आइतबार, जेठ ३, २०८३

करिब डेढ खर्ब पुग्यो  वैदेशिक ऋण तथा अनुदान परिचालन

सरकारले चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे २४ अर्ब अनुदान प्राप्त गरेकाले २ खबै ४० अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य पूरा नहुने संकेत।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– अर्थ मन्त्रालयले चालू वर्षको पहिलो आठ महिनामा वैदेशिक ऋण तथा अनुदान परिचालन १ खर्ब ३८ अर्ब ५६ करोड पुगेको जनाएको छ। मन्त्रालयले ऋण र अनुदान गरी सो रकम बराबरको वैदेशिक सहायता परिचालन भएको बताएको हो। मन्त्रालयका अनासार यस अवधिमा १ खर्ब १४ अर्ब वैदेशिक ऋण परिचालन भएको छ।

National life

विश्व बैंक, एसियाली विकास बैंक, जाइकालगायतका संस्था नेपाललाई अनुदान र ऋण दिनेमा अग्र स्थानमा छन्।सहुलियतपूर्ण ऋण दिने दातामध्ये सबैभन्दा धेरै विश्व बैंकले तीन वटा आयोजनाका लागि ६५ अर्ब ५० करोड ऋण उपलब्ध गराएको छ। यी आयोजनामध्ये ग्रिन रेजिलियन्ट एन्ड इन्कुल्सिभ डेभलपमेन्ट (ग्रीड)मा १२ अर्ब ७५ करोड ऋण दिएको छ, जुन गत भदौमै सहमति भएको आयोजना हो।

यस्तै, विश्व बैंकबाट एक्सेलेरेटिङ नेपाल रिजनल ट्रान्सपोर्ट एन्ड ट्रेड कनेक्टिभिटी (एक्सेस)मा २७५ मिलियन अमेरिकी डलर (३४ अर्ब ९६ करोड) ऋण दिइएको छ भने डिजिटल नेपाल एक्सेलेरेसनमा १४० मिलियन अमेरिकी डलर (१७ अर्ब ७९ करोड) ऋण प्राप्त भएको छ। यो ऋणका लागि गत असोजमा अर्थ मन्त्रालयसँग विश्व बैंकको सम्झौता भएको हो। 

दोस्रो धेरै ऋण सहायता दिनेमा एडीबी रहेको छ। एडीबीले नेपाललाई चालू आवमा ३५ अर्ब ८७ करोड ऋण उपलब्ध गराएको छ।

यसमा नट्स एन्ड फ्रुट्स हिल्ली एरिया प्रोजेक्टमा ६० मिलियन अमेरिकन डलर (७ अर्ब ७९ करोड) ऋण प्राप्त छ। यस्तै, स्कुल एजुकेसन सेक्टर प्लान आयोजनामा २ सय मिलियन डलर (२६ अर्ब ५१ करोड) ऋण प्राप्त भएको मन्त्रालयले जनाएको छ।

चालू आर्थिक वर्षमा सरकारले २ खर्ब ४० अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिए पनि पूरा नहुने देखिन्छ।सरकारले चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे २४ अर्ब अनुदान प्राप्त गरेको छ। नेपालले द्विपक्षीय तथा बहुपक्षीय साझेदारसँग यो अनुदान प्राप्त गरेको हो। धेरै अनुदान उपलब्ध गराउनेमा कोरियन अन्तर्राष्ट्रिय सहायता संस्था (कोइका) र जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) रहेका छन्। 

जाइकाले यस अवधिमा २ अर्ब ३५ करोड र कोइकाले २ अर्ब अनुदान दिएका छन्। युरोपियन युनियनले ३ अर्ब ३७ करोड अनुदान दिएको छ। सरकारले चालू आर्थिक वर्षमा अनुदानबाट ५५ अर्ब ४५ करोड परिचालन गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: Mar 21, 2023| 14:49 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्