काठमाडौं–गौशालामा रहेका दुई मिष्ठान भन्डार शिलबन्दी गरिएको छ । उक्त मिष्ठान भन्डार अध्यधिक फोहोरको साथै साङ्लाहरु भेटिएपछि गौशालास्थित ब्यञ्जन र अन्नपुर्ण मिष्ठान्न भण्डारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ताकर्मीको संयुक्त टोलीले शिलबन्दी गरेको हो ।
विभाग र उपभोक्ताकर्मीको संयुक्त टोलीले गरेको अनुगमन गर्ने क्रममा भण्डारमा अत्यधिक फोहोर तथा साङ्लाहरु फेला परेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।
‘अत्यधिक फोहोर तथा साङ्लो भेटिएको कारण शिलबन्दी गरेका हौं,’ उनले भने ‘तीन भन्डारणमा अनुगमन गरिएको मध्ये दुईलाई शिलबन्दी गरिएको हो ।’
त्यस्तै दुवै मिष्ठान्न भण्डारमा रहेको फोहोर तेल, घ्यू, मिठाई लगायत खद्य वस्तुलार्इ नष्ट गरिएको उनको भनाइ छ ।
गुणस्तर कायम नगर्ने र गुणस्तरहीन खाद्यसामग्री बेच्ने उक्त भन्डार सञ्चालकलाई कानूनअनुसार कारबाही गरिने उनको भनाइ छ ।
कृषि मन्त्रीले खाद्य स्वच्छता अभियान सुरुवात गरेपछिको यो दोस्रो अनुगमन हो । मिठाइको भण्डारण फोहोर र जताततै साङ्ला भेटिएपछि शिलबन्दी गर्न बाध्य भएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए ।
यसअघि अनुगमन टोलीले नयाँ बानेश्वरमा रहेको संगम स्वीट्समा शिलबन्दी गरेको थियो । संगममा मिठाईमा प्रतिबन्ध गरिएको केमिकल ‘हाइड्रो ए वान’भेटिएको थियो भने किचन समेत फोहोर थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४