शुक्रबार, साउन २९, २०८३

अमेरिकी विदेशमन्त्री चीन जाने तय

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

गत फेब्रुअरीमा हुने भनिएको अमेरिकी विदेशमन्त्रीको चीन भ्रमण आगामी आइतबार हुने भएको छ। फेब्रुअरीमा अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखिएपछि अन्तिम समयमा विदेशमन्त्रीको पूर्वनिर्धारित भ्रमण अचानक रद्द भएको थियो।

विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई सकारात्मक रुपमा हेरिएको छ। भ्रमणअघि बुधबार ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङबीच टेलिफोन वार्ता भएको थियो। यस वार्ताले दुई मुलुकबीचको कूटनीतिक गतिरोधलाई मत्थर बनाएको दुवै पक्षले दाबी गरेका छन्।

अमेरिका र चीनबीच ताइवान, साउथ चाइना सी, व्यापारलगायत विषयमा विवाद छ। बेइजिङले आवश्यक परे ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्न सक्ने चेतावनी दिँदै आएको छ। अमेरिकाले भने त्यस्तो कदमविरुद्ध कारबाही गर्ने बताउने गरेको छ। यो वर्षको प्रारम्भदेखि नै चीन र अमेरिकाबीचको सम्बन्ध नयाँ कठिनाइ र चुनौतीबाट गुज्रिरहेको सन्दर्भमा भ्रमणलाई विश्वले महत्वका साथ हेरेको छ।

यसैबीच चिनियाँ विदेशमन्त्री छिङ काङले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएका छन्।अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनसँगको टेलिफोन वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री छिङले प्रतिस्पर्धाको निहुँ खोजेर चीनको सार्वभौमिकता, सुरक्षा र विकासको हितमा क्षति पुर्‍याउने काम रोक्न जोड दिए। उनले दुई पक्षीय सम्बन्धमा नयाँ कठिनाई र चुनौती देखिएको उल्लेख गर्दै आपसी मतभेदलाई नियन्त्रण गरी सम्बन्ध पुनः स्थिर बनाउनुपर्ने बताएका छन्।

ताइवान मामिलालगायत चिनियाँ मुख्य चासोलाई अमेरिकाले स्वीकार्नुपर्ने पनि विदेशमन्त्री छिङको भनाइ छ। वार्तामा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले द्वन्द्वबाट टाढा रहनुपर्ने र आपसी सञ्चारमा जोड दिनुपर्ने बताएका थिए।

 

प्रकाशित: Jun 15, 2023| 14:10 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्