेको रहेछ। त्यहाँ आएर उनीहरुले नापजाँच गरिरहेका थिए।' 

उनले सडक निर्माण भारतीय भूमिका नै हुने भए पनि त्यसका लागि 'टेक्निकल ग्राउन्ड'बाट हाइटहरु र लेभलहरु हेर्नुपर्ने भएकोले उक्त टोली सर्भेका आएको उक्त टोलीका सदस्यहरुले दिएको बयानमा उल्लेख भएको जानकारी गराएका छन्। यो संवेदनशील विषय भएकोले भारतीय पक्षलाई पनि अनुमति बिना यस्तो गतिविधि आगामी दिनमा नगर्न र कुनै गर्नपर्ने अवस्थामा भएको अनुमति लिन आग्रह गर्दै पत्र पठाउन थालिएको पनि प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन्। 
उनले भने, 'यो दुई देशको सीमाको विषय, दुई मुलुकको सम्बन्धको विषय भएकोले यस्ता संवेदनशील विषयहरुमा काम गर्दा पूर्व जानकारी र अनुमति लिएर कामहरु गर्न आग्रह गर्दै पत्र पठाउन लागेका छौं।' 

corrent noodles
Metro Mart

संसद्‌मा उठ्यो प्रश्‍न 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपाली भूमि नापजाँच गरेकोबारे सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका हुन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले असार १ गते भारतीय प्राविधिकहरूको टोलीले एकतर्फी रुपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरूले सुईंकोसमेत नपाएको भन्दै आपत्ति समेत जनाए।

‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रुपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गईरहेको छु। असार १ गते भारतीय प्राविधिकहरुको टोलीले इन्डियन नेशनल हार्इंवे सर्भे गर्ने भन्दै कन्चनुपरको भुजेला, गड्डा चौंकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे,’ अर्यालले भने, ‘सर्भेका सामानसहित आएका ती प्राविधिकहरु नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईंको समेत पाएनन्। के उनीहरुलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो?’

रास्वपाका उपसभापति समेत रहेका अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रुपमा नापजाँच गर्ने काम सामान्य र स्वभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाई गर्न नहुने बताए। 

‘सम्माननीय सभामुखमार्फत् म सरकारलाई प्रश्न सोध्न चाहन्छु। बरू सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीय धेरै जागरुक र सचेत देखिए सभामुख महोदय। उनीहरुले गलत काम भईरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए,’ उनले भने, ‘नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वभाविक मान्न सकिदैन सभामुख महोदय। त्यसैले त्यसको सत्यतथ्य छानविनका लागि म सम्माननीय सभामुखमार्फत् गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’

उपसभापति अर्यालले सीमा क्षेत्रमा खटाइएका सुरक्षाकर्मीहरुलाई उचित परिचालन गर्न पनि सरकारलाई सचेत गराए। यस विषयमा केन्द्र सरकारले भने कुनै औपचारिक जानकारी गराएको छैन।

प्रकाशित: Jun 18, 2023| 17:17 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्