बुधबार, चैत ८, २०७९

शून्य समयमा सभामुखमाथि नै प्रश्न, सांसदले उठाए यस्ता विषय

बैठक सुरु हुनेबित्तिकै शून्य समय सुरु हुन्छ र यो समयमा एकजना सांसदले एक मिनेट बोल्न पाउँछन्। एक मिनेटपछि माइक काटिन्छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। लामो समयपछि आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा धारणा राखेका हुन्। बैठक सुरु हुनेबित्तिकै शून्य समय सुरु हुन्छ र यो समयमा एकजना सांसदले एक मिनेट बोल्न पाउँछन्। एक मिनेटपछि माइक काटिन्छ।

National life insurance

आजको शून्य समयमा सांसदहरुले स्ववियु निर्वाचन, किसानले मल नपाएको, पत्रकारबारे सभामुखले दिएको अभिव्यक्ति आदिबारे बोलेका थिए।  

नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्याम्पसमा एमालेको भ्रातृ संस्था अनेरास्ववियूका कार्यकर्तामाथि आक्रमण भएको बताए। उनले  आज भइरहेको स्ववियु निर्वाचनका क्रममा अनेरास्ववियुका कार्यकर्तामाथि आक्रमण भएको बताएका हुन्।

उनले भने, ‘पाथीभरा क्याम्पसमा अनेरास्ववियुमाथि आक्रमण भएको छ। त्यहाँको निर्वाचनमा धाँधली भएको छ। क्याम्पस गेटमा कुटपिट भएको छ अनेरास्ववियुका कार्यकर्तामाथि। फर्जी परिचयपत्र बनाएर मतदान भएको छ। बजार तनावग्रस्त भएको छ। सत्ता पक्षले शक्तिको दुरुपयोग गरेर स्ववियु निर्वाचनलाई प्रभावित पारेको छ।’ भट्टराई ताप्लेजुङका जनप्रतिनिधि हुन्।

नेकपा एमालेकै महेश बर्तौलाले यो कसको सरकार हो भन्दै प्रश्न उठाए। बर्तौलाले किसानलाई दिँदै आएको अनुदान काट्ने, मूल्यवृद्धि चरम अवस्थामा पुग्दा पनि अझ मूल्य वृद्धि गर्ने सरकारले कसको प्रतिनिधित्व गर्छ भन्दै प्रश्न उठाएका हुन्।

worldlink

'यो कसको सरकार हो ? कसका लागि काम गरिरहेको छ? नेपालका किसानहरूलाई एक बोरा मल समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको छ। कहिलेसम्म नेपाली जनताले यो अवस्थामा बसिरहनुपर्ने हो,' बर्तौलाले भने।  उनले भूमिहिन सुकुम्बासीले जग्गाधनी प्रमाणपत्र पाउने मितिसमेत थाहा नभएको भन्दै उनीहरूले कहिलेसम्म जग्गाधनी प्रमाणपत्र पाउँछन् भनेर प्रश्न गरेका थिए।

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जुरे पहिरोपीडितलाई नगद रकम उपलब्ध गराउन माग गरे। ०७१ साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा पहिरो गएको थियो। पहिरोपीडितका लागि संकलित दुई करोड ४४ लाख ६४ हजार ६५७ रुपैयाँ ८५ पैसा जिल्ला विपद् व्यवस्थापन समितिको खातामा राखिएको उनले बताए।

०७२ मा गएको विनाशकारी भूकम्पमा जुरेवासी पनि पीडित भएकाले राहत पाएका थिए। जुरेपीडितका लागि संकलित रकमको खाता खुला गरी नगद वितरण गर्न उनको माग छ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पत्रकारका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सभामुख देवराज घिमिरेलाई प्रश्न गरे। बैठकमा सांसद खतिवडाले सभामुख नै आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहेको र त्यो अभिव्यक्तिले प्रेस स्वतन्त्रतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सोच्नुपर्ने बताए।

उनले भने, 'सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिका प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस्।' सभामुख घिमिरेले नेपाल पत्रकार महासंघका पदाधिकारीसामु आफ्नै कार्यकक्षमा शुक्रबार पत्रकारहरूका विषयमा दिएको अभिव्यक्ति विवादित भएको थियो। उक्त अभिव्यक्तिको नेपाल पत्रकार महासंघ, संसदीय मामिला पत्रकार समाजलगायतले विरोध गरेका थिए। सभामुखको उक्त विवादित अभिव्यक्तिमाथि संसद्‌मा नै प्रश्न उठेको हो।

जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले नागरिकता विधेयकको विषयमा जानकारी माग गरे। 'जन्मसिद्ध नागरिकका लाखौं सन्तानले नागरिकता नहुँदा दैनिक जीवनयापनका कामसमेत गर्न नपाउने अवस्थामा जीवन बिताउनुपरेको छ। संसद्ले पारित गरेर पठाएको नागरिकता विधेयक कहाँ छ? त्यो विधेयक कहाँ कुन अवस्थामा छ। यसको जानकारी सदनलाई गराउन माग गर्दछु,' उनले भने।

अघिल्लो संसद्ले पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी थिइन्। त्यसपछि दुवै सदनले पुन: पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले जारी र फिर्ता नगर्दा जन्मसिद्ध नागरिकताका सन्तानले पाउने नागरिकता र गैरआवासीय नेपालीले पाउने नागरिकता नै अन्योलमा छ।

नेकपा एमालेका सांसद रघुजी पन्तले खेलाडीसँग अपेक्षा गर्ने तर सरकार उनीहरुका लागि आवश्यक पूर्वाधार बनाउन भने उदासिन रहने गरेको बताए। गत साता क्रिकेटको राष्ट्रिय टिमले विश्वकप क्वालिफाएरमा छनोट भएको सन्दर्भलाई उल्लेख गर्दै पन्तले उक्त दाबी गरेका हुन्।

‘त्यो चितवनको स्टेडियम सरकारले तुरुन्तै लिनुपर्‍यो र निर्माण सुरु गर्नुपर्‍यो। टियूको स्टेडियम विस्तार गर्नुपर्‍यो र मूलपानीको बनाउनुपर्‍यो। खेलाडीहरुसँग अपेक्षा गर्ने, जितेको बेला १-२ लाख पुरस्कार घोषणा गर्ने अनि अघिपछि कानमा तेल हालेर बस्ने,’ पन्तले भने, ‘खेलाडी जन्माउने मुख्य कुरा भनेको स्टेडियमहरु, आधारभूत संरचनाहरु भने छैनन्।’

शून्य समयपछि नेमकिपाका सांसद सांसद प्रेम सुवालले सभामुखले बोलेको विषय सार्वजनिक महत्वको विषय भएकाले छानबिन समिति गठन गर्नुपर्ने बताए। ‘सभामुखज्यूले बोलेपछि सार्वजनिक महत्वको हुन्छ। यसबारे प्रधानमन्त्रीज्यूले तत्काल छानबिन गरेर कारबाही गर्नुपर्ने हुन्छ। होइन भने तत्काल संसद्ले छानबिन समिति बनाउनुपर्छ। यस्ता विषय हामीले संसद्‍मा उठाउने हो,’ सुवालले भने।

सत्ता पक्षको बेन्चमा कांग्रेस
नेपाली कांग्रेस आजदेखि संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभा बैठकमा सत्ता पक्षकै बेन्चमा बसेको छ। आज आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्देशनअनुसार संसदीय दलको बैठकले सत्ता पक्षकै बेन्चमा बस्ने निर्णय गरेको थियो।

आजको बैठकमा कांग्रेस सत्तापक्षकै बेन्चमा बसेको हो। यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच को प्रतिपक्षीको बेन्चमा बस्ने भन्ने विषयमा विवाद थियो। कांग्रेसले आजैमात्र प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय पनि गरेको थियो।

प्रकाशित: Mar 19, 2023| 01:57. 00 आइतबार, चैत ५, २०७९

थप समाचार

 सरकारले अयोग्य लडाकुलाई पैसा दिन आजदेखि प्रक्रिया थाल्ने

सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया आजदेखि अघि बढाउने भएको छ।

भैरहवा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

भैरहवा क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ।

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्।

आज १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ। केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु...

उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरु गर्ने भएको छ।