बिहीबार, साउन ७, २०८३

दशैंको किनमेल : सेल अफरमा ठगिँदै उपभोक्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सेलवे डिपार्टमेन्टमा एक महिला दशैंका लागि दैनिक उपभोग्य सामानहरू किन्दै थिइन्। किनेका सामानमा बदामको वजनमा उनलाई शंका लाग्यो र जोख्न लगाइन्। जोख्दा ६ ग्राम कम रहेछ। त्यस्ता अन्य सामान पनि शंकास्पद थिए। पटक-पटकको प्रश्नपछि डिपार्टमेन्टका कर्मचारीले उत्पादकतर्फ दोष देखाए। तर, प्याक भएका सामानमा काटिएको देखेर उनलाई भने डिपार्टमेन्टले तलमाथि गरेको आभास भएको थियो।

यस्तै, १९ भदौ ०७४ मा दरबारमार्गका चार वटा पसल सरकारी टोलीले सिल गर्यो। कारण, बिक्री गरिएका वस्तुमा लागत मूल्यभन्दा ११ देखि १४ गुणा बढी रकम असुलेको पत्ता लागेको थियो। २४ सय पर्ने जुत्तालाई २७ हजार र एक हजारका कपडालाई चारदेखि २७ हजार रुपैयाँमा बिक्री गर्ने गरिएको खुलेको थियो। र, तिनका कुनै बिलबिजक पनि जारी नभएको पाइएको थियो। यस घटनाले ब्रान्डेड सामान र तिनका मूल्यमाथि नै प्रश्न उठायो।

यसैगरी, कृषि सामग्री संस्थानले मूल्य घटाई उपभोक्तालाई बिक्री गरेको मलमा १० किलोसम्म कम तौल भएको फेला परेको थियो। एउटा बोरामै १० किलोसम्मको घोटाला भएको खुलेको थियो।

यी त केही उदाहरण मात्र हुन्। बजारमा यस्ता घटना अप्रत्यक्ष रूपमा भइरहेकै हुन्छन्। आम नेपाली अहिले दशैंको किनमेलमा व्यस्त छन्। उपभोक्ताको अत्यधिक भीड रहने यस बेला व्यापारीले आफूखुशी मूल्य निर्धारण र बिक्री गर्ने घटना सामान्यझैं लाग्न थालेको छ।
‘उपभोक्तामा आफू बजारको राजा हुँ भन्ने आभास हुनुपर्छ। र, उनीहरूले व्यापारीलाई बजार आफ्नो मर्जीमा मात्र चल्न सक्ने आभास दिलाउनुपर्छ।’

वर्षभरि कमाएको रकम जोहो गरेर आम नेपालीले दशैं-तिहारलगायत चाडबाड धुमधामसाथ मनाउँछन्। आम्दानी गर्न नसकेकाहरूले पनि सापटी लिएरै चाडलाई रमाइलो बनाउने प्रयास गर्छन्। हर्ष र उल्लास दशैंका मुख्य विशेषता नै हुन्।

विश्व बजारमा उपभोक्तालाई ‘राइट टु चुज’को अधिकार हुन्छ। नेपालमा भने चाडबाडमा पनि उपभोक्तालाई ‘बलीका बोका’झैं व्यवहार हुने गरेको छ। थोरै फाइदा लिएर बढी बिक्री गर्नेभन्दा गुणस्तरहीन र कमसल सामान दशैंको मौकामा अत्यधिक बढी मूल्य लिएर बिक्री गर्ने गरेका छन्।

सर्प पनि मर्ने, लाठी पनि नभाँचिने। यही नेपाली उखान चरितार्थ भएझैं लाग्छ, दशैंका अवसरमा व्यापारीहरूले दिने सेल अफर।

दशैंको महिना मानिने असोज शुरू हुनेबित्तिकै बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिन शुरु हुन्छ। मानौं, व्यापारीहरूका लागि दशैं उपभोक्तालाई लुटेर अकुत कमाउने अवसर हो।

उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णु तिमिल्सिनाका अनुसार दशैंको मौकामा विभिन्न तरिकाबाट उपभोक्ता अप्रत्यासित रूपमा ठगीमा परेका हुन्छन्। बजारमा कृत्रिम अभाव सिर्जना गराइएको हुन्छ। उपभोक्ता सामान नपाइने त्रासका कारण जति पनि मूल्य तिर्न बाध्य हुन्छन्। र, त्यसबाट व्यापारीले प्रशस्त लाभ उठाउँछन्।

लत्ता कपडामा ठगी

परम्परागत रूपमा दशैंको पर्याय बनेका छन्, नयाँ लुगा। दशैंमा एक जोर भए पनि नयाँ लुगा लगाउनुपर्छ भन्ने मानसिकता छ, नेपाली समाजमा। त्यसैले, सस्तोमा पाइने होडबाजीमा ‘सेल अफर’ दिइएका पसलहरूमा कपडा किन्न ग्राहकको भीड लाग्छ।

व्यापारीले पनि ग्राहकलाई आकर्षित गर्न ‘सेल अफर’का बास्केट राखेका हुन्छन्। यसलाई ‘टाई अप बिजनेस’ पनि भन्ने गरिएको छ। ‘दुई वटा किन्दा एउटा सित्तैंमा’ जस्ता अफर झुण्ड्याइएको टाँसिएको यत्रतत्र सर्वत्र देखिन्छ।

खासमा, दशैं गर्मीको मौसम सकिएर जाडो पलाउने समय पनि हो। व्यापारीले गर्मीमा खरिद गरेका कपडाका स्टक रित्याएर जाडोका कपडा अर्डर गर्ने समयका रूपमा दशैंलाई उपयोग गर्छन्। गर्मीका स्टक भन्नासाथ यतिबेलासम्म ग्राहकले छानेर बचेका कपडा मात्र बजारमा उपलब्ध छन्। र, बचेका कपडाका लागि उपभोक्ताले चर्को मूल्य तिर्नु परिरहेको छ।

मासु मिसावट

आइतबार मात्र अनुगमन टोलीले दशैंका लागि ल्याएका ११ वटा खसी मरिसकेको फेला पारेको छ। र, अन्य १२ वटा अस्वस्थ भेटिएका छन्। सरकारी टोलीले फेला नपारेको भए ती सबै खसी दशैंको मासुका रूपमा उपभोक्ताका भान्सामा पुग्थे।

यो त भयो सरकारी अनुगमन टोलीले फेला पारेको उदाहरण। अनुगमन टोलीको आँखा छलेर कति खसी, बोका राजधानीमा भित्रिइसके भन्ने कुनै लेखाजोखा छैन।

मासुलाई पनि नयाँ कपडाझैं दशैंको अर्को अभिन्न पक्ष मानिन्छ। दशैं भन्नासाथ अधिकांशको दिमागमा नयाँ कपडा लगाउने र मासुका विभिन्न परिकारमा रमाउने भन्ने आउँछ।

यसैको मौकामा व्यापारीले चौका हान्न खोज्छन्। र, अस्वस्थ र मिसावटयुक्त मासु बिक्रीमा राख्छन्। खसीको भनेर बाख्राको मासु बिक्री गरिएका उदाहरण त प्रशस्त छन्। त्यसबाहेक, अत्यधिक बोसो, सोडा खुवाएर काटिएका खसीको मासु, कुखुराको मासुमा अत्यधिक एन्टिबायोटिक र राँगाको भनेर भैंसीको मासु बिक्री गर्ने विकृति पनि सामान्यझैं हुन थालेको छ। कुखुरा र राँगाको मासुमा अफ्लाटोक्सिन नामक हानीकारक ढुसी बारम्बार भेटिने गरेको छ, सरकारी टोलीको अनुगमनका क्रममा।

नापतौलमा गडबडी

दशैंमा मुलुकको समग्र अर्थतन्त्र नै चलायमान हुने गर्छ। व्यापक खरिद-बिक्री हुने भएकाले व्यापारीले नापतौलमा घटबढ गराएर पनि सामान बिक्री गर्ने गर्छन्।

फलफूल, चामल, मसला, दाल, गेडागुडी आदिमा पनि नापतौलको गडबडी हुने प्रशस्त उदाहरण छन्। पाँच ग्राम मात्र ठगी गर्न सफल भएका व्यापारीले लाखौं कमाउँछन्।

उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कार्यकारी निर्देशक योगेन्द्र गौचनका अनुसार ६ महिनासम्म म्याद भएका सामानहरूलाई सेल वा अफर अथवा सिजन सकिन लागेको कपडाको खरिदबिक्री गर्दा कारवाही गर्न कानूनले दिँदैन। तर, म्याद सकिएका र नक्कली सामान बिक्री गरेको गुनासो आए कारवाही गर्न सकिने उनी बताउँछन्।

नापतौल मेसिन अद्यावधिक गरे/नगरेको परीक्षण गर्ने गरिएको छ, अनुगमनका क्रममा। दशैंमा अनुगमन व्यापक बनाउने तयारी रहेको गौचन बताउँछन्। तर, गौचनले भनेजस्तो अनुगमन बजारमा पुग्दा प्रभावकारी रहेको पाइँदैन।

सरकारसँगै उपभोक्ता आफैं पनि जागरूक हुन आवश्यक रहेको उपभोक्ता मञ्चका सचिव तिमिल्सिना बताउँछन्। उजुरी गर्ने बानीको विकास गर्न सके व्यापारी कारवाहीमा पर्ने त्रासका कारण विकृत अभ्यासतर्फ नलाग्ने उनको बुझाइ छ। आफूले खरिद गरेको सामानको बिल-विजक भए/नभएको हेर्ने बानीको विकास उपभोक्तामा भए पनि यस्तो विकृति कम हुने तिमिल्सिनाको ठम्याइ छ।

‘राइट टु चुज’ र ‘राइट अफ कन्जुमर’ को अधिकार उपभोक्ता संरक्षण ऐनले दिएको छ। ‘उपभोक्तामा आफू बजारको राजा हुँ भन्ने आभास हुनुपर्छ,’ तिमिल्सिना भन्छन्, ‘र, उनीहरूले व्यापारीलाई बजार आफ्नो मर्जीमा मात्र चल्न सक्ने आभास दिलाउनुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्