बिहीबार, साउन ७, २०८३

'विश्व व्यापार युद्ध नेपाललाई चुनौती'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पछिल्लो समय देखा परेको ठूला देशबीचको विश्व व्यापार युद्धले नेपालजस्ता साना मुलुकको आर्थिक व्यवस्थापनमा चुनौती थपिएको छ।

इन्डोनेसियाको बालीमा जारी विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकअन्तर्गत दक्षिणपूर्वी एसिया क्षेत्र मतदान समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व व्यापार युद्धको अवस्थाले नेपाललगायत साना मुलुकका लागि समष्टिगत आर्थिक व्यवस्थापन गर्न चुनौती सिर्जना गरेको बताए। 

यस अवस्थाले मूल्य नियन्त्रण गर्ने मौद्रिक नीतिको औजार तथा प्रभावकारिता कमजोर हुँदै गएकाले त्यसतर्फ विश्व समुदायको ध्यान जानु जरुरी रहेको उनको धारणा थियो।

 ‘दक्षिण एसियाको आर्थिक वृद्धिदर विश्वमै उच्चतम छ,’ उनले भने, ‘त्यसबाट विश्व अर्थतन्त्रमा सिर्जना भएको अवसर र योगदानको सही चित्रण हुन आवश्यक छ।’ 

वित्तीय क्षेत्रमा प्रयोगमा आएका नवीनतम प्रविधि ‘फिनटेक’ले ल्याएको चुनौती र अवसरलाई व्यवस्थापन गर्न नियमनकारी निकायहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। 

बहुनियामक निकायहरूबीच समन्वय हुन नसके वित्तीय अराजकता निम्तिनेतर्फ सबै सचेत हुन उनले आग्रह गरे। 

अर्थमन्त्री डा. खतिवडाले ठूला राष्ट्रहरूको द्विपक्षीय सहमतिले ‘ग्लोबल गभर्ननेन्स’ गर्ने अभ्यासबाट साना राष्ट्रहरूको आवाज सही ढंगबाट प्रतिनिधित्व नहुनेतर्फ सहभागी मुलुकहरूको ध्यानाकर्षण गराएका थिए। बहुपक्षीय संस्थाहरूको भूमिका कमजोर हुन लागेकोतर्फ उनले संकेत गरे। 

शुक्रबार नै बहुपक्षीय लगानी प्रत्याभूति संस्थाको प्रतिनिधि मण्डल र नेपाली पक्षबीच भएको बैठकमा नेपालमा वैदेशिक निजी लगानी प्रवर्द्धन गर्न संस्थाले थप परियोजनाहरूमा लगानी प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्