वीरगंज- शहरी क्षेत्रका बालबालिकाको लागी खेलकुद र मनोरन्जनका लागी पूर्वाधारको अभाव खट्किएको बेला महानगरपालिकाले बाल उद्यान संचालनमा ल्याएको छ।
एशियाली विकास बैंकको सहयोगमा वीरगंज महानगरपालिकाले ४ करोड ५० लाख रुपैयाँ खर्चेर हरिखेतान क्याम्पस नजिकै निर्मित बाल उद्यानलाई वीरगंज उद्यानको नामबाट संचालनमा ल्याएको हो। महानगर प्रमुख विजय कुमार सरावगीले शनिबार बिहान उद्यानको उद्घाटन गरेका छन्।
महानगर प्रमुख सरावगीले नगरवासीको लागी मनोरन्जन र स्वास्थ्य दुबैको लागी पार्क उपयोगी हुने बताए। उनले भने, 'पार्कमा थप पूर्वाधार निर्माण गरेर बालबालिकाको मनोरन्जनको लागी पर्याप्त सुविधा उपलब्ध गराउनेछौं।'
नगरको मुख्य ढल बगाउन प्रयोग हुँदै आएको माइराम पोखरीको अतिक्रमण हटाएर महानगरले १९ कठ्ठा क्षेत्रफलमा उद्यान निर्माण गरेको हो। यो पोखरी ४ बिघा क्षेत्रफलमा फैलिएको भएपनि महानगरले लामो समयसम्म चासो नदेखाउँदा १४ कठ्ठामा सीमित हुन पुगेकोमा पार्क निर्माणका क्रममा आंशिकरुपमा अतिक्रमण हटाइएपछि थप ५ कठ्ठा क्षेत्रफल बिस्तार हुन पुगेको हो।

उद्यानमा पानीको फोहोरा, खुल्ला मञ्च, वनभोज स्थल, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग स्थलको साथै प्रभात फेरी गर्न सकिने सुविधा समेत उपलब्ध गरेको मझौला शहर एकीकृत वातावरणी सुधार आयोजनाका अधिकृत शैलेन्द्र श्रेष्ठले जानकारी दिए। उनले मुख्य ढललाई ढलानले छोपेर भूमीगत बनाउँदै ढल र पोखरीको बाँकी जग्गामाथि आकर्षक पार्क निर्माण गरिएको बताए।
नगरको विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा र पोखरीको अतिक्रमण हटाएर हरियाली सहितको उद्यान बनाउने योजना रहेको नगर प्रमुख सरावगीले जानकारी दिए। रेलवे उद्यान, बौधिमाई, नगवा, भिस्वा, पिपरा, मुर्लीलगायतको स्थानमा महानगरको स्वामित्वमा रहेको सार्वजनिक स्थललाई स्वास्थ्य र मनोरन्जनको लागी उपयुक्त गन्तव्य बनाउने महानगरको योजना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४