शनिबार, साउन १२, २०८१

खानी इञ्जिनियर उत्पादन गर्दै काठमाडौं विश्वविद्यालय

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ। यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो।
    
देशभित्र खानी इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ। उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन सुरु गर्ने योजना रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताए।
उनले भने, 'देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरको अभाव देखिएको छ, त्यसका लागि स्नातक तहमा चार वर्षे भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङको अध्यापन सुरु गर्न लागेका हौँ ।' नेपालमा खानीजन्य उद्योगको विकास हुँदै गए पनि जनशक्ति भने अभाव हुँदै गएको थापाको भनाइ छ । 

triton college

'पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ, खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुनेछ,' उनले भने। उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० जना विद्यार्थीलाई अध्यापन गराउने छ । उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ ।
    
नेपालमा खानी इञ्जिनियरिङ विषयको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव छ । विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुंगा, कोइला, रातो माटो, ग्रेनाइट, सिङमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुवी र नीलमणि) रहेको छ । 

यस्तै केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो । 

केयूले दुई साता अघिमात्रै काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न सम्झौता गरेको थियो । सम्झौतामा गाउँपालिकाको ४, २ र १ वडामा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म चार महिनामाभित्र सुरङमार्ग अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख गरिएको छ । 
 

प्रकाशित: Mar 12, 2023| 21:00 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्