आइतबार, जेठ ३, २०८३

उद्योग वाणिज्य महासंघ चुनाव: अञ्जनको टिममा को कस्ता ?

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनको संघारमा छ।

National life

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको साधारणसभा यही चैत २८ र २९ गते हुने तय छ। सोही साधारणसभाले नयाँ नेतृत्वको कार्यसमिति चयन गर्नेछ। अहिले वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल साधारणसभापछि स्वतः अध्यक्ष हुनेछन्।

त्यसपछिको अध्यक्षका लागि अहिले वरिष्ठ उपाध्यक्षमा दौडधुप छ। महासंघमा वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघई, दिनेश श्रेष्ठ र उमेशलाल श्रेष्ठ भिड्ने तयारीमा छन्। 

मंगलबार अञ्जन श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। उनको प्यानलमा वस्तुगत उपाध्यक्षतर्फ मनिषलाल प्रधान, एसोसिएसट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र जिल्ला-नगर उपाध्यक्षमा अरुण सुमार्गी उठ्ने भएका छन्।

मंगलबार बेलुका श्रेष्ठले पत्रकार भेटघाट गर्दै आफ्नो प्यानल सार्वजनिक गरेका हुन्। औपचारिक घोषणा भने केही दिनभित्रै गर्ने उनले जानकारी दिएका छन्। मनिषलाल महासंघका पूर्व ध्यक्ष महेशलाल प्रधानका छोरा हुन्। वस्तुगतका मुद्दामा नजिक रहेर काम गरेका मनिष बलिया उम्मेदवार मानिएका छन्। उनी अहिलेको कार्यसमिति सदस्यमा सक्रिय छन्। उनी ज्वेलरी क्षेत्रमा पनि आबद्ध छन्।

जिल्ला-नगर उपाध्यक्षका उम्मेदवार सुमार्गी सबैसँग मिल्न सक्ने र आफ्नो विषय प्रष्ट राख्‍न सक्ने व्वयसायी हुन्। उनी पनि जिल्ला-नगर उपाध्यक्षका लागि एक वर्ष अगाडिदेखि तयारी गरिरहेका थिए। सुमार्गी महासंघको पछिल्लो तीन कार्यकाल लगातार कार्यसमिति सदस्यमा जित्दै आएका छन्। उनी अहिले महासंघको कृषि समिति सभापतिसमेत छन्। मकवानपुरका व्यवसायी अजेयराज सुमार्गीका भाइ हुन् अरुण। 

एसोसिएट उपाध्यक्ष ज्योत्सना अघिल्लो कार्यकालमै उपाध्यक्षको उम्मेदवार बन्न चाहेकी थिइन्। तर, तयारी नपुगेको भन्दै उनी पछि हटिन्। पछिल्लो तीन कार्यकाल लगातार महासंघका लोकप्रिय मतसहित कार्यसमिति सदस्य जितेकी ज्योत्सना ज्वेलरी व्यवसायमा संलग्न छिन्।

हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक कम्पनी लक्ष्मी समूहका प्रबन्ध निर्देशक श्रेष्ठ महासंघमा अहिले वस्तुगत उपाध्यक्ष छन्। महासंघको राजनीतिमा डेढ दशकअघि प्रवेश गरेका उनीसँग उत्पादनमूलक उद्योगदेखि व्यापारको अनुभव छ। अञ्जन पोखराबाट अघि बढेका व्यावसायिक घराना लक्ष्मी ग्रुपका सदस्य हुन्। महासंघभित्रका बलिया समिति श्रम तथा रोजगार र उद्योग समितिका सभापति बनेर उनले आफ्नो दक्षता देखाइसकेका छन्। 

परिवारले सञ्चालन गरेको सानो मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसायिक यात्रा अहिले धेरै क्षेत्रमा फेलिएको छ। डेरी प्रोडक्ट, प्याकेजिङ उद्योग, अटोमोबाइल, डन्डी, स्टील हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ लक्ष्मी ग्रुप। अञ्जन साना उद्योगको विकासमा परिवार र आफ्नो ठूलो योगदान रहेको दाबी गर्छन्।

वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुअघि आफू झण्डै ६० जिल्ला घुमेको उनले बताए। 'ती जिल्लाका समस्याहरुलाई नजिकबाट बुझ्ने प्रयास गरें। मैले जिल्ला-जिल्ला पुगेर उद्योगी-व्यवसायीको समस्या बुझेको छु। अत्यन्तै पीडादायी अवस्था छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यी समस्यालाई सरकारका निकायले छिट्टै समाधानको प्रयास गर्नुपर्छ। निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार छ।’ 

प्रकाशित: Mar 15, 2023| 12:06 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्