बिहीबार, फागुन २८, २०८२

९ कक्षाका विद्यार्थीलाई ३५ प्रतिशत उत्तीर्णांक अनिवार्य

केन्द्रले विद्यार्थीको उपलब्धि मूल्यांकनका लागि ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा यस्तो प्रावधान राखिएको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं– पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गर्दै कक्षा ९ मा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा उक्लिन नपाउने प्रावधान सार्वजनिक गरेको छ। केन्द्रले विद्यार्थीको उपलब्धि मूल्यांकनका लागि ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा यस्तो प्रावधान राखिएको हो।

National life

माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरेर ल्याइएको निर्देशिका कक्षा ९ का विद्यार्थीमा लागू हुनेछ। नयाँ पाठ्यक्रम लागू भएका कक्षामा क्रमशः निर्देशिका लागू गर्दै जाने योजनाअनुसार यस वर्ष कक्षा ९ बाट कार्यान्वयनमा लैजान लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए।

कक्षा ९ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ। उनका अनुसार आगामी चैतमा सञ्चालन हुने कक्षा ९ को वार्षिक परीक्षामा २०७८ मा स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका नै लागू हुनेछ। नयाँ पद्धतिअनुसार ३५ प्रतिशतभन्दा कम नतिजा प्राप्त गर्ने विद्यार्थीको मूल्यांकन ननग्रेडेड अर्थात् अनुत्तीर्ण हुनेछ। 

वार्षिक परीक्षामा अनुत्तीर्ण भए पनि त्यस्ता विद्यार्थीलाई अधिकतम तीन पटकसम्म मौका परीक्षामा सहभागी हुने अवसर दिइने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले बताए।

वार्षिक परीक्षामा बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाका लागि स्कुलले तत्काल मौका परीक्षा सञ्चालन गर्नुपर्नेछ। पहिलो पटकको मौका परीक्षाबाट पनि नतिजा सुधार गर्न नसके त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परीक्षामा आंशिक परीक्षार्थीका रूपमा सहभागी हुनुपर्नेछ। दोस्रो पटकको यो परीक्षामा उनीहरूले दुई विषयको मात्रै परीक्षा दिए पुग्छ।

Laxmi sunrise bank
kumari

यो परीक्षामा पनि अनुत्तीर्ण भएमा विद्यार्थीले तेस्रो पटकको मौका परीक्षामा सहभागी हुन पाउनेछन्। उक्त परीक्षामा उत्तीर्ण हुन सकेनन् भने त्यस्ता विद्यार्थीले कक्षा ९ बाट फेरि नियमिततर्फका विद्यार्थीसरह पढ्नुपर्नेछ। एसईईमा सहभागी हुन विद्यार्थीले कक्षा ९ को ग्रेडसिट अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ।

प्रकाशित: Feb 27, 2023| 12:06 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्