बिहीबार, साउन २८, २०८३

मूल्य नपाएपछि सडकमै गोलभेंडा खन्याए किसानले

आइतबार बिहान गोलभेंडा लिएर कालिमाटी पुगेका किसानले उचित मूल्य नपाएपछि सडकमै खन्याइदिएका हुन्।
 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- गोलभेंडा उत्पादक किसानले उचित मूल्य  नपाएको भन्दै आफ्नो उत्पादन सडकमा फ्याँकेर विरोध जनाएका छन्। कालिमाटी तरकारी बजारको सडक किनारमा किसानले गोलभेंडा फ्याँकेका हुन्।

आइतबार बिहान गोलभेंडा लिएर कालिमाटी पुगेका किसानले उचित मूल्य नपाएपछि सडकमै खन्याइदिएका हुन्।

किलोको ८ रूपैयाँमा गोलभेंडा बेच्नुपरेपछि फ्याँक्नुको विकल्प नभएको किसानहरुको भनाइ छ। उचित मूल्य नपाए माइतीघर र सिंहदरबारअगाडि गोलभेंडा फाल्ने चेतावनी किसानले दिएका छन्।

टनेलमा उत्पादित गोलभेंडाले उचित बजार मूल्य नपाएको हुँदा किसानले आफ्नो टमाटर तरकारी बजारमा ल्याएर कालिमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ। अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेंडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेंडा ८ रुपैयाँमा।

सांसदले गराए सरकारको ध्यानाकर्षण
कालिमाटीमा किसानले गोलभेंडा फालेर विरोध गरेको विषयले संसद्‍मा प्रवेश गरेको छ।

आइतबार प्रतिनिधसभा बैठकको आकस्मिक समयमा नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले किसानलाई अनुदान र क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरे।

'कालिमाटी चोकमा गोलभेंडा र तरकारी फ्याकेर किसान प्रदर्शनमा हुनुहुन्छ। उहाँहरुले उत्पादनबापतको लागत पाउनुभएको छैन। सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ। बजारको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्छ। बजार र मूल्य नपाएर तरकारी सुकेको छ, दूध किसानले सडकमा पोख्नुपरेको छ। किसानले गोलभेंडा फ्याँक्नुपरेको छ। किसानको दिगो समाधान गर्न क्षतिपूर्ति र अनुदानको व्यवस्था गरियोस्,' उनले भने।

 

प्रकाशित: Jun 18, 2023| 10:50 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्