मानिसको स्वभाव अनुकरणात्मक हो । उसले राज्य व्यवस्थाको शिरमा जो बसेको छ, जस्तो चालचलन हुन्छ, सामान्यतया जानीनजानी त्यसैको अनुकरण गरिरहेको हुन्छ । उच्चासनमा बस्नेले भेदभावलाई मान्यता दियो भने भेदभाव नै क्रमशः संस्थागत हुन्छ । समाजमा विद्यमान यावत् कुरीतिहरू विगतमा उच्चासनमा बस्नेहरूले मान्यता दिएकै कारण स्थापित भएका हुन् ।
छापादेखि अनलाइन पोर्टल, सामाजिक सञ्जालमा गुनासा, सुझाव, आलोचना आइरहेका छन्, के राष्ट्रपति कार्यालय त्यसको ट्रेकिङ गर्दैन ? नोट बनाउँदैन ? ब्रिफिङ गर्दैन ? राष्ट्रपतिको देशभित्रै आवागमन तामझामपूर्ण छ । उनको ‘सवारी चल्दा’जनताले सास्ती पाउँछन् । सास्ती पाएपछि गाली त गर्छन् नै, गालीमात्रै होइन सराप्छन् पनि ।
त्यसैले आजजस्तो चलन बस्छ त्यो कालक्रममा थिति बन्छ र थिति (थिति विकृत हुँदा बेथिति) बन्छ बनिसकेपछि त्यसबाट फुत्किन लरतरै सकिँदैन । जस्तै, विगतमा राजाहरूले टिका लगाइदिए, प्रथम राष्ट्रपति रामवरण यादवले त्यसैलाई निरन्तरता दिए । निरन्तरता दिनुको राजनीतिक कारण थियो, त्यो भनिसकियो । वर्तमान राष्ट्रपतिका पालामा विशेष गरेर यसपालिको टिका प्रकरण समय नसुहाउँदो गरी भद्दा भयो । अर्थात् रीति, कुरीति बन्न पुग्यो ।
भद्दा भयो किनभने राष्ट्रपति टिका प्रकरणमा टिका थाप्ने र लगाइदिनेको भावमुद्रा हेर्नुहोस् । कोही आफूलाई बडो विशिष्ट मानेर टिका थापिरहेको छ, अर्काथरी दासानुदास सरह विभिन्न प्रकारले घुँडा टेकेर टिका थापिरहेका देखिए । समाजशास्त्रीय भाषामा भन्नुपर्दा यो गहिरो गाढिएको चाकडी गर्ने र गराउने सामन्त र दास अन्तरसम्बन्धको अवशेष हो ।
प्रश्न छ, यो अवशेषलाई निस्तेज बनाउने कि हुर्काउँदै लाने ? लोकतन्त्र त ती अवशेषहरू निस्तेज पार्न आएको हो । तर प्रवृत्ति भने सामन्ती अवशेषलाई हुर्काउँदै लानेतर्फ उन्मुख छ । हाम्रासमु लाने, नलाने दुई विकल्प छन् । लाने भए समाजमा अप्रिय द्वन्द्व हुन्छ । राज्य सञ्चालन गर्ने पात्रहरू र तिनका भक्त एक कित्ता र अरु अर्को कित्तामा पुग्छन् ।
अवश्य नै नेपालका राष्ट्रपति आलंकारिक भएकाले त्यो संस्थाको सांस्कृतिक महत्व स्थापित गर्नु नराम्रो होइन । राजकाजको काम उनले गर्दैनन्, गर्दिनन् । त्यसैले विभिन्न सांस्कृतिक समारोहमा भाग लिनु, पुरस्कार, मानपदवी वितरण, (मन परेकालाई) भूषित विभूषित गर्नु उनको दैनन्दिनी हुन्छ ।
प्रधानमन्त्री नै प्रमुख कार्यकारी भएकाले सरकारका काममा राष्ट्रपतिको सही छापबाहेक अरु काम छैन, हुँदैन । त्यसैले उनका धेरैजसो गतिविधि सांस्कृतिक नै हुन्छन्, होउन् यसमा खासै आपत्ति जनाउनुपर्ने देखिँदैन । आलंकारिक पद भनेकै त्यस्तै हो । राष्ट्रप्रमुखको संस्था आलंकारिक राख्नुको, विशेष गरे संसदीय प्रथामा, राष्ट्रिय आस्थाको प्रतीकका रुपमा आलोचनामुक्त रहोस् भनेर हो । ताकि, अरु सबैतिर आश मर्न गयो भने राष्ट्रपति त छन् भन्ने अवस्था बाँकी रहोस् ।
तर विशेष गरेर भण्डारीको दोस्रो कार्यकालमा उनको हाउभाउ निकै खट्किने खालको देखिन थालेको छ । टिका त पछिल्लो प्रसंग हो । यस्ता प्रसंगहरू बग्रेल्ती भइसकेका छन् । दिनहुँ जसो राष्ट्रपति आफ्नै आलोच्य प्रस्तुतिका कारण आलोचित भइरहेकी छन् । राष्ट्रपति पदमा आसीन व्यक्ति यसरी आलोचित भएपछि राष्ट्रपतित्व कसरी मर्यादित भयो त ? यो प्रश्नचाहिं अहिले विचारणीय भएको छ ।
छापादेखि अनलाइन पोर्टल, सामाजिक सञ्जालमा गुनासा, सुझाव, आलोचना आइरहेका छन्, के राष्ट्रपति कार्यालय त्यसको ट्रेकिङ गर्दैन ? नोट बनाउँदैन ? ब्रिफिङ गर्दैन ? राष्ट्रपतिको देशभित्रै आवागमन तामझामपूर्ण छ । उनको ‘सवारी चल्दा’जनताले सास्ती पाउँछन् । सास्ती पाएपछि गाली त गर्छन् नै, गालीमात्रै होइन सराप्छन् पनि ।
राष्ट्रपति जनताबाट दिनहुँ सरापिनु राम्रो हो र ? राम्रो हो कसैले भन्दैन र आशा छ, स्वयं राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले पनि भन्ने छैनन् । फेरि, न खड्गप्रसाद शर्मा ओली सधैं प्रधानमन्त्री भइरहने हुन्, न त विद्यादेवी नै अनन्तकालसम्म राष्ट्रपति रहिरहन्छिन् । पदबाट बाहिर भएका दिन कसैले नगन्ने पूर्वराष्ट्रपति भइयो भने के हुन्छ ? यता पनि सोचिदिए राम्रो हुन्छ, मंगल हुन्छ ।
नेपालको प्रधानमन्त्री कार्यकारी पद हो, राष्ट्रपति आलंकारिक । राष्ट्रपतिमा लोकआस्था संकेन्द्रित हुनुपर्छ । प्रधानमन्त्रीलाई त कार्यकारी भएकाले गाली खाए, सरापिए पनि काम गरेर देखाउने अवसर हुन्छ । काम गर्दा गल्ती भए आलोचित हुन्छन्, काम गरेर सच्चिन सक्छन् । तर हाम्रो राष्ट्रपति सर्वोच्च र आलंकारिक पद भएकोले, त्यस पदमा आसीन व्यक्तिले आलोच्य व्यवहार गर्नबाट बच्नुपर्छ।