काठमाडौं- भनिन्छ- हजार किलोमिटरको यात्रा पनि एक कदमबाट सुरु हुन्छ। अनि सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन, बरु जति पटक लडे पनि उठ्नु गर्वको कुरा हो। अर्को पनि भनाइ छ- निराशावादी व्यक्तिले हरेक अवसरमा कठिनाइ देख्छ र आशावादीले हरेक कठिनाइमा अवसर देख्छ। जित्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जित्दैनन्। यी चारै भनाइ भक्तपुरका अमृत थुयाजूको संघर्षसँग मेल खान्छन्।
अमृत भक्तपुरको मध्यमवर्गीय परिवारमा जन्मिए। सानो हुँदा जीवनमा यही गर्छु भन्ने कुनै लक्ष्य थिएन। बुबा स्कुलको पिएन। अमृतले पनि सरकारी स्कुलमा नै अध्ययन गरे। परिवारमा पढेलेखेका मानिस नभएका कारण उनलाई यही विषय अध्ययन गर भनेर कसैले सुझाएनन्। गणितमा राम्रो थिए। एसएलसीसम्मको अध्ययन सके। त्यसपछि उनले प्रविणता प्रमाणपत्र तहको अध्यन सुरु गरे। गणितमा राम्रो भएकाले शिक्षा संकाय रोजे।
ठिमी क्याम्पस भर्ना भएका उनले त्यहीँबाट उच्च शिक्षा अध्ययन गरे। ठिमी क्याम्पसमा अध्ययनका क्रममा साथीहरूको प्रेरणाले अमृत लोकसेवातर्फ आकर्षित भए। लोकसेवाको तयारी गर्न थाले। २०७४ सालबाट लोकसेवा तयारी गरेका उनले पहिलो प्रयासमै राष्ट्रिय अनुसन्धानमा नाम निकाले। तर, वैकल्पिकमा परे। त्यसपछि उनी पटक-पटक वैकल्पिकमा परे। कतिपटक त सिफारिस पनि भए। उनको उद्देश्य थियो शाखा अधिकृत हुने। जुन सपना १३औं प्रयासमा सफल भयो।
भनिन्छ जबसम्म समुन्द्रको किनार छाड्ने हिम्मत गरिन्न तबसम्म समुन्द्र पार नै गर्न सकिन्न। अमृतले शाखा अधिकृतमा सफलता प्राप्तिका लागि पटक-पटक आयोगको किनारा त छोडे तर ढोकामै पुगेर असफल हुन्थे। अर्थात् नाम निकालेर उनी थुप्रै पटक वैकल्पिकमा परे। तर, हिम्मत भने कहिले हारेनन्।
'२०७४ सालतिर राष्ट्रिय अनुसन्धान विभागको फर्म खुल्यो। साथीहरूसँग मैले पनि फर्म भरेँ। त्यसपछि लोकसेवाप्रतिको अभिरुचि बढेको हो। म गणितको विद्यार्थी। अनुसन्धान सहायकको पहिलो पेपर पास भइसकेपछि साथीहरूले लिखितको तयारी गर्न भनेर प्रेरित गर्नुभयो। त्यसपछि काठमाडौं गएर पुस्तक किनेर ल्याएँ। पहिलो पटक नै राष्ट्रिय अनुसन्धानमा नाम निस्किँदा एक नम्बर वैकल्पिकमा परेँ। दुग्ध विकास संस्थानको खासै तयारी नगर्दा पनि अनुसन्धानको तयारीले जनजातिमा नाम निस्कियो। म छनोट भएँ। लोकसेवा भन्ने थाहा नहुँदा नहुँदै पनि यता आकर्षित भएँ,' उनी अनुभव सुनाउँछन्।
उनलाई धेरैले राष्ट्रिय अनुसन्धान विभागमा सोर्सफोर्स चाहिन्छ भनेका थिए। उनलाई चाहिँ आफैँ एक दिन सफल हुन्छु भन्ने विश्वास थियो। त्यही विश्वासले उनले दुग्ध विकास संस्थानमा जागिर खाए। त्यसपछि खरदारमा परीक्षा दिए। जनजातिमा मात्र निस्कियो। उनलाई सबैभन्दा बढी आशा सोही परीक्षाबाट थियो। तर, उनी दुई नम्बर वैकल्पिकमा परे। त्यसले उनलाई निकै मर्माहत तुल्यायो। र, उनले त्यसपछि थप बलियो तयारी गरे।
तर, उनी लगातार चार पटक वैकल्पिकमा परे। त्यो बेला उनलाई निकै तनाव महसुस भएको थियो। 'मलाई यो समय बितेर जानेछ भन्ने लाग्थ्यो। कुनै दिन मेरो सुखद् दिन आउँछ भन्ने लाग्थ्यो। सोही आशाले मलाई प्रेरित गरिरहेको हुन्थ्यो,' उनले भने, 'पटक-पटक वैकल्पिकमा पर्दा तनाव नभएको होइन। तर, म निराश भइनँ। किनकि मलाई सफलताको किनारामा पुग्नुथियो। वैकल्पिक पर्दा निराश भइनँ। एक दिन सफल हुनेछु ठानेर आफूलाई बलियो बनाएर लगेँ। त्यसैले मलाई माथि उठाएको हो। म निराश भएको भए कमजोर भएर पछारिने थिएँ।'
सोर्सफोर्स थिएन। आर्थिक अवस्था मध्यम थियो। समात्ने लहरा र टेक्ने भूइँ भनेकै संघर्ष र आत्मविश्वासमात्रै थियो। जसको बलमा उनले १३औं प्रयासमा सफलता प्राप्त गरेका हुन्। एक नम्बर वैकल्पिक उनलाई सोर्सफोर्स गर्दा हुन्थ्यो कि लागेको थियो। धेरै दिनसम्म तनावमा थिए। पछि आफूलाई विश्वास गरेर तयारी गर्नुपर्छ भन्ने लाग्यो र उनी तयारीमा जुटे। असफलतालाई सफलताको पहिलो कडीको रूपमा व्याख्या गरे।
भनिन्छ जबसम्म समुन्द्रको किनार छाड्ने हिम्मत गरिन्न तबसम्म समुन्द्र पार नै गर्न सकिन्न। अमृतले शाखा अधिकृतमा सफलता प्राप्तिका लागि पटक-पटक आयोगको किनारा त छोडे तर ढोकामै पुगेर असफल हुन्थे। अर्थात् नाम निकालेर उनी थुप्रै पटक वैकल्पिकमा परे। तर, हिम्मत भने कहिले हारेनन्।
'मैले १३औं पटक सफलता प्राप्त गर्नका लागि यत्तिमात्रै परीक्षा दिएको होइन। लेख्दै सिक्दै गर्दा धेरै पटक नामै ननिस्केको उदाहरण पनि छन्। म एक दिन सफल हुन्छु भनेर आइसकेपछि आफैँले आफैँलाई विश्वास गर्नुपर्छ। कुनै पनि परीक्षालाई सानो ठान्नु हुँदैन। तनावरहित भएर समय व्यवस्थापन गर्दै जाने हो। सफलतामा पुग्नका लागि आफ्नो लक्ष्य भुल्नु हुँदैन। मलाई नै हेर्नुस् न, मैले लक्ष्य भुलेको वा निराश भएको भए अहिले यो अवस्थामा पुग्ने नै थिइनँ। कसैलाई कुनै बेला मनमा विभिन्न भावना आए मलाई सम्पर्क गरेर प्रेरणा लिन पनि सक्नुहुन्छ,' उनी भन्छन्।
उनको घरमा पनि लोकसेवाको बारेमा खासै जानकारी थिएन। २०७४ सालमा अनुसन्धानमा नाम निकाल्दा उनले पहिलो पटक बुवालाई आफ्नो सफलता सुनाएका थिए। उनका बुवाले सोर्सफोर्स लगाउनुपर्छ कि भनेर सोधेका थिए। तर, अमृतले भनेका थिए, 'पर्दैन बुवा। म आफ्नै हिसाबमा काम गर्छु। आफ्नै संघर्षबाट माथि उठ्छु।'
उनको परिवारमा पनि लोकसेवाबारे धेरै जानकारी थिएन। उनी २९ गते लोकसेवामा नियुक्त भए। सो समयमा पनि उनका बुवाले फेसबुकमा छोरालाई बधाई दिइरहेका तस्बिर देखेका थिए। तर, केको बधाई हो भेउ पाएका थिएनन्। 'बधाई देख्दा बुवाले मलाई फोन गरेर केको बधाई पाइरहेको छौ भनेर सोध्नुभएको थियो। मैले अधिकृतमा नाम निकालेँ बुवा भन्दा उहाँहरूले खुसी व्यक्त गर्नुभएको थियो। अहिले म नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अधिकृत छैटौंमा छु। त्यसपछि मैले सहायकस्तरको कुनै पनि अन्तर्वार्ता दिइनँ,' उनले भने।
शिक्षा शास्त्र अध्ययन गरेका अमृतले अन्तिममा खुलामा एक नम्बरमा नाम निकालेका थिए। उनलाई त्यो आफ्नो जीवनकै ठूलो खुसीको क्षण जस्तो लाग्छ। अमृत यो निरन्तरको प्रयासले दिएको सफलता हो ठान्छन्। 'मैले आफ्नो बाटो भुलेको भए सायद यो लक्ष्यमा पुग्दिन थिएँ होला। यो सफलता प्राप्त गर्का लागि मैले ६ वर्ष कुर्नुपर्यो। ६ वर्ष निरन्तर दु:ख गर्नुपर्यो। म बिहान ४ बजेर उठ्थेँ। दिउँसो काम गर्न पर्थ्यो। यसरी मैले समय र कामलाई पनि व्यवस्थापन गरेको थिएँ,' उनले भने।
सरकारी सेवाको तयारी गर्नका लागि समयको व्यवस्थापन पनि महत्त्वपूर्ण पाटो भएको उनी बताउँछन्। जसले समय व्यवस्थापन गर्दै आफूलाई अपग्रेड गर्दै तयारी गर्छ उसले अवश्य पनि सफलता हासिल गर्ने अमृतको भनाइ छ। प्रत्येक असफलतालाई अर्को पटकको तयारीको बलियो आधार स्तम्भका रूपमा लिनुपर्ने उनी बताउँछन्। जसले निराश नभएर तयारी गर्छ उसले एक दिन अवश्य पनि सफलता पाउने अमृतले सुनाए। यसका साथै पटक-पटक असफल भएर कुनै उम्मेदवार निरास भएको भए आफूलाई सम्पर्क गर्न उनको सुझाव छ।