आइतबार, जेठ ३, २०८३

मकै र गहुँ छाडेर कफी खेती

 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

अर्घाखाँचीको शितगङ्गा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन्। माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन्। 

National life

कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताए। मकैखेती र गँहुखेती गर्ने बारीमा अहिले खसर्काका महिलाले बारीभरी कफी लगाएको स्थानीय दुर्पता न्यौपानेले बताए। अरु खेतीमा भन्दा कफीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कफी खेतीमा लागेको उनको भनाइ छ। 

शीतगङ्गा–३ ठाडाका मित्रलाल बेल्वासेले दुई सय रोपनीमा १० हजारभन्दा बढी कफीका बिरुवा लगाएका छन्। भारतमा रोजगारी गर्दै आएका उनी गाउँ फर्किएर ठाडा र जुकेनामा जग्गा किनर कफी खेतीमा लागेका हुन्। अब थप पाँच हजार कफीका बिरुवा  लगाउने उनको योजना छ। 

अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामनाथ पाण्डेले बताए। आठ सय मिटरदेखि एक हजार ६०० मिटर सम्मको उचाइमा उत्पादन भएको कफी स्वादिलो मानिन्छ। 'यहाँको कफीको विदेशमा माग बढेको छ', पाण्डेले भने। 

अर्गानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ। किसानलाई बिरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिँचाइ टङ्कीलगाय कार्य तथा प्राविधिकरुपमा परियोजनाले सहयोग गर्दै आएको छ।  
 

प्रकाशित: Mar 13, 2023| 19:30 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्