काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंमा विज्ञ सम्मेलन गर्ने भएको छ । गैरआवासीय नेपाली दिवस तथा साधारणसभाको अवसरमा संघले असोज २६, २७ र २८ गते काठमाडौंमा विज्ञ सम्मेल गर्ने भएको हो ।
संघका अध्यक्ष भवन भट्टले पत्रकार सम्मेलन गरी विज्ञ सम्मेलनको बारेमा जानकारी गराएका थिए । ‘संसारभर नेपालका विज्ञहरू रहेका छन् । अमेरिकामा मात्रै दुई हजार पाँच सय डाक्टर गैरआवासीय नेपाली रहेको अवस्थामा संसारभर रहेका नेपाली विज्ञको सम्मेलन नेपालमा गर्न थालेका हौँ’ संघका अध्यक्ष भट्टले भने, ‘नेपाललाई समृद्ध बनाउनका लागि यो महत्वपूर्ण अभियान हुने हाम्रो अपेक्षा छ ।’
संघका उपाध्यक्ष कुमार पन्तोले गैरआवासीय नेपाली संघ स्थापनाको उद्देश्यल नै विदेशमा कमाएको पुँजी र ज्ञान नेपालमा भित्र्याउनु भएको भन्दै विज्ञ सम्मेलनमा महत्व प्रष्ट्याएका थिए । सम्मेलनमा ३५० संख्यामा विज्ञ काठमाडौंमा आउने उनको भनाइ छ ।
सम्मेलनमा के हुदैछ
संघकाअनुसार सम्मेलनको क्रममा १६० वटा कार्यपत्र प्रस्तुत हुने छन् । १९ सत्रमा प्रस्तुत गरिने उक्त कार्यपत्रमा ८० जनाले टिप्पणी गर्ने छन् । शनिबार नीतिगत समस्या र समधानका विषयमा ४ वटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै आइतबार कृषि, जलविद्युत, पर्यटन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची राखिएको छ । प्रस्तुत कार्यपत्र र त्यसबाट आएको निचोडका विषयमा छुट्टै प्रतिवेदन बनाइने संघले जानकारी दिएको छ ।
गैरआवासीय नेपाली संघको कार्यसमितिको दुई वर्षको कार्यकाल रहने गरेकोमा एक कार्यकाल महाधिवेशन नेपालमा र अर्को वर्ष साधारणसभा विदेशमा गर्ने गरिएकोमा यो वर्ष भने साधारणसभा पनि नेपालमा राखेर पहिलो पटक विज्ञ सम्मेलन गर्ने तयारी गरिएको छ ।
विधानसभा
एनआरएनएले विधानसभा पनि राखेको छ । अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका देशमा विधानका विषयमा छलफल गरेको एनआरएनएले छलफलमा आएका सुझावसहित विधान संशोधनको विषयमा छलफल गरिनेछ ।
संशोधनका लागि राखिने विधानमा हाल तीन जना उपाध्यक्ष रहेकोमा ५ जना प्रस्ताव गरिएको छ । जसमा वैदेशिक रोजगारी, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै संघको कार्यसमितिको कार्यकाल तीन वर्ष पुर्याउने विषय पनि छलफलको अगाडी बढाइने जनाइएको छ ।
भट्टले के गरे एक वर्षमा
भवन भट्टको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको एक वर्ष भएको छ । संघकाअनुसार कार्यसमिति आउँदा लाप्राक बस्ती निर्माणको काम २२ प्रतिशत सकिएकोमा अहिले ७० प्रतिशत सकेको जनाएको छ । आगामी वैशाख १२ गते हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।
संघको नेपालस्थित भवन निर्माणको काम एक वर्षअघि ४० प्रतिशत सकिएकोमा अहिले ९० प्रतिशत काम पूरा भएको छ बिहीबार उद्घाटन हुने संघका अध्यक्ष भट्टले जानकारी दिएका छन् ।
संखमूल पार्क निर्माणको काम ३० प्रतिशत मात्रै भएको अवस्थामा उक्त काम सम्पन्न गरि बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने भएको छ । तीन करोड लागतमा पार्क निर्माण गरिएको हो ।
गैरआवसीय नेपाली संघकोतर्फबाट १० अर्बको कोष स्थापनमा गर्ने विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायतका संवन्धीत सरोकार निकायहरूसँग छलफल गरी काम अघि बढेको संघको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४