काठमाडौं- यही वैशाख १० गते आइतबार तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। गत मंसिर ४ गते देशभर निर्वाचन भएकोमा विभिन्न कारणले ३ क्षेत्र खाली हुन पुगेकाले उपनिर्वाचन हुन लागेको हो।
तीनै क्षेत्रमा उम्मेदवारी मनोनयनको प्रक्रिया सकिएर उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छन्। मतदाताको घरदैलो, कोठाचोटा र खेतबारीसम्मै पुगेर उनीहरु हात जोडिरहेका छन्।
उपनिर्वाच हुन लागेका तीनै क्षेत्रमा रोचक प्रतिस्पर्धा छ। रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेका कारण खाली भएको बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव उठेका छन्। उनलाई सत्ता गठबन्धन दलहरुको समर्थन छ। त्यहाँ कांग्रेस र माओवादीले उम्मेदवार नै उठाएनन्।
गत मंसिरको निर्वाचनमा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादव चोरबाटोबाट संसद् छिर्ने दाउ हेरिरहेका थिए। त्यसका लागि उनले गठबन्धनमा उपराष्ट्रपति मागे र पाए पनि। त्यसपछि यादवले आफ्नो पार्टीबाट निर्वाचित एकमात्र प्रत्यक्ष सांसद रामसहायलाई उपराष्ट्रपति अफर गरे। रामसहायले अध्यक्षको अफर स्वीकारे र संसद् भवन त्यागेर बहादुर भवन प्रवेश गरे। यसरी बारा-२ खाली हुन पुग्यो र उपेन्द्र आफ्नो भाग्य अजमाउँदैछन्।
चाखलाग्दो कुरा त के छ भने यो निर्वाचनमा पनि उनका लागि जनमत पार्टी नै मुख्य तगारो छ। उपेन्द्रलाई हराउन 'मिसन बारा-२' नै चलाइरहेको जनमतबाट बलिया उम्मेदवार खडा छन् मैदानमा। गत निर्वाचनमा रामसहायसँग झिनो मतले पराजित शिवचन्द्र कुशवाहा उपेन्द्रलाई हराएर संसद् छिर्न पसिना बगाइरहेका छन्।
यी दुईलाई लडाएर बाजी मार्ने दाउमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि उत्तिकै भिडिरहेका छन्। सेवामा रहँदा सोही क्षेत्रमा राम्रो काम गरेर चर्चा कमाएका खरेललाई धेरै मतदाताले चिनेका पनि छन्। उनी आफैंले खोलेको पार्टी छोडेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बजाउँदैछन्। एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल पनि त्रिपक्षीय भिडन्तको फाइदा उठाउने दाउमा छन्।
उपनिर्वाचन हुन लागेको अर्को क्षेत्र हो चितवन-२। गत निर्वाचनमा भारी मतका साथ विजयी भएका रवि लामिछानेको पद नागरिकता विवादका कारण गएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। रवि पुन: त्यही क्षेत्रबाट संसद् छिर्न भिडिरहेका छन्। गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ जितको खोजीमा छन् भने एमालेले युवा नेता रामप्रसाद न्यौपानेलाई मैदानमा उतारेको छ। त्यहाँ पनि निर्वाचनको माहोल रोचक छ।
अब लागौं तनहुँ-तिर। त्यहाँबाट निर्वाचित रामचन्द्र पौडेलले शीतल निवासको यात्रा तय गरेपछि एकजनालाई संसद् छिर्ने अवसर जुटेको हो। कांग्रेसबाट निर्वाचित पौडेलको ठाउँमा कांग्रेसकै उम्मेदवारलाई जिताउन पार्टी लागिपरेको छ। तनहुँ-१ का लागि कांग्रेसबाट एक दर्जन आकांक्षी थिए। ती सबैलाई पाखा लगाउँदै गोविन्द भट्ट्रराईले टिकट हात पारे। भट्टराईलाई जिताउन अहिले सिंगो पार्टी लागिपरेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत फिल्डमै खटिएका छन् भने केन्द्रमा सभापति शेरबहादुर देउवासमेत लागेका छन्।
तनहुँ-१ किन पनि बढी रोचक छ भने त्यहाँ भर्खरैमात्र कांग्रेस छोडेका युवा नेता घण्टी चुनाव चिन्ह अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा छन्। कांग्रेस उम्मेदवारलाई उनैले टक्कर दिने आकलन छ। गत मंसिरको निर्वाचनमा टिकटका लागि दौडधुप गरेका तर हात नलागेर थन्किएका अर्थविद् डा. स्वर्णिम वाग्ले अहिले रुखको छहारी त्यागेर घण्टी बजाउँदै हिँडिरहेका छन्। 'डेलिभरी दिने हुटहुटी' का कारण अर्को चुनाव पर्खिन नसक्ने भन्दै कांग्रेस छोडेका वाग्लेलाई हराउन कांग्रेस लागेको छ अहिले।
त्यसो त चितवन-२ मा पनि कांग्रेसका उम्मेदवार छन् तर पार्टीको प्राथमिकता तनहुँमा देखिएको छ। पूर्वकांग्रेस र राम्रो अर्थशास्त्रीको छवि बनाएका वाग्लेलाई रास्वपाले पार्टी प्रवेश गराउँदै तनहुँ-१ पठाएपछि कांग्रेस उक्त क्षेत्रमा बढी सक्रिय बनेको हो।
चैत १९ मा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई निर्वाचन कमाण्डरका रुपमा खटाउने निर्णय गरेको थियो। तनहुँ-१ मा गगनलाई र चितवन-२ शर्मालाई पठाइएको थियो।
तनहुँ पुगेर गगनले स्वर्णिमविरुद्ध आगो ओकले। भाषणमा थापाले नाम त लिएनन्। तर 'मैले विदेशमा बसेर यो गरेर आएको, यत्तिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ' भन्दै थापाले भने, 'मैले त जागिर नखाएको, तिमीले त खाएर छोडेर आएको। मलाई त भन्न मन लाग्छ, तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो। म त त्यो बेलामा सडकमा लडेर बसेको हो, छातीमा ढुंगा खाएर बसेको हो। विदेश जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन।' उनले घुम्दै घुम्दै आएको टुरिस्ट उम्मेदवार समेत भने वाग्लेलाई।
स्मरण होस्- वाग्लेले कांग्रेस छाड्दा अन्तिम सम्बोधन सन्देश लेखेका नेताहरूमध्ये एक थिए, गगन। कांग्रेसमा रहँदा वाग्ले गगन नजिक मानिन्थे। थापा वाग्लेलाई निकै रुचाउँथे। कांग्रेसभित्र अघि बढाउन चाहन्थे। उनका नजरमा सम्भावना बोकेका विज्ञ थिए वाग्ले। गत आम चुनावमा गगन काठमाडौंको आफ्नो निर्वाचन क्षेत्र वाग्लेका निम्ति छाड्न समेत तयार भएको विवरण सार्वजनिक भएका थिए। यतिबेला उनै स्वर्णिमलाई पराजित गर्न गगन खटिएका छन्।
चितवनमा खटिएका अर्का महामन्त्री विश्वप्रकाश पनि तनहुँ पुगे र कांग्रेस उम्मेदवारलाई जिताउन कुनै असर बाँकी नराख्न कार्यकर्तालाई निर्देशन दिए। चैत २८ मा दमौली पुगेका शर्माले भने, 'तनहुँ १ मा पार्टीका तर्फबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्नुहोला।' पार्टीमा हुन सक्ने असन्तुष्टिलाई थाँती राखेर एकढिक्का भएर लागे विजय सम्भव रहेको महामन्त्री शर्माको भनाइ थियो।
अहिले अर्का युवा नेता तथा काठमाडौं-५ का सांसद प्रदीप पौडेल तनहुँ पुगेका छन्। केन्द्रीय सदस्य प्रकाश स्नेही, नेताहरू रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, युवराज पाण्डे, शिव रिमाललगायत युवा नेताहरु पनि उपनिर्वाचन प्रचारप्रसारमा खटिने भएका छन्। उनीहरूले सोमबार काठमाडौंमा छलफल गरेर उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्।
त्यसो त तनहुँ-१ कांग्रेसको बलियो पकड क्षेत्र हो। रामचन्द्र पौडेल गत निर्वाचनमा २५ हजार ३६१ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत ल्याएका थिए। उनीहरूबीच ५ हजार ३८८ मतान्तर थियो। कांग्रेसका बागी गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याएका थिए। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए।
कांग्रेसका लागि तनहुँ-१ मा वाग्लेमात्र नभई कांग्रेसको कारबाहीमा परेका नेता गोविन्दराज जोशी पनि अप्ठ्यारो बनेका छन्। अघिल्लो निर्वाचनमा बागी उठेर राम्रै मत ल्याएका जोशीको कारबाही त फुकुवा भइसकेको छ तर उनले त्यसलाई नाटकको संज्ञा दिँदै कांग्रेस उम्मेदवारलाई सहयोग नगर्ने घोषणा गरेका छन्। भ्रष्टाचारको आरोप लागेका जोशी कुनै बेला केन्द्रीय राजनीतिमा प्रभावशाली नेताको रुपमा चिनिन्थे।
अहिले पनि जिल्लामा उनको प्रभाव कायमै रहेको ठानिन्छ। कांग्रेसले कारबाही गर्नुपूर्व पार्टीभित्र उनको पकड रहँदै आएको थियो। बागी उठेपछि उनलाई पार्टीले कारबाही गरेकोमा १९ चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनको कारबाही फुकुवा गरिसकेको छ। कांग्रेसले कारबाही फुकुवा गरेपछि उनले उक्त निर्णय हास्यास्पद भएको अभिव्यक्ति दिएका थिए।
कारबाही फुकुवाको भोलिपल्टै उनले वक्तव्य जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवा झुण्डले माफी माग्नुपर्ने बताएका थिए। उनले कांग्रेसको त्यो बैठकले आफ्नो कारबाही फुकुवा नगरी भ्रममात्र छरेको दाबी गरेका थिए। कांग्रेस उम्मेदवारलाई जोशीले सहयोग नगर्ने भएपछि सभापति देउवाले उनका छोरा दीपकराज जोशीलाई आफ्नो निवासमा बोलाएर कुराकानी गरे। २७ चैतमा उनले दीपकसँग भेट गरेका हुन्। भेटमा उनले जोशी परिवार हालसम्म तटस्थ रहेको जानकारी देउवालाई गराएका थिए।
चुनाव नै प्रभाव पार्न सक्ने शक्ति देखेपछि कांग्रेसले मनोनयन दर्ताको मुखैमा जोशीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। तर, निलम्बन गरी कारबाही गरेको पत्र आफूले नपाएको जोशीको दाबी छ। पाँच वर्षअघि गरेको निलम्बन अहिले फुकुवा गर्दा जोशी समूहले खण्डन गर्दै चुनावी रणनीतिमात्रै रहेको बताएको छ।
गोविन्दका छोरा दीपकराजले प्याकेजमा डिल नगरी पार्टीमा नफर्किने बताएपछि उम्मेदवारी दर्ताका क्रममा तनहुँमा नै रहेका कांग्रेस महामन्त्री गगनले उनीसँग वार्ता गरेका थिए। महामन्त्रीसँगको संवादको क्रममा दीपकले आफ्ना शर्तहरू सुनाएका थिए। त्यहाँ उनले 'प्याकेजमा डिल भए कांग्रेसलाई सघाउन र पार्टीमा फर्किन कुनै समस्या नरहेको' सन्देश महामन्त्री थापामार्फत कांग्रेसलाई सुनाएका थिए। त्यही कुरा उनले कांग्रेस सभापति देउवासामु पनि राखेका छन्।
जोशी समूहको तटस्थता र घण्टी बजाउँदै घरघर डुलिरहेका वाग्ले कांग्रेस उम्मेदवार भट्टराईलाई भारी पर्ने देखिएका छन्। त्यसैले त कांग्रेसको फोकस तनहुँ-१ मा छ। कतिपयले यसलाई स्वर्णिम हराउ अभियान पनि भनेका छन्।
गत निर्वाचनमा काठमाडौं-६ बाट हार बेहोरेका पूर्व आईजीपी सर्वेन्द्र खनाल पनि च्याँखे थापिरहेका छन्। उनलाई एमालेले त्यहाँ पठाएको हो।