शुक्रबार, साउन २९, २०८३

बाढीले कल्भर्ट बगाएपछि बेनी-जोमसोम सडक अवरुद्ध

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

म्याग्दी- बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। 

सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।
 
बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो। पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो। पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो।

छयात्तरु किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ। आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताए।
 
यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मङ्गलबार एक महिलाको ज्यान गएको छ। धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताए। बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
 
विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र सङ्घसंस्थाबाट चन्दा उठाएर रु एक लाख ४० हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकोप्टर मगाएका थिए।

प्रकाशित: Jun 14, 2023| 08:52 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्