सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको मूल्यमा उच्च रेकर्ड, पुग्यो तोलाको १ लाख १० हजार

सुनको मूल्यमा उच्च रेकर्ड, पुग्यो तोलाको १ लाख १० हजार

यसअघिको उच्च मूल्य गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ थियो।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ। आज आइतबार एकै दिन २९ सयले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।

गत शुक्रबार प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। आजका लागि सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ तोकिएको छ।

यसअघिको उच्च मूल्य गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा नेपालमा पनि असर परेको सुनचाँदी व्यवसायी बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कारोबार बन्द हुँदा सुनको मूल्य बिहीबारको तुलनामा ३.४७ प्रतिशतले बढेर प्रतिऔंस १९८८ डलर कायम भएको थियो, जसको प्रभाव आइतबार नेपाली बजारमा परेको हो।

रुस र अमेरिकाबीच थप द्वन्द्व बढ्ने संकेतले सुनको मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमा द्वन्द्व बढ्ने संकेत देखिँदा सुनको माग बढ्न जान्छ र लगानीकर्ता मात्रै नभई राज्यले नै सुनको माग बढाउँछन्। यसले स्वाभाविक रुपमा मूल्य बढ्छ।

हालैमात्र अमेरिकाका दुई बैंक बन्द भएयता सुनमा लगानीकर्ताको विश्वास बढ्न गई माग बढेकाले मूल्य बढ्दै गएको थियो। पछिल्लो समय स्वीट्जरल्याण्डको बैंकमा पनि समस्या देखिएको समाचार बाहिरिएपछि सुनको मूल्य अझ उकालो लाग्न पुगेको हो। 

प्रकाशित: Mar 19, 2023| 11:04 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्