काठमाडौं- परम्परादेखि नै मिथिलामा एउटा यस्तो देवीको पूजा हुन्छ जसको प्रतिमा एक काठको खाँबोको रुपमा स्थापित छ। जसलाई सेनाले सलामी दिएपछि महापूजा लगाइन्छ। संसारी माईको नामले विख्यात देवीको पूजामा भारतबाट समेत श्रद्धालुको भीड लाग्ने गरेको छ।
धार्मिक पर्यटनलाई आकर्षित गर्न प्रत्येक वर्ष स्थानीय युवाहरुले विशेष धुमधामका साथ महापूजाको तयारी गर्ने गरेका छन्। संसारीमाईको महापूजा सूरुमा १२ वर्षमा १ पटक मात्रै हुने गरेको थियो। पछि ९ र ७ वर्षमा एक पटक हुँदै आएकोमा अहिले ५ वर्षमा १ पटक पूजा लगाउन थालिएको हो।
महोत्तरी जिल्लको सदरमुकाम जलेश्वरमा अवस्थित संसारी माईको पूजा पाँच वर्षपछि हुन लागेको हो। जेठ २६ गते महापूजा लगाइने छ भने आज सोमबार महिलाहरुद्वारा खोईछ भराई सुरु भइसकेको र साथै लखराम पूजासमेत आजै हुन लागेको महापूजा समारोहका संयोजक अशोक साह बताउँछन्। उनले हनुमान आराधना मंगलबार र बुधबार अष्टजामको आयोजना हुन लगेको बताए।
बिहीबार सेनाले सलामी दिएपछि शुक्रबार महापूजा लगाइने संयोजक साहले जानकारी दिए। उनले यस वर्ष ४ लाख श्रद्धालुलाई दर्शन गराउने तयारी रहेको बताए। संयोजक साहले नेपालका र भारतको बिहार क्षेत्रदेखि दिल्लीबाट समेत श्रद्धालु दर्शनार्थ आउने गरेको जानकारी दिए।
शक्तिको रुपमा माता भगवतीको पूजा गर्ने मिथिलाको ऐतिहारिक परम्परा नै रहेको छ। भेदवाभ बिना हरेक जाति र वर्गले पूजा गर्न छुट पाएको एकमात्र शक्तिपठिको रुपमा संसारीमाईको पूजा हुँदैआएको छ।
मन्दिरका पुजारी तथा धामी महेन्द्र मुखिया भन्छन्, पहिले मिथिलाका राजमहाराजाका लागि छुटै राजदेवी मन्दिर निर्माण हुने गरेको थियो तर त्यसबाहेकका सबै प्रजाका लागि संसारीमाईको पूजा गर्ने परम्परा बसालिएको जनश्रुति छ।
स्थानीयले देवीलाई महारानी भनेर सम्बोधन गर्छन्। परम्परादेखि नै सबै जातजातिले बिना कुनै भेदभाव देवीको पूजा गर्ने गरेका छन्। धामी महेन्द्र मुखियाका अनुसार संसारीमाईलाई नगरको कुलदेवीको रुपमा पूजा गर्ने गरिन्छ। जनमान्यता अनुसार माताले महामारीजस्ता रोग–ब्याधबाट रक्षा गर्ने भएर भक्तजनमा श्रद्धा बढ्दो रहेको छ।
अभियान्ता एवं पत्रकार राकेश चौधरीकाअनुसार १९९६ सालदेखि नै संसारी माईको महापूजा हुँदै आएको छ। सोही वर्ष प्रख्यात जलेश्वरनाथ महादेव मन्दिरको महाशिवलिंग गुफाको माथिल्लो भागमा आधुनिक मन्दिर निर्माण भएको थियो। त्यसपछि प्रजातन्त्र स्थापना पश्चात २००९ सालमा महापूजा भएको थियो।
स्थानीयका अनुसार २०२० सालमा जलेश्वर क्षेत्रमा हैजाले महामारीको रुप लिएको थियो। त्यसबेला माताको प्रकोप जलेश्वरमा परेको भन्दै धामीझाँक्रीहरुले महापूजा लगाएका थिए। जो २०२१ सालमा भएको थियो। यसअघि २०३४ तथा ४३ सालमा समेत महापूजा लगाइएको थियो। त्यस्तै २०५८ सालमा समेत महापूजा भएको थियो, त्यतिबेला शाहवंशको अन्त्य भएको समय थियो। अहिले पनि महापूजा प्रत्येक पाँच वर्षमा हुने नियम कायम छ।
जलेश्वरको वरुण सरोवरको पूर्वी कुनामा रहेको संसारीमाईको प्रतिमाको रुपमा खाँबो स्थापित छ। संसारीमाईको प्रतिमाको रुपमा रहेको खाँबोलाई तान्त्रिक विधिअनुरुप फेर्ने परम्परा रहेको छ। एउटा सिंगो सखुवाको रुखलाई माताको प्रतिमाको रुपमा स्थापित गर्ने परमपरा रहेको छ। महापूजाको दिन जलेश्वर क्षेत्रका स्थानीयले एउटा पशु बलि दिने अनिवार्य नियम बनाइएको छ।
स्थानीयले महापूजालाई भतप्रेत, बोकसी भगाउने पूजाको रुपमा समेत लिने गरेका छन्। देवीकी सात बहिनीमध्येकी एक भनेर संसारीमाताको पूजा हुने धामी बताउँछन्। उनले चमार जाति महारानीको सेवक भएकाले अहिले पनि चमारजातिकी महिलालाई ‘महराइन’ भनेर संबोधन गर्ने गरिएको छ।
पूजाको लागि जलेश्वर नगरपालिकाले रकम उपलब्ध गराउँदै आएको छ भने केही रकम चन्दाबाट संकलन गरिनेगरिएको संयोजक साह बताउँछन्।